२० फागुन, काठमाडौं । श्री भगवती क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । अर्को खेलमा आरसिटी र श्री कुमारीले बराबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३-२ ले पराजित गरेको हो ।
खेलको ११औं मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल गर्दा श्री भगवतीले अग्रता लिएको थियो । ३२औं मिनेटमा झम्सिखेलका मदन स्याङतानले बराबरी गोल फर्काए ।
५७औं मिनेटमा नवराज गुरुङले गोल गर्दे श्री भगवतीलाई २- १ को अग्रता दिलाए । ७४औं मिनेटमा झम्सिखेलका अनिस चौधरीले बराबरी गोल गरे खेल २-२ को अवस्थामा पुग्यो ।
त्यसपछि ८४औं मिनेटमा मोहनबहादुर थापा मगरले गोल गर्दै श्री भगवतीलाई ३-२ को जित दिलाए ।
जितपछि ९ खेलबाट ९ अंक जोड्दै श्री भगवती आठौं स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंक रहेको झम्सिखेल ११औं स्थानमा छ ।
एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा आरसीटी र श्री कुमारीले १-१ को बराबरी खेले ।
अजित गुरुङले खेलको तेस्रो मिनेटमै गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । तर २२औं मिनेटमा श्री कुमारीका युवराज राईले बराबरी गोल गरे ।
आरसीटी ९ खेलबाट १३ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ९ अंक रहेको श्री कुमारी नवौं स्थानमा छ ।
प्रतिक्रिया 4