Comments Add Comment

एपीएफलाई हराउँदै वाग्मती क्वार्टरफाइनलमा

१ चैत, हेटौंडा । विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै सर्लाहीको वाग्मती युवा क्लब हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकप’ को क्वार्टरफाइनलमा पुगेको छ ।

वनविज्ञान खेल मैदानमा आइतबार भएको प्रतिस्पर्धामा एपीफलाई २–१ ले निराश बनाउँदै वाग्मती अन्तिम ८ मा पुगेको हो ।

अघिल्लो दिन ‘गोलबजार गोल्डकप’ को उपाधि जितेर आएको विभागीय टिम हेटौंडामा जारी प्रतियोगिताबाट बाहिरियो ।

३७ औं मिनेटमा कर्नरमार्फत पाएको बललाई सदुपयोग गर्दै विक्रम धिमालले वाग्मतीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७४ औं मिनेटमा सागर शाहीले फ्रीकिकबाट आएको पासलाई डि–बक्स भित्र सदुपयोग गर्दै जाली चुमाए ।

एपीएफले खेलको अघिकांश समय बलमाथि नियन्त्रण राखे पनि गोलको अवसर भने पाएन । वाग्मतीका खेलाडीले डी बक्सभित्र हातले बल छुँदा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ८३ औं मिनेटमा रवि थिङले एपीएफका लागि गोल गरे ।

वाग्मतीका बिक्रम धिमाल म्यान अफ दी म्याच घोषित भई १० हजार रुपैयाँ पुरस्कार पाए । खेल पछि प्रतिक्रिया दिँदै सशस्त्रका प्रशिक्षक सुदीप श्रेष्ठले खेलमा वाग्मती युवा क्लबको तुलनामा एपीएफका खेलाडी होचा भएकाले समस्या भएको बताए ।

‘वाग्मतीमा विदेशी खेलाडी हुँदा हाई बलहरु सजिलै हामीले फुत्काउनु प¥यो’ उनले भने । कप्तान नविन लामालाई खेल्ने क्रममा चोट लागेपछि फिनिसिङमा पनि समस्या भएको प्रशिक्षक श्रेष्ठले बताए ।

वाग्मती युवा क्लबका प्रशिक्षक सुनील श्रेष्ठले एउटा फ्रीकिक र कर्नरलाई खेलाडीले सदुपयोग गर्दा नतिजा आफ्नो पक्षमा आएको बताए । उनले आगामी खेलमा केही खेलाडी परिवर्तन हुने संकेत गरे । अब क्वार्टरफाइनलमा वाग्मतीले अफ्रिकन रुट्स एशोसिएसनसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी मोटरसाइकल पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment