२८ फागुन, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बराबरी खेलेका छन् ।
बिहीबार राति भएको खेलमा युनाइटेड र एसी मिलानले १-१ को बराबरी खेलेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पहिले अग्रता लिएपनि युनाइटेडले जोगाउन सकेन र इन्जुरी टाइममा गोल खाँदा जितबाट वञ्चित भयो ।
त्यसअघि खेलको १२ औं मिनेटमा मिलानका फ्रान्क केस्सीले गोल गरे पनि गोलअघिको ह्यान्डबलको कारण उनको गोलले मान्यता पाएन ।
खेलको ५० औं मिनेटमा युवा खेलाडी अमद डियालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी टाइममा साइमन केजेरले गोल गर्दै मिलानको हार टारेका थिए ।
यी दुई टोलीबीच दोस्रो लेगको खेल मार्च १९ मा मिलानको मैदानमा हुनेछ ।
युरोपा लिग अन्तर्गत नै अन्तिम १६ को पहिलो लेगमा दुई इंग्लिस क्लब आर्सनल र टोटनहम हट्सपरले जित हात पारेका छन् । यस्तै इटालियन क्लबले रोमाले पनि जित हात पारेको छ ।
आर्सनलले ग्री क क्लब ओलम्पियाकोसलाई ३-१ ले हरायो । आर्सनलका लागि मार्टिन ओडेगार्डले ३४औं, गाब्रीएलले ८०औं र मोहमेद एल्नेले ८५औं मिनेटमा गोल गरे । ओलम्पियाकोसका लागि युसुफ एल अरबीले ५८औं मिनेटमा गोल गरे ।
यस्तै टोटनहमले डिनामो जाग्रेवलाई २-० ले पराजित गरेको छ । टोटनहमका लागि दुवै गोल ह्यारी केनले गरे । उनले २५औं र ८०औं मिनेटमा गोल गरे ।
इटालियन क्लब रोमाले युक्रेनी क्लब शाख्तर डोनेस्क्टलाई ३-० ले हराएको छ । रोमाका लागि लरेन्जो पेलेग्रिनीले २३औं, स्टेफेन अल सेरावेले ७३औं र जियानलुका मान्सिनीले७७औं मिनेटमा गोल गरे ।
यस्तै स्पानिस क्लबद्वय भियारियल र ग्रानडाले पनि जित हात पारेका छन् । भियारियलले डाइनामो किभ र ग्रानडाले मोल्डेलाई समान २-० ले हराए ।
डच क्लब अयाक्सले स्वीस क्लब योङ ब्वाइजलाई ३-० ले पराजित गरेको छ ।
प्रतिक्रिया 4