Comments Add Comment

‘कमेडी च्याम्पियन’मा विक्की र पुष्पराजलाई ‘गोल्डेन की’

हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ मा सिक्किमका विक्की अग्रवाल र धनकुटाका पुष्पराज ओझा ‘गोल्डेन की’ पाउँदै उत्कृष्ट २४ भित्र पर्न सफल भएका छन् । दुवै जना फिजिकल अडिसनबाट सिधै उत्कृष्ट २४ भित्र पर्न सफल भएका हुन् ।

शुक्रबार र शनिबार प्रशारण भएको यो शोको फिजिकल अडिसनमा विक्की र पुष्पराज अन्तिम २४ मा ‘गोल्डेन की’ प्राप्त गर्दै प्रवेश गर्दा अरु प्रतिस्पर्धीको बिषयमा निर्णय सार्वजनिक भएको छ । आउँदो साता प्रशारण हुने अडिसन राउन्डको तेश्रो र चौथो भागपछि अन्तिम २४ को टुंगो लाग्नेछ । यसपटक निर्णायकले ६ जना उत्कृष्ट प्रतिस्पर्धीलाई गोल्डेन कि दिदै अन्तिम २४ मा पुर्याउन सक्ने अधिकार पाएका छन् । यो गत सातादेखि शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुन थालेको हो ।

शुक्रबार र शनिबार प्रशारण भएको शोलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । कतिपय दर्शकले भने अडिसन राउन्डबाट निराश भएको प्रतिक्रिया दिएका छन् । यो कार्यक्रमको संचालकको रुपमा रीमा विश्वकर्मा र मेक्सम गौडेल छन् । मेक्सम पहिलो सिजनका उत्कृष्ट ३ मा पर्न सफल प्रतियोगी हुन् ।

थ्रि प्रोडक्शनले ‘कमेडी च्याम्पियन’को निर्माण गरेको हो । शोको निर्देशक विशाल भण्डारी हुन् । त्यस्तै शोको निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई छन् । ‘कमेडी च्याम्पियन’को कार्यकारी निर्मातामा केकी अधिकारी, रीमा विश्वकर्मा, राज घिमिरे र हिरन बस्नेत छन् ।

‘कमेडी च्याम्पियन’ विजेताले कार र २५ लाख नगद प्राप्त गर्नेछन् । पहिलो सिजनमा हिमेश पन्त बिजेता बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment