Comments Add Comment

सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि

‘दिनमा दश खिल्ली चुरोट पिउनुभन्दा घातक छ निस्क्रिया बस्नु ।’

अहिले हामीलाई सुविधा चाहिएको छ । ऐश–आरम चाहिएको छ । सुख–चैन चाहिएको छ । हामी चाहन्छौं, सुती सुती खान पुगोस् । मुलायम विच्छ्यौनामा खुट्टा तन्काएर, मोवाइल चलाउँदै, मीठो–मसिनो खाँदै बस्न पाइयोस् ।

तर, शरीरको रचना यसरी भएको छैन । यो शरीर त समूचित श्रमका लागि निर्माण भएको हो ।

शारीरिक गतिविधि, श्रम वा व्यायाम एक अनिवार्य हिस्सा हुन् । त्यसैले शरीरलाई माया गर्नुहुन्छ भने, यसलाई आरम नदिनुहोस् । बरु, कुनै न कुनै रुपले सक्रिय राख्नुहोस् । गतिशिल राख्नुहोस् । तब शरीरका सारा अवयवहरु चलायमान हुनेछन् ।

हामीमध्ये कतिपय शारीरिक श्रम गर्छौं । तर, शारीरिक श्रम पनि समूचित हुनु जरुरी छ । अति–श्रमले पनि हानी गर्छ । त्यो भन्दा बढी हानी चाहि निस्क्रिय जीवनशैलीले गर्छ ।

वर्तमानको सबैभन्दा ठूलो जटिलता नै यही निस्क्रिय जीवनशैली हो । हामी केही न केही काम त गरिरहेका छौं, तर त्यसबाट शारीरिक गतिविधि पूर्ण रुपमा नभएको हुनसक्छ । यस्तो अवस्थामा कसरी शरीरलाई गतिशिल, चुस्त र फुर्तिलो राख्ने त ?

सही विधी हो, सुक्ष्म व्यायाम ।

के हो सुक्ष्म व्यायाम ?

तपाईं कार्यलयमा बसिरहनुभएको छ, घरमा टिभी हेरिरहनुभएको छ, साथीभाईसँग गफ गरिरहनुभएको छ । जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, सुक्ष्म व्यायाम गर्न सक्नुहुन्छ ।

यो सामान्य, सरल, सहज व्यायाम हो । यसका लागि पसिना चुहिनेगरी उफ्रिनुपर्दैन । दौडनुपर्दैन । जीम धाउनु पर्दैन । बस्, यथास्थितीमा रहेर शरीरका केही आसन गरे पुग्छ । यस्तो आसन सजिलो र छरितो पनि छ । तपाईं जुनसुकै स्थानमा, जुनसुकै अवस्थामा सुक्ष्म व्यायाम गर्न सक्नुहुन्छ ।

हामी एकै स्थानमा लामो समय बसेर काम गरिरहेका हुन्छौं, गफ गरिरहेका हुन्छौं, गाडी चलाइरहेका हुन्छौं । यस्तो अवस्थामा पनि सुक्ष्म व्यायाम गर्न सकिन्छ ।

कसरी गर्ने ?

हाम्रो हत्केलासँग सम्पूर्ण अंगहरुको जोडिएको हुन्छ । हत्केलामा ति अंगहरुको विशेष प्रेसर प्वाइन्ट हुन्छ । हातका औलाहरु खुम्चाउने, फैलाउने गर्दा ति प्रेसर प्वाइन्टमा दवाव पर्छ र भित्री अंगहरुमा फाइदा पुग्छ ।

जस्तो मुुटुका डाक्टरहरुले मुटु रोगीलाई हत्केलमा बल दिन्छन् र त्यसलाई चलाइरहन सुझाव दिन्छन् । यसरी चलाउँदा मुटुको प्रेसर प्वाइन्टमा दबाव पर्छ र फाइदा गर्छ । मुटु मात्र होइन, यो विधीले अरु अंगहरुमा पनि फाइदा गर्छ । त्यसैले दिनमा जतिसुकै व्यस्त भएपनि हात तन्काएर औला खुम्चाउने, फैलाउने गर्नुपर्छ । कम्तीमा बिस पटक गर्नुपर्छ ।

