Comments Add Comment

काठमाडौं उपत्यकाका चर्चित परम्परागत खानाहरू

नेपाल खानपानको हिसाबले परापूर्वकालदेखि नै समृद्ध थलो हो । बाह्य आक्रमणको समयमा खाना सञ्चयको लागि चिउराको प्रयोग यही ठाउँबाट भयो । भोक मेटाउन आविस्कार गरिएको खाद्य पदार्थ पछि संस्कृतिको रुपमा विकास भयो । परम्परागत हिसाबले नै समृद्ध खाना परम्परा रहेको यो क्षेत्रमा अहिलेसम्म पनि केही परम्परागत खानाहरू नियमित भोक मेटाउनको लागि प्रयोग गर्ने गरिन्छ ।

अहिले पनि काठमाडौं र यसको आसपासका क्षेत्रहरूमा यस्ता परम्परागत खानाहरुको नियमित प्रयोग हुने गरेको पाइन्छ । यसमध्येका केही परिकारहरु काठमाडौं उपत्यकामा मात्रै सीमित छन् भने कतिपय परिकारहरुले देशको भौगोलिक सीमा नाघिसकेका छन् । त्यसमध्येका केही परिकारहरुको चर्चा तल गरिएको छ ।

मःमः

मःमः अहिले नेपालको अधिकांश भेगमा चर्चित खाद्य परिकार हो । यसको सुरूवात राणा शासनकालतिर काठमाडौंमा भएको परम्परागत खाना सम्बन्धी जानकारहरू बताउँछन् । यद्यपि यो विषय विवादित छ । शैलीगत हिसाबले फरक भए पनि तिब्बतमा पनि समकालीन समयमा मःमःको विकास भएकोले तिब्बतले पनि यसमा दाबी गर्ने गरेको छ । नेपाली ममले काठमाडौं उपत्यकामा व्यावसायिकता सुरू गरेको भने झण्डै चार दशकमात्रै भएको छ । तर यो अहिले भारत, चीन, अमेरिका, बेलायत आदि देशमा समेत विस्तार भइसकेको छ ।

तिब्बतले मःमःलाई अघोषित रूपमा राष्ट्रिय खानाको जस्तै दर्जा दिएको चिनियाँ सञ्चारमाध्यमहरू लेख्छन् । दैनिक हुने खपतलाई हेर्दा नेपालले पनि मःमःलाई कम महत्व दिएको देखिँदैन । तिब्बतमा पनि नेपालमा जस्तै मःमः बनाउँदा बफ्याएर वा तेलमा फ्राइ गरेर पनि बनाउने गरिन्छ । अफगानिस्तानसम्म पनि मःमःको विस्तार भइसकेको छ । उज्बेकिस्तान जस्ता देशहरूले पनि मःमः बेच्ने गरेका छन् । यसरी यसले विश्व बजारमा आफ्नो उपस्थिति हासिल गरिसकेको छ ।

योमरी

योमरी आफैँमा खाना मात्रै नभएर एउटा संस्कृतिको रूपमा विकास भएको छ । हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाको दिन योमरी पूर्णिमा मनाउने गरिन्छ । यसदिन योमरी बनाउँदा लक्ष्मी, सरस्वती, कुवेर र ख्याकको मूर्ति बनाएर पुज्ने चलन छ । त्यसैले यो खानासँगै संस्कृति समेत हो । यो त्रिकोणात्मक आकारमा तयार पारिने एक किसिमको परिकार हो । यसको लागि चामलको पिठो, सुजीको पिठो, मह, नरिवल, तिलको गेडा, घिउ र दूधको आवश्यकता पर्छ ।

क्वाँटी

क्वाटी एक परम्परागत नेपाली परिकार हो । यो काठमाडौं उपत्यकामा मात्रै नभएर उपत्यका बाहिर पनि विस्तार भइसकेको छ । जुन जनै पूर्णिमाको दिन विशेष मानेर खाने गरिन्छ । यो एक बहुपौष्टिक तत्व युक्त खानेकुरा हो । विभिन्न किसिमका दलहनहरूको मिश्रणबाट यो खाना तयार पार्ने गरिन्छ ।

नेपाली परम्परागत खानाको परिकारमा यो बर्खामा काम गर्न जाँदा बढी तागतको आवश्यकता पर्ने भएकोले त्यसैसँग जोडेर बर्खामा खाने परिकारको रूपमा पहिलेदेखि नै खाने गरिएको पाइन्छ । यो पनि नेपालको मध्यभागमा बढी महत्वका साथ खाइने खाद्य परिकार हो ।

छोइला

छोइला पनि नेवारी संस्कृतिमा विशेषतायुक्त खानेकुरा हो । यो एक मासुको परिकार हो । यसमा भैंसी, कुखुरा वा खसीबोकाको मासुको पनि प्रयोग गरिएको पाइन्छ । यसको स्पाइसिनेस हरियो र रातो चिलीको साथ पाउने गरिन्छ । यसमा बेसार, मेथीको दाना जस्ता मसलाहरू समेत मिसाउने गरिन्छ ।

कचिला

कचिला पनि काठमाडौंको विशेष खाद्य परिकार हो । अहिले पनि विशेष गरेर नेवारी भोजहरूमा यसको अनिवार्य प्रयोग गर्ने गरिन्छ । यो परिकार काठमाडौं उपत्यकाका धेरै रेस्टुरेन्टमा सजिलै पाउन सकिन्छ । कचिला जुनसुकै जनावरको मासुबाट बनाउन सकिने भएपनि मुख्य रूपमा राँगाको मासुको कचिला बढी चर्चित रहेको छ ।

चटामरी

चटामरी अण्डा, चीज, मासु वा तरकारीयुक्त एक नेपाली परिकार हो । यो परिकार चामलबाट बनाइने एक किसिमको रोटी हो । काठमाडौंका नेवारी सम्प्रदायले यसलाई कुनै विशेष चाडपर्वमा खाने गर्छन् । नेवारी भाषामा चटामरीको शाब्दिक अर्थ हुन्छ –‘चामलबाट बनाएको रोटी । चामलको पातलो रोटीमा मासु, लसुन प्याज, अण्डा र अन्य मसला राखेर बनाइन्छ ।

गोरमरी वा गोलमरी

गोरमरी वा गोलमरी पनि काठमाडौं उपत्यकाको एक विशेष परिकार हो । पिठोलाई डल्लो पारेर तातो तेलमा पकाएर तयार पारिने यो परिकार काठमाडौंको मूल नेवारी बस्तीको विशेष खाद्य परिकार हो । जुनसुकै उत्सवमा पनि यो परिकार बनाउने गरिन्छ भने हिजोआज यसको व्यावसायिक विकास समेत भएको छ । यसलाई पनि काठमाडौं उपत्यकाको परम्परागत खानेकुराको रूपमा मान्न सकिन्छ ।

पुकला

राँगाको मासुलाई फ्राइ गरेर खान योग्य बनाइएको खाद्य परिकार पुकाला हो । फेरि यही मासुलाई उसिनेर खानयोग्य बनाइयो भने त्यसलाई मनाला भनिन्छ । पुकालाको पनि अनेक थरी हुन्छन् । पुकालाको २० थरी हुने नेवारी खानामा पनि राँगोको मासुबाट बन्ने परिकारको अनुसन्धानकर्ता उमा श्रेष्ठद्वारा तयार पारिएको पुस्तकमा उल्लेख छ ।

यतिमात्रै नभएर नेवारी समुदायमा अन्य विभिन्न परिकारको समेत प्रयोग हुने गरेको पाइन्छ । जस्तै भक्तपुरको जुजु धौ, मासको बारा, सेकुवा, थुक्पा जस्ता परिकारहरू पनि काठमाडौं उपत्यकाको परम्परागत खानेकुराहरू हुन् । यी सबै परिकारको छुट्टाछुट्टै विशेषता र महत्त्व रहेका छन् । एउटै परिकारको पनि फरकफरक स्वरूप र स्वादमा तयार पार्नु नै नेवारी परम्परागत खानाको विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment