Comments Add Comment

यसकारण देउवा नेतृत्वको सरकारको पक्षमा ‘युटर्न’ भयो कांग्रेस

५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा केही दिनयता अनौठो दृश्य देखिएको छ । आसन्न १४ औं महाधिवेशनमा जसले शेरबहादुर देउवालाई सभापतिमा रोक्न चाहेको छ, त्यही पक्षले सरकारको नेतृत्व गर्नुस् भनेर हारगुहार गरिरहेको छ ।

जबकि २८ फागुन अगाडिसम्म वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्म सबैले प्रतिपक्षमा बस्ने ‘म्याण्डेट’ पाएको कांग्रेस सरकारमा जान नहुने बताइरहेका थिए । संस्थापन इतरका नेताहरु अचानक कसरी युटर्न भए ? किन सभापति देउवाको नेतृत्वमा सरकार बनाउनुपर्छ भनिरहेका छन् उनीहरु ?

ती नेताहरुका अनुसार, २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेसँगै नयाँ सरकार गठनको ढोका खुले पनि संस्थापन इतर पक्षका नेताहरु यसबारेमा मौन नै थिए ।

२५ फागुनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं बूढानीलकण्ठ पुगेर देउवाको नेतृत्वमा कांग्रेस, माओवादी र जसपाको सरकार बनाउने प्रस्ताव नै राखे । जसपाको एउटा खेमा पनि यसमा तयार देखियो । तर स्वयं कांग्रेसका नेताहरु एकमत थिएनन् ।

पौडेल निकट एक नेता भन्छन्, ‘सभापति प्रधानमन्त्री बन्नु सभापतिका आकांक्षीहरुका लागि क्षति नै हो । तर तत्कालको क्षति व्यहोरेर पनि देउवालाई अगाडि बढाउन सबै तयार भएका छौं । किनकि ओली सरकार रहँदा अझ ठूलो क्षति हुन्छ ।’

सभापति देउवाले पनि बैठक राखेर आधिकारिक धारणा बनाउन पहल नगरेपछि नेताहरुले आफ्नो अनुकूल धारणा राख्न थाले । कतिपय नेता कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने पक्षमा देखिए पनि संस्थापन इतरका बहुसंख्यक नेताहरुले सरकार नै नबन्ने अवस्था आए गाँठो फुकाउनुपर्ने, तर सरकारमा जान नहुने धारणा राखे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी भूमिकाबाट कांग्रेस डगमगाउन नहुने बताउँदै आएका थिए । तर २८ फागुनमा संस्थापन इतरका नेताहरु देउवाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने निष्कर्षमा पुगे ।

त्यो दिन जसपाका नेताहरु आफूलाई भेट्न ४ बजे आउने भएपछि देउवाले ३ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बोलाएका थिए । त्यसअघि पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा भेला भएका थिए ।

त्यहाँ पनि नेताहरुले सरकारलाई फ्लोरबाट मात्र समर्थन गर्नुपर्ने, पार्टीकै नेतृत्वमा सरकार बनाउँदा पनि देउवाबाहेकका अरुले नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए । किनकि कांग्रेसको १४ औं महाधिवेशन भदौ ७–१० मा हुँदैछ र प्रधानमन्त्रीको पदमा बसेका बेला देउवालाई सभापतिमा हराउन निकै गाह्रो हुन्छ भन्ने पौडेल पक्षको बुझाइ छ ।

पौडेल समूहका नेताहरुका अनुसार यो तर्क कमजोर छैन । किनकि आफ्नो पक्षमा लाग्ने नेताहरुको व्यवस्थापनका लागि उनीसँग मन्त्री तथा विभिन्न पद दिन सक्छन् । महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्न राज्य सत्ताकै ‘दुरुपयोग’ पनि हुनसक्छ ।

त्यसो भए फेरि किन एक स्वरमा देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने निचोडमा पुग्यो त्यो बैठक ? एक नेताका अनुसार त्यो दिन महामन्त्री शशांकको कोठामा प्रमुख नेताहरुबीच छुट्टै छलफल भएको थियो । त्यहाँ देउवाको नेतृत्वमा सरकार नबनाए हुने सम्भावित तीन परिदृश्यको चर्चा भएको थियो ।

पहिलाे : केपी ओलीले राज्यसत्तामा जस्तो संरचना बनाएका छन्, त्यसको चुनावी फाइदा उनलाई हुन्छ ।

दोस्रो : केपी शर्मा ओली पनि हार्न सक्छन् भन्ने सन्देश दिनुपर्छ । नभए उनको विजेताको छवि चुनावमा भारी पर्नसक्छ ।

र, तेस्रो : प्रधानमन्त्री ओली र सभापति देउवाबीच ‘सेटिङ’ कायमै रहे कांग्रेसलाई थप क्षति हुनसक्छ ।

यही जोखिम टार्न देउवाकै नेतृत्वमा भएपनि सरकार बनाउन आफूहरुले सहयोग गर्नुपर्ने नेताहरुको तर्कमा रामचन्द्र पौडेललगायत सबै सहमत भएको एक नेताले बताए । त्यसपछि पौडेलले त्यहीँबाट सभापति देउवालाई फोन गरेर ‘सरकारको नेतृत्वका लागि अग्रसरता लिनुस् र जसपा नेताहरुलाