
२६ फागुन, सुर्खेत । सुर्खेतको बुलबुले उद्यान परिसरमा कर्णाली उत्सवको दोस्रो संस्करण बुधबारबाट सुरु भएको छ । कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले कर्णाली उत्सव आयोजना गरिएको ऋति फाउण्डेसनले जनाएको छ ।
उत्सवको दोस्रो संस्करणमा विभिन्न शीर्षकमा १४ वटा बहस हुने जनाइएको छ । कर्णालीको मौलिक कला र संस्कृति, ऐतिहासिक विरासत, पर्यटन, जलस्रोत, जडिबुटीका हिसाबले निकै महत्वपूर्ण क्षेत्रको रुपमा मानिने कर्णाली वर्षोदेखि अभाव र दुःखको अर्को नाम बनिरहेकोमा आयोजकले चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा कर्णालीसँग सम्बन्धित छाउ र भाउ, बाडो, थाडो र ओटालो, आफ्नै कथा, आफ्नै बान्की, कहरी सुकालो होला, कइले जाला कठै ?, हाट जान्या, भोट जान्यालगायतका शीर्षकमा छलफल हुनेछन् ।
शुक्रबार कर्णाली घुमाउटो पड्यो, पढ्नु पड्डोछ, साक्षर शिक्षित र प्राज्ञिक, प्राङ्गारिक प्रयास, पुईसाका कुडा, थैलीदेखि बैँकसम्म, पूर्वाधार विकासः समृद्ध कर्णालीको पूर्वाधारका विषयमा बहस हुनेछ ।
शनिबार पश्चिममा प्रशासक, पश्चिमका प्रशासक, सरकारी गैरसरकारी, लोकतन्त्रको लय र मुख्य मान्ठ, मूल कुडा सेसनमा बहस हुुने तालिका छ । मुख्य मान्ठ, मूल कुडामा कर्णालीका प्रदेशका मुख्यमन्त्री र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बहस गर्नेछन् ।
गत वर्ष फागुन १९, २० र २१ गते यही स्थानमा कर्णाली उत्सवको पहिलो संस्करण भएको थियो । गत वर्षकै लयमा अझै परिस्कृत गर्दै उत्सवको दोस्रो संस्करण सुरु भएको उत्सवको आयोजक संस्था ऋति फाउण्डेशनका संयोजक कमल लम्सालले जानकारी दिए ।
यस संस्करणमा गत वर्ष जस्तै बिहीबारदेखि प्रत्येक दिनका दैनिक शीर्षकहरु ‘हाम्मो मानंबी, सुर्के थैली र कैथा कैथ्यो नेतृत्व अन्तर्गत’ विभिन्न सत्रहरु सञ्चालन हुनेछन् ।
प्रतिक्रिया 4