Comments Add Comment

प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी सर्वोच्चमा सुवेदीको ‘इन्ट्री’

२८ फागुन, काठमाडौं । प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी सिफारिस भएका छन् ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सिफारिस गरेको छ । उनीहरु उच्च अदालतका मुख्य न्यायाधीशमध्ये क्रमशः पहिलो र दोस्रो वरियताका थिए ।

उनीहरुले नियुक्तिअघि संसदीय सुनुवाई प्रक्रिया पार गर्नुपर्नेछ । सर्वोच्चको न्यायाधीश नियुक्त भएमा सुवेदी प्रधानन्यायाधीश बन्ने न्यायपरिषद स्रोतले जनाएको छ ।

हाल सर्वोच्चमा बहाल न्यायाधीशमध्ये अन्तिममा हरि फुयाल प्रधानन्यायाधीश हुनेछन् । त्यसपछि सुवेदी प्रधानन्यायाधीशको क्रममा छन् । न्याय परिषद स्रोत भन्छ ‘अहिले सबैभन्दा लास्टमा प्रधानन्यायाधीश हुनेमा हरि फुयाल हुनुहुन्छ, उहाँको भन्दा सुवेदीको उमेर कम भयो भने अटोमेटिक रोलक्रममा पर्नुहुन्छ ।’

कुनै उथलपुथल नभए अहिलेको रोलक्रममा हरि फुयाल २०८८ भदौ २१ गते प्रधानन्यायाधीश हुनेछन् । त्यतिबेला ६१ वर्ष पुग्ने उनी करिब ४ वर्ष प्रधानन्यायाधीश पदमा रहनेछन् । २०२७ असोज २० (सन् १९७१ जुन २२) मा जन्मिएका सुवेदी, फुयालभन्दा एकवर्ष कान्छा छन् । फुयालले ६५ वर्षे उमेर हदका अवकाश पाएपछि सुवेदी करिब एक वर्ष प्रधानन्यायाधीश हुने अहिलेको रोलक्रमले देखाएको छ ।

सुवेदी २० पुस २०७४ मा उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए, त्यसअघि उनी सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार थिए । उच्च अदालतको ३ वर्षे यात्रामा उनले उच्च अदालत पाटन र उच्च अदालत सुर्खेतमा पनि काम गरे र फेरि न्यायाधीश भएर सर्वोच्च नै आइपुगेका छन् ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस २ जना उच्च अदालतका मुख्य न्यायाधीश पहिलो र दोस्रो वरियताको भएकाले उनीहरुको सिफारिसमा धेरै प्रश्न उठेको छैन । तर सुवेदीलाई सर्वोच्चमा रजिस्ट्रार हुँदादेखि नै भावी प्रधानन्यायाधीशको रुपमा हेरिएको र त्यसअनुसार नै अघि बढाइएको सर्वोच्च अदालत स्रोत बताउँछ ।

२०७४ सालमा सर्वोच्चमा पहिलो पटक मुख्य रजिस्ट्रार पद सिर्जना गरिएको थियो, र सुवेदी पहिलो मुख्य रजिस्ट्रार बने ।

भविष्यमा नेतृत्वमा पुग्ने गरी व्यक्तिलाई अघि बढाइनु उचित वा अनुचित हुने भन्ने कुरा व्यक्तिको नियतमा भर पर्ने न्यायपरिषदका एक पूर्वसदस्य बताउँछन् । ‘लिडरसिप प्लानिङमा यो कुरा पर्नु राम्रो हो । तर लिडरसिप प्लानिङभन्दा पनि आफ्नो मान्छे प्रोजेक्सन गर्ने, लिडरसिपको हिसाबले क्वालिफाइड छ कि छैन भन्ने प्रश्न भन्दा आफूले सपोर्ट गरेको मान्छे राख्न सकियो कि सकिएन भन्ने ध्यान दिइन्छ’ उनी भन्छन् ।

अहिले प्रधानन्यायाधीशको रोलक्रममा भएको मान्छे नै उक्त पदमा पुग्छ भन्ने ग्यारेन्टी नहुने न्याय क्षेत्रका एक जानकार बताउँछन् । ‘उमेरले भेट्टायो भने लाइनमा बसेको मानिन्छ । प्रधानन्यायाधीश हुने बेलामा उसलाई नपठाएर अरुलाई पठाउने ठाउँ संविधानले दिएको छ’ उनले अनलाइनखबरसँग भने ।

सिद्धबाबालाई सफाइ दिने न्यायाधीशलाई ‘पुरस्कार’ !

न्यायपरिषदले शुक्रबार नै उच्च अदालतका २२ जना न्यायाधीशमा नाम सिफारिस गर्दा विवादास्पद फैसला गर्ने एक न्यायाधीश पनि परेका छन् ।

बलात्कार मुद्दामा सिद्धबाबाबा भनिने कृष्णप्रसाद गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका लागि सिफारिस भएका छन् । उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ७ जनामध्ये कोइराला पाँचौं नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment