Comments Add Comment

कोरोना खोप : किन पछि परे एसियाली मुलुक ?

२ चैत, काठमाडौं । विश्वभर करिब १६ करोड मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइसकेको आकलन छ । खोप लगाउनेमध्ये अधिकांश मानिसहरु युरोप र अमेरिकाका छन् ।

भारतमा पनि २ करोड ४५ लाखभन्दा बढी कोरोना खोप लगाइसकिएको छ । तर एसियाका धेरै मुलुकमा भने खोप कार्यक्रम सुस्त गति छ । खोप कार्यक्रम निकै सुस्त हुनुको कारण अत्यधिक सावधानी अपनाउनुदेखि खोपमाथि अत्यधिक आशंका हुनुसम्मका छन् ।

यहाँ केही मुलुकको अहिलेको अवस्था र खोप कार्यक्रम सुस्त हुनुको फरक फरक कारणबारे चर्चा गरिएको छ ।

त्रास र गलत सूचना

फिलिपिन्समा सन् २०१६ लगाइएको डेंगुविरुद्धको खोपको त्रास मानिसमा अझै ताजा छ । डेंगुले महामारीको रुप लिएपछि सरकारले खोप अभियान सुरु गरेको थियो तर केही बालबालिकाको मृत्यु भएपछि विवाद सिर्जना भयो र सरकारले दुई वर्षमै खोप कार्यक्रम रोक्नु पर्‍यो ।

त्यसको छाया अहिले कोरोनाविरुद्धको खोप कार्यक्रममा पनि देखिएको छ । हालै गरिएको एक सर्वेक्षणअनुसार फिलिपिन्समा केवल १९ प्रतिशत मानिस मात्र कोरोना खोपप्रति सकारात्मक देखिएका छन् । अरुले कोरोना खोप लगाउने इच्छा देखाएका छैनन् ।

त्यति मात्र पनि होइन, फिलिपिन्समा निकै कम मात्र कोरोना खोप आइपुगेको छ । फिलिपिन्समा फेब्रुअरी २८ मा पहिलोपटक चिनियाँ कोरोना खोप आइपुगेको थियो ।

त्यसअघि सरकारले फेब्रुअरी १५ बाट कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गर्ने योजना बनाएको थियो । तर आपतकालीन प्रयोगको लागि अनुमति दिइएको फाइजर–बायोएनटेक र अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप आइपुगेन र खोप कार्यक्रम सुरु हुन सकेन । एस्ट्राजेनेकाको खोप मार्च ४ मा मात्र फिलपिन्स आइपुगेको थियो ।

पाकिस्तानमा पनि कोरोना खोपबारे गलत सूचना फैलिएको छ । खोपबारे फैलिएको गलत सूचना र केही भाइरल भिडियोको कारण मानिसहरुले आशंका व्यक्त गरिरहेका छन् ।

सन् २०२० बाट पाकिस्तानको एक निजी विद्यालयका शिक्षकको एक भिडियो भाइरल भएको थियो, जसमा उनले पोलियोको खोपबारे आशंका व्यक्त गरेका थिए । लाखौं मानिसहरुले हेरेको यही भिडियोका कारण अरुले पनि पोलियोको खोपको सुरक्षाबारे प्रश्न उठाएका थिए ।

यो भिडियो सामाजिक सञ्जालबाट हटाइसकिएको छ । तर यसले कोरोना खोप कार्यक्रममा पनि असर पार्न सक्ने जानकारहरुले बताएका छन् । एक प्रतिवेदनका अनुसार पेसावरमा कोरोना खोप अभियान सुरु भएको पहिलो दिन करिब चारसय स्वास्थ्यकर्मीले खोप लिने अनुमान गरिएको थियो । तर केही दर्जन स्वास्थ्यकर्मीले मात्र खोप लगाएका छन् । यसले पनि पाकिस्तानमा कोरोना खोपमाथिको आशंकालाई उजागर गरेको छ ।

सुरक्षाको दृष्टिकोण

अन्य एसियाली मुलुकमा भर्खरै कोरोना खोप कार्यक्रम सुरु भएको छ । विशेषज्ञहरु र अधिकारीहरुले कोरोना खोप कार्यक्रममा ढिलाइ हुनुमा खोपमाथि आशंका भन्दा पनि सतर्कता एक कारण भएको बताएका छन् । अस्ट्रेलियाको डेकिन युनिभर्सिटीका महामारीविद् क्याथरिन बेनेटका अनुसार खोपको प्रतिक्षा गर्ने मुलुकले खोपको डोज, यसले गर्भवती तथा अन्य मानिसहरुमा पार्ने प्रभावको विषयमा धेरै जानकारी समयमा नै पाउने छन् ।

दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सिय क्युन पनि मुलुकमा कोरोना खोप कार्यक्रम सुरु गर्न ढिलाइ गर्ने निर्णयको बचाउ गर्छन् । फेब्रुअरी २५ बाट खोप कार्यक्रम सुरु गर्नुको उद्देश्य अन्य मुलुकमा कस्तो असर देखिन्छ भन्ने जानकारी पाउनु पनि भएको उनको दाबी छ ।

सिंगापुर, कम्बोडिया र भियतनामले भने कोरोना खोपको प्रतिक्षाबारे सोही किसिमको प्रतिक्रिया दिएका छन् ।

खोप कार्यक्रम सुरु गर्न ढिला भएपनि एसियाका धेरै मुलुकले छिटै कोरोना खोप कार्यक्रम सकिने विश्वास व्यक्त गरेका छन् । उदाहरणका लागि दक्षिण कोरियाले आगामी हिउँदसम्ममा अधिकांश मानिसलाई कोरोना खोप दिइसक्ने योजना ल्याएको छ ।

मार्चबाट बल्ल खोप कार्यक्रम सुरु गरेको थाइल्याण्डले सन् २०२१ को मध्यसम्ममा आफ्ना आधा नागरिकहरुलाई कोरोना खोप दिइसक्ने बताएको छ । आफ्ना सबै नागरिकको लागि आवश्यक कोरोना खोपको व्यवस्था गरिसकेको सिंगापुरले अप्रिलको अन्तिमबाट कोरोना खोप कार्यक्रम तीव्र गतिमा सञ्चालन गर्ने बताएको छ ।

खोपमाथिको विश्वास

जापानमा अहिले तीव्र गतिमा खोप अभियान चलाएको छ । आगमी जुलाइ–अगष्टमा हुने ओलम्पिक अगाडि सबै नागरिकलाई कोरोना खोप दिने उसको लक्ष्य छ ।

तर जापानले पनि खोप अभियान भने ढिला सुरु गरेको हो । अमेरिका र बेलायतले फाइजर–बायोएनटेकको खोप प्रयोगमा ल्याएपछि पनि जापानले थप परीक्षण गरेर १७ फेब्रुअरीमा अनुमति दियो । थप परीक्षण गर्नुको कारण खोपमा मानिसको विश्वास बढाउनु हो । जापान विश्वमा खोपमा सबैभन्दा कम विश्वास राख्ने मुलुकमध्येको एक हो । सन् १९९० को सुरुवातमा दादुरा, हाँडे र रुबेलाविरुद्धको खोपको कारण जापानमा मेनिन्जाइटिसको दर बढेको थियो । यसको सम्बन्धको विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन । तर त्यसपछि यी खोपमा रोक लगाइएको थियो ।

क्योटो युनिभर्सिटी स्कुल अफ मेडिसिनकी शोधकर्ता रिको मुरान्का जापानमा आम मानिसलाई खोपको महत्वबारे बुझाउन प्रभावकारी रणनीतिको अभाव रहेको बताउँछिन् । खोपबारे आउने गरेका सनसनीपूर्ण समाचारले पनि मानिसमा आशंकालाई बढाएको उनको भनाइ छ ।

खोपविरुद्ध अनलाइनमार्फत अभियान सुरु भएको र यसलाई सहयोग गर्ने मानिसको संख्या पनि उल्लेख्य छन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment