२३ फागुन, मुलपानी । पछिल्ला क्रममा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौं मेयर्स ११ ले मेयर्स कप क्रिकेटमा बागमती प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ ।
२७ महिनापछि घरेलु क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरेको खेलमा सिद्धान्त लोहनी, सौरभ खनाल र विपिन आचार्यले उत्कृष्ट ब्याटिङ गरे ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर्स ११ ले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४४ रन बनाएको हो ।
काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमती प्रदेशविरुद्ध आक्रमक ब्याटिङ गर्दै ४२ रन बनाए । उनले २० बल खेल्दै ६ छक्का मद्दतमा ४२ रन बनाए । सन्दीपले अरियो पौडेललाई ३ छक्का प्रहार गर्दा विपिन आचार्यलाई २ र पारस खड्कालाई १ छक्का प्रहार गरेका थिए । काठमाडौं मेयर्स ११ ले ११९ रनमा ७ विकेट गुमाएको अवस्थामा सन्दीपले सौरभसँग महत्वपूर्ण साझेदारी गरेका हुन् ।
नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले आठौं विकेटका लागि सौरभ खनालसँग ५७ रनको साझेदारी गरे । सौरभले अविजित रहँदै काठमाडौं मेयर ११ का लागि सर्वाधिक ४९ रन बनाए । उनले ५८ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।
सौरभ र विपिन खत्रीले नवौं विकेटका लागि ६० रनको साझेदारी गरे । विपिनले ३० बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए ।
त्यसअघि काठमाडौंले ४३ रनमा सुरुवाती ५ विकेट गुमाएको थियो । छैटौं विकेटका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
काठमाडौं मेयर ११ का ओपनर हरिशंकर शाह ६, अर्जुन कुमार ८, विपिन रावल ११, कृष्ण कार्की ० र विकेक यादव १ रनमा आउट भएका थिए ।
बलिङमा बागमतीका नन्दन यादवले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरी र अरियो पौडेलले २-२ र दिपेश श्रेष्ठले १ विकेट लिए ।
प्रतिक्रिया 4