यसैगरी हातलाई मुठी बनाएर घुमाउन सकिन्छ । एकातिर पाँच पटक र अर्कोतिर पाँच पटक । तल माथि गर्ने । यसैगरी हातलाई मुठी बनाएर कुमतर्फ लाने, फेरी तल लगेर फैलाउने । कुम घुमाउने । टाउकोलाई पनि घुमाउने । यी विधीहरु गरिरहँदा ख्याल राख्नुपर्ने कुरा के भने, सुल्टोबाट जति पटक यस्तो क्रिया गरिएको छ, उल्टोबाट पनि त्यती नै पटक गर्नुपर्छ । जस्तो नाडीलाई हामीले दाहिनेतर्फ पाँच पटक घुमायौं भने फेरी देब्रेतर्फ पनि पाँच पटक नै घुमाउनुपर्छ ।

उठेर कम्मरलाई दुबैतिर घुमाउने । घुँडा जोड्ने र घुमाउने ।

घरमा बसेर टिभी हेरिरनुभएको छ वा कार्यलयमा बसेर काम गरिरहनुभएको छ, एक÷दुई मिनेट समय निकालेर शरीरलाई तन्काउनुहोस् । हातलाई उठाउनुहोस् । पछिल्तिर झुक्नुहोस् । टाउकोलाई दायाँवायाँ घुमाउनुहोस् । खुट्टा चलाउनुहोस् ।

सुक्ष्म व्यायामको केही सरल विधी छन् । जस्तो दुवै हात जोडेर तन्काउनुहोस् । हातलाई पछाडि लगेर मेरुदण्डको हड्डीलाई तन्काउनुहोस् ।

कसले गर्न सक्छन् ?

सुक्ष्म व्यायामको लागि कुनै छेकबार छैन । जो कोहीले गर्न सक्छन् । बुढाबुढीदेखि बालबच्चासम्मले, रोगीदेखि तन्दुरुस्तसम्मले । यसको कुनै हानी छैन । किनभने सुक्ष्म व्यायाम एकदमै सरल विधी हो । यसका लागि कुनै निश्चित समय कुर्नुपर्दैन । जुनसुकै समयमा गर्न सकिन्छ । जब तपाईंलाई याद हुन्छ, केही न केही व्यायाम गर्न सक्नुहुन्छ । लामो समयसम्म एकै स्थानमा बसिरहनुपर्ने व्यक्तिहरुले एक, डेढ घण्टाको अन्तरमा सुक्ष्म व्यायाम गर्न सक्छन् ।

सुक्ष्म व्यायामले शरीरका ति अंग प्रत्यंगहरुको व्यायाम हुन्छ, जुन अन्य व्यायामले हुँदैन । शरीरका स–सना अंगहरुमा यसको सकारात्मक प्रभाव पर्छ । गर्दन, कान, आँखा, टाउको, पाखुरा, मेरुदण्ड, मांसपेशी, जोर्नी सबैमा यसले फाइदा गर्छ ।

योगले के भन्छ भने, दिनमा एक पटक तपाईं हामीले एक पटक हातलाई शिर माथि पु¥याउनै पर्छ ।

बस्ने र सास लिने सही शैली

तपाईं यतिबेला कसरी बसिरहनुभएको छ ? खुम्चिनुभएको छ वा अगाडि झुक्नुभएको छ । यो दुबै विधी सही होइन । बस्दा तपाईंको शरीर सिधा पोजिसनमा हुनुपर्छ । मेरुदण्डलाई एकदमै सोझो राख्नुपर्छ । मेरुदण्ड जति सोझो राख्न सकियो, उत्तिनै स्वस्थ्य भइन्छ । सच्चा योगीहरुको विशेषता के भने उनीहरुको मेरुदण्ड एकदम सिधा हुन्छ । खुम्चिएको हुँदैन ।

यसैगरी बसिरहँदा आफ्नो श्वासप्रश्वासमा पनि ध्यान दिनुपर्छ । गहिरो सास लिने, फेर्ने विधी अपनाउनुहोस् ।

यी सामान्य, सरल विधी अपनाउनुभयो भने तपाईंको शरीर स्वस्थ्य, स्फूर्त र तन्दुरुस्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment