
४ चैत, काठमाडौं । जर्मनी, फ्रान्स, इटाली र स्पेनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको खोप प्रयोगमा रोक लगाउने निर्णय गरेका छन् । युरोपमा यो खोप लगाएका केही मानिसमा रगत जम्ने समस्या देखिएसँगै पछिल्लो समय विभिन्न मुलुकले एस्ट्राजेनेकाको खोप प्रयोगमा रोक लगाइरहेका छन् ।
एस्ट्राजेनेकाको खोपमा रोक लगाउने मुलकमा अधिकांश युरोपेली मुलुक छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने यो खोपको प्रयोगलाई निरन्तरता दिन आग्रह गरेको छ । रक्तनलीमा रगत जम्ने समस्या देखिनुमा खोपको कुनै सम्बन्ध नदेखिएको डब्ल्यूएचओको भनाइ छ ।
एस्ट्राजेनेकाको खोपबारे छलफलका लागि मंगलबार डब्ल्यूएचओका विशेषज्ञहरुको बैठक बस्दैछ । युरोपमा कोरोना खोप अभियान सुरु भएसँगै रक्तनलीमा रगत जम्ने समस्या पनि बढेको छ । यद्यपि विशेषज्ञहरुले भने अहिले देखिएको समस्या खोपसँग सम्बन्धित नरहेको र डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । अहिलेसम्म युरोप र बेलायतमा गरी करिब एक करोड ७० लाखभन्दा धेरै मानिसले कोरोना खोप लगाइसकेका छन् । तर, उनीहरुमध्ये ४० भन्दा कम मानिसमा मात्र यो समस्या देखिएको हो ।
युरोपेली मुलुकले भने खोपबारे थप अनुसन्धानपछि मात्र खोपको प्रयोग सुरु गरिने बताएका छन् । जर्मनीको स्वास्थ्य मन्त्रालयले खोपको प्रयोग रोक्ने निर्णय मानिसहरुको सतर्कतालाई ध्यानमा राख्दै गरिएको बताएको छ । अन्य युरोपेली मुलुकहरुले पनि यस्तै प्रतिक्रिया दिएका छन् ।
एस्ट्राजेनेकाले खोपबारे सशंकित हुनुपर्ने कुनै कारण नरहेको दाबी गरेको छ । युरोपियम मेडिसिन एसोसिएसनले पनि अहिलेसम्म पाइएको तथ्यांकअनुसार रक्तनलीमा रगत जमेको घटनामा खोपको कुनै सम्बन्ध नदेखिएको बताएको छ । डब्ल्यूएचओले पनि खोपमाथि प्रतिबन्ध नलगाउन आग्रह गरेको छ ।
-एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4