
२० फागुन, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन कार्यान्वयनका लागि संसद आफैंले सक्रियता देखाउनुपर्ने बताएका छन् ।
राष्ट्रियसभा गठनको तीन वर्ष पुगेको सन्दर्भमा बिहीबार ‘राष्ट्रियसभाको प्रभावकारिकता तथा कूटनीतिक शिष्टाचार’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संसदले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी ढंगले गर्नुपर्ने बताए ।
सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडि बढाउने विषयमा राष्ट्रियसभाले समेत ध्यान दिन आवश्यक रहेको बताए ।
राष्ट्रियसभा विना अवरोध सञ्चालन भएपनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयनबारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने तिमिल्सिनाको भनाइ छ ।
राष्ट्रियसभाको सातौं अधिवेशनसम्म आइपुग्दा २२२ वटा बैठक बसेको र यस अवधिमा ४१ वटा विधेयक दर्ता भएकोमा १६ वटा प्रमाणीकरण भइसकेको उनले बताए ।
यस्तै २४ मध्ये ८ वटा विधेयक सभामा विचाराधीन रहेको, १० वटा समितिमा विचाराधीन रहेको र ६ वटा विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट फिर्ता आउन बाँकी रहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
प्रतिक्रिया 4