Comments Add Comment

वडाध्यक्षले फिर्ता गरे सुविधामा लिएको मोटरसाइकल

१ चैत, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय चौहानले पालिकाबाट लिएको मोटरसाइकल फिर्ता गरेका छन् । वडा कार्यालयको कामकाजका लागि भनी गाउँपालिकाबाट लिएको ना १ ब ३६८२ नम्बरको मोटरसाइकल उनले कार्यालयमा बुझाएका हुन् ।

वडाध्यक्ष चौहानले सरकारी नम्बर प्लेटको मोटरसाइकल निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको रोहबरमा गाउँपालिकालाई बुझाएका थिए ।
‘साथीहरुले मोटरसाइकल बुझाएका रहेछन्, किन बुझाउनुभयो भनेर सोधें । मोटरसाइकल लिएमा सेवा सुविधा काटिने कुरा रहेछ,’ उनले भने, ‘मोटरसाइकल लिएमा सेवा सुविधाबाट रकम कट्ने देखियो । आफ्नो बाइक छँदैछ भनेर सरकारी बाइक फिर्ता गरिदिएँ ।’

यसअघि वन्दिवासिनी गाउँपालिका–१ का वडाध्यक्ष साबिर मियाँ र वडा नम्बर ५ का वडाध्यक्ष सुकदेव यादवले आफूले लिएको मोटरसाइकल पालिकालाई बुझाइसकेका छन् ।

प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धमा ऐन ल्याएको थियो । ऐनको दफा ५ मा यातायात सुविधा सम्बन्धी व्यवस्था छ । प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई स्थानीय तहको आन्तरिक स्रोतसमेतको आधारमा सवारी साधन (दुईपांग्रे/चारपांग्रे) उपलब्ध गराउन सकिने उल्लेख छ ।

सवारी साधन उपलब्ध नभएको अवस्थामा सम्बन्धित सभाले तोके अनुसारको यातायात सुविधा पाउने व्यवस्था गरिएको छ । सवारी साधन भएकालाई सभाले तोके बमोजिमको इन्धन र मोबिल मात्रै पाउने उल्लेख छ ।

प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धमा २०७५ सालमा ऐन ल्याएको हो । पहिले पालिकाबाट मोटरसाइकल लिनका लागि हानाथाप गर्ने जनप्रतिनिधिहरुले ऐन आएपछि धमाधम सवारी फिर्ता गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment