Comments Add Comment

शरण खोज्दै भारत आएका प्रहरीलाई म्यानमारको सेनाले के निर्देशन दिएको थियो ?

२६ फागुन, काठमाडौं । फेब्रुअरी १ मा म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लियो । त्यसविरुद्ध जारी आन्दोलनमा अहिलेसम्म ६० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा धेरै मानिस पक्राउ परेका छन् ।

आन्दोलन चर्किरहेको अवस्थामा केही प्रहरी अधिकारी परिवारसहित शरण खोज्दै भारत आए । उनीहरु अहिले भारतको मिजोरममा शरण लिएर बसेका छन् । म्यानमारको सेनाले भने उनीहरु आफ्नो निर्देशन नमानेर भागेको भन्दै फिर्ता पठाउन भारतसँग पत्र लेखेको छ । यद्यपि भारतले उनीहरुको विषयमा कुनै कदम चालेको छैन ।

भारतमा शरण लिन आइपुग्ने म्यानमारका प्रहरी अधिकारीमध्ये एक हुन् था पेङ । उनले शरण लिन आएको विषयमा मुख खोलेका छन् । उनकाअनुसार २७ फेब्रुअरीमा खाम्पाट सहरमा निस्किएको प्रदर्शनमा सहभागीहरुमाथि गोली चलाउने आदेश दिइएको थियो । तर उनले उक्त आदेश मानेनन् । ‘अर्को दिन एक अधिकारीले मलाई गोली हान्ने आदेश दिएका थिए,’ उनले भने । २७ वर्षीय पेङले अधिकारीको आदेश पुनः अस्वीकार गरे र प्रहरीबाट राजीनामा दिए ।

मार्च १ मा उनले खाम्पटमा रहेको आफ्नो घर छाडे र परिवार लिएर तीन दिनसम्म यात्रा गरे । कसैले नदेखोस् भन्नका लागि उनी रातको समयमा यात्रा गर्थे । मिजोरमको भारतीय सीमा पार नगर्दासम्म उनले लुकीलुकी यात्रा गरेका थिए ।

आफ्नो पहिचान गोप्य राख्न नामको केही अंशमात्र खुलाएको उनले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘मसँग कुनै विकल्प थिएन ।’ रोयटर्सका अनुसार उनको प्रहरी परिचयपत्र र राष्ट्रिय परिचयपत्रबाट उनको नाम पुष्टि भएको हो ।

पेङसहित ६ जना प्रहरीले सेनाको आदेश उल्लंघन गरेका थिए । उनीहरुले मिजोरमको प्रहरीलाई बुझाएको संयुक्त विज्ञप्तिमा म्यानमारको अहिलेको अवस्थामा जनतामाथि आफूहरुले गोली चलाउन नसक्ने भएकाले शरण खोज्दै आएको उल्लेख छ ।

पेङजस्ता करिब सयजना म्यानमारबाट भागेर भारत प्रवेश गरेको भारतीय अधिकारीहरुले बताएका छन्, जसमा अधिकांश प्रहरी र उनीहरुका परिवार छन् । भारतमा शरण लिएकामध्ये केहीलाई मिजोरमको चाम्फाइ जिल्लामा राखिएको छ, जसमध्ये तीनजनासँग रोयटर्सका पत्रकारले अन्तर्वार्ता लिएका थिए । उनीहरुले आफूहरु प्रहरीमा काम गर्ने गरेको उल्लेख गरेका थिए ।

पछिल्लो ९ वर्षयता प्रहरीमा काम गर्दै आएका पेङले परिचयपत्रसँगै प्रहरी पोशाकमा खिचाएको फोटो पनि देखाएका थिए । उनका अनुसार म्यानमारको प्रहरीको नियममा प्रदर्शनकारीहरुलाई तितरबितर पार्न रबरको गोली प्रयोग गर्ने र अझै पनि प्रदर्शन नियन्त्रणमा नआए घुँडाभन्दामुनि गोली प्रहार गर्न पाइन्छ । तर अहिले नमर्दासम्म प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिइएको उनले बताए ।

अर्का प्रहरी कन्स्टेबल एनगुन हेलेईले पनि आफूलाई सेनाले प्रदर्शकारीलाई गोली हान्ने आदेश दिएको बताए । उनी मन्डाले सहरमा काम गर्थे । २३ वर्षीय उनले पनि आफ्नो परिचयपत्र पनि साथमा ल्याएका थिए । उनलाई भारत आउन दुई लाख म्यानमारी क्याट अर्थात् १४३ डलर खर्च लागेको थियो । भारत–म्यानमार सीमाक्षेत्रमा केही माइलसम्म दुवैतर्फका नागरिक कुनै पनि भ्रमण अनुमति बिना आवतजावत गर्न सक्छन् । त्यसैले पनि उनीहरुलाई भारत आउन सहज भएको थियो ।

म्यानमारको फलम सहरकी २४ वर्षीया एक प्रहरी अधिकारीलाई महिला प्रदर्शनकारी पक्रिने जिम्मा दिइएको थियो । यो आदेश उनले अस्वीकार गरिन् । त्यसपछि प्रदर्शनकारीको सहयोग गरेको भन्दै पक्राउ पर्ने डरले उनले म्यानमार छाड्ने निर्णय गरिन् ।

पेङ भन्छन्, ‘प्रहरी चौकीभित्रका ९० प्रतिशतले प्रदर्शनको समर्थन गर्छन् तर उनीहरुलाई नेतृत्व गर्ने मान्छेको खाँचो छ ।’ पेङ आफ्नी पत्नी र दुई साना छोरीहरुसँगै भारत छिरेका थिए ।

मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले आफ्नो प्रशासनले अस्थायी रुपमा म्यानमारबाट आएका मानिसहरुलाई खाना र आवासको व्यवस्था गर्ने बताए । यद्यपि उनीहरुको विषयमा थप निर्णय भने केन्द्रको निर्देशनअनुसार गरिने उनको भनाइ छ ।

पेङले भने आफूले म्यानमारका रहेका आफ्ना परिवारका अन्य सदस्यसँग बिछोड भए पनि आफू पुनः म्यानमार फर्किन नचाहेको बताए ।
(एजेन्सीहरुको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment