Comments Add Comment

लामाबगरमा बन्ने सुरुङमार्गको लागि बजेट माग, अर्को वर्ष थप तीन वटाको ठेक्का गर्ने तयारी

२७ फागुन, काठमाडौं । सडक विभागले उत्तर-दक्षिण कोरिडर अन्तरगत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार गरेको छ । सो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थमन्त्रालयसँग बजेटको सहमति पनि माग गरेको छ ।

विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यो सुरुङमार्ग निर्माण भएमा दोलखा हुँदै चीनसँग जोडिएको नाकासम्म सडक पुग्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ‘हेडवक्र्स’भन्दा माथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यो सुरुङ बनेपछि चीनको नाका जोड्न थप करिब ९ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । तामाकोसी आयोजनालाई असर नपर्ने गरी यो सुरुङमार्ग बनाउन लागिएको हो ।

यसै वर्ष विभागले थप ३ वटा सुरुङमार्ग अध्ययनको काम अघि बढाएको छ । सडक विभागले यस वर्ष धरान-लेउतीरोड, गोदाबरी (ललितपुर)-मानेभञ्ज्याङ (काभ्रे) र दिपायल (डोटी)-खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिरहेको जैसीले बताए । यी सुरुङमार्गको अध्ययन सकिएर कहिलेबाट, कसरी निर्माण गर्ने भन्ने केही तय छैन ।

अहिले काठमाडौं-निजगढ द्रुतमार्गमा बन्ने तीनसहित देशभर १७ वटा सुरुङमार्ग अध्ययन र अध्ययनपछिका चरणमा छन् ।

सुरुङ युग नआउँदै नेपालमा २५० किलोमिटरभन्दा बढी सुरुङ !

अध्ययन गर्दै मित्र राष्ट्र

गणेशमानसिंह मार्गमा पर्ने थानकोट-चित्लाङ सुरुङमार्गको पनि अध्ययन भइरहेको छ । मकवानपुरको थाहा नगरलाई जोड्ने यो सुरुङमार्ग बनेमा पालुङ भएर हेटौंडा जोड्ने त्रिभुवन राजपथको दूरी छोटिने भनिएको छ । यसैगरी, टोखा-छहरे-गुर्जुभञ्ज्याङ र बेत्रावती-रसुवागढी (घट्टेखोला) सुरुङमार्गको त डीपीआर तयार गरिँदै छ ।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट रसुवाको नेपाल-चीन नाकासम्म -टोखा-छहरे-गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती-रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटर) सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो । त्यसअनुसार, चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । प्रतिवेदन भने दिन बाँकी छ ।

जापानको सहयोगमा कोटेश्वर-जडीबुटी सुरुङमार्गको अध्ययन पनि भइरहेको छ । केन्द्रीय राजधानी काठमाडौं सहरको ट्राफिक समस्या कम गर्न सरकारले नयाँबानेश्वरमा पनि अन्डरपास बनाउने योजना बनाएको छ ।

तीन सुरुङको ठेक्का अर्को वर्ष

सडक विभागले पूर्व-पश्चिम राजमार्गको नवलपरासीको दाउन्ने उकालोमा पनि ५-६ किलोमिटर लामो सुरुङमार्ग बनाउन अध्ययन गरेको छ । अप्ठ्यारो भूगोलका कारण बुटवल-नारायणगढ सडकखण्ड ४ लेनको बनाउँदा यो खण्डमा तीन लेनमा मात्रै विस्तार गर्न लागिएको छ । यो अप्ठ्यारो उकालोमा सुरुङ बनाउने योजना बनाइएको हो ।
सडक बिभागले पोखरा-बागलुङ सडकको हेम्जा-नयाँपुल खण्डमा पनि ७ देखि साढे ८ किलोमिटर लामो सुरुङमार्गको सम्भाब्यता अध्ययन गरिसकेको छ । यता बीपी राजमार्गको खुर्कोट-चियाबारी खण्डमा पनि सुरुङमार्गको सम्भाब्यता अध्ययन भएको छ । यो सुरुमार्गको अनुमानित लम्बाइ ५ देखि साढे ६ किलोमिटर छ ।

यी तीनवटै सुरुङमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा ठेक्का गर्ने विभागको योजना रहेको निर्देशक जैसीले बताए ।

तयारी नै तयारी

अहिले सरकारले जताततै सुरुङमार्गको अध्ययन गरिरहे पनि अध्ययन सकिएकामध्ये एउटा मात्र परियोजनाको काम भइरहेको छ । काठमाडौं भित्रिने नाका नागढुंगामा बनिरहेको २.६८ किलोमिटर लामो सुरुङमार्गको लागि जापान सरकारले १६ अर्ब सहुलियतपूर्ण ऋण दिएको छ ।

नेपाली सेनाले निर्माण जिम्मा लिएको काठमाडौं-निजगढ द्रुतमार्गको महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाइँदैछ । यसका लागि टेन्डर भएर कम्पनी छनोट भइसकेको छ ।

त्यस्तै, सिद्धार्थ राजमार्ग (बुटवल-पोखरा)को सिद्धबाबामा सुरुङमार्ग टेन्डरको तयारी भएको छ । यहाँ ११ सय मिटर लामो सुरुङ निर्माण हुने भनिएको छ ।

मकवानपुरमा कुलेखानी-भीमफेँदी सडक खण्डमा देउरालीडाँडा छल्न बागमती प्रदेश सरकारले ३ किलोमिटर लामो सुरुङमार्ग बनाउन टेन्डर गर्ने तयारी हुँदैछ । यो परियोजनाका लागि रु.२५ अर्ब लागत अनुमान गरिएको छ ।

सडक मार्गलाई छोट्याउन नेपालमा १०४ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाइएको थियो । अमलेखगञ्ज-हेटौंडा सकडखण्डमा राणा शासनको पालामा बनाइएको ७०० मिटर लामो त्यो सुरुङमार्गको भग्नावशेष मात्र बाँकी छ ।

विज्ञको फरक मत

विज्ञहरु राष्ट्रिय यातायात सञ्जाल प्रणाली तयार नगरी सुरुङमार्ग बनाउन नहुने बताउँछन् । घुम्ती सडकयुक्त पहाड देख्यो कि सुरुङमार्ग बनाइहाल्ने सरकारी सोचमा उनीहरुको फरक मत मात्रै हैन, असहमति छ ।

सुरुङमार्गको अध्ययन गराएर परामर्शदाताहरुलाई पोसिरहेको सरकारले धेरैजसो आयोजनाहरुको आर्थिक स्रोत गर्न सहज छैन । यात्रालाई थोरै किलोमिटर छोट्याउन अर्बौं लगानी हुने सुरुङमार्ग कति आवश्यक हो भनेर कुनै ट्राफिक सर्भे पनि गरेको छैन । लहडका भरमा नेताहरुले भनेका स्थानमा जताततै सुरुङमार्गको अध्ययन थालेर राज्यको ढुकुटीमाथि आर्थिक भार थोपर्न नहुने मत विज्ञको छ ।

सडकभन्दा सुरुङमार्ग १० गुणा महंगो हुन्छ । ३ देखि ५ भागसम्म सडकमार्गको दूरी छोट्टयिो भने त्यो स्थान सुरुङमार्ग निर्माणको लागि सम्भाव्य मानिन्छ ।

प्रतिकिलोमिटर खर्चका हिसाबले ५ भागसम्म दूरी छोट्टनिे अवस्था नभए सुरुङमार्ग बनाउनु खासै उपयोगी नहुने मान्यता छ ।

पूर्वाधारविद सूर्यराज आचार्य सुरुङमार्ग बनाउनुअघि देशभरको यात्रु चाप र भविष्यमा बढ्नसक्ने ट्राफिकसहित औचित्यका आधारमा यस्ता आयोजनामा लगानी गर्नुपर्ने बताउँछन् ।

सडकर्मागका लागिभन्दा रेलमार्गका लागि सुरुङ बनाउँदा कम लागतमा धेरै फाइदा उठाउन सकिने भएकाले सरकारले सडक, रेलमार्ग र एयरपोर्ट विस्तारको काम गर्नुअघि यातायात सञ्जालको एकीकृत योजना बनाउनुपर्ने आचार्यको भनाइ छ ।

‘हालसम्म हामी हचुवाका भरमा छौं,’ उनी भन्छन्, ‘अहिले गरिएका लगानी खेर जान नदिने हो भने एकअर्कासँग नजुध्ने गरी यातायात सञ्जालको योजना बनाउनुपर्छ ।’
सुरुङमार्गमा ठूलो लगानी गरेर भोलि त्यहीँबाट रेल चल्दा त्यो प्रयोग नै नहुने अवस्था आउन दिन नहुने उनी बताउँछन् ।

‘भविष्यमा काठमाडौं-पोखरा जाने सडकमा चार लेनको सुरुङमार्ग बनाउनुपर्ला, तर रेलमार्ग बनाइयो भने दुई लेनकै सुरुङमार्फत सस्तो र क्षमता बढी भएको यातायात पूर्वाधार तयार हुन्छ,’ आचार्य भन्छन् । तुलनात्मक लाभ विश्लेषण गरेर मात्रै सुरुङमार्ग बन्नुपर्ने उनको मत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment