Comments Add Comment

केही व्यक्तिको आर्थिकस्तर बढ्दैमा समृद्धि आयो भन्न सकिँदैन : प्रचण्ड

२९ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिकस्तर माथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् ।

प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा सम्वृद्धिलाई नाप्न सकिने बताए ।

मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख भएकोे भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्वृद्धि मान्न नसकिने उनको तर्क छ ।

‘सम्वृद्धि केलाई भन्ने ? केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरुले सामान्य मानवीय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याप, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्‍यो भने त्यसलाई सम्वृद्धि भन्न सकिँदैन,’ उनले भने, ‘समग्र मानव समाज नै एउटा हारमोनिममा, एउटा तादात्म्यतामा सामाजिक न्यायसहित सभ्यताको एउटा नयाँ उचाई छुँदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो ।’

उनले समाज र जनताले नेता जन्माउने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भूमिका रहेको बताए । उनले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने धारणा राखे ।

‘नेता भनेको समाज र जनताले पैदा गर्ने हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो,’ उनले भने, ‘जनताको चेतनाको स्तर आमरुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्दैन । निर्णायक र मुख्य जनता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment