Comments Add Comment

सहमतिका लागि प्रचण्ड र म बाधक बन्दैनौं : माधव नेपाल

फाइल तस्वीर

२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले राजनीतिक समस्या समाधान गर्न आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने बताए ।

प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले भने, ‘कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौं, खुल्ला रुपमा छलफल गर्न तयार छौं । हामी सबै विकल्पमा खुला छौं ।’

पार्टीहरु मिल्नुको विकल्प नभएको भन्दै उनले सहमति गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति नेकपा विवादमा निर्वाचन आयोगले निर्णय दिनुपर्ने बताए ।

प्रधानमन्त्री को बन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण भएको भन्दै उनले प्रतिगमनविरुद्ध अघि बढेका शक्तिहरुबीच सहमति गरी सरकार गठन गर्नुपर्नेमा जोड दिए । ‘जो असंवैधानिक कदमविरुद्ध उत्रिएका शक्तिहरुले किन सहमति नगर्ने ?’ उनले भने ।

कांग्रेस नेता प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतिका साथ ओली समूह बाहेकका शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए । उनले भने, ‘हिजो संसद पुर्नवहाली हुनुपर्छ भन्ने शक्तिहरु सबै मिलेर केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ । त्यसपछि समस्याको समाधान अर्लि इलेक्सन नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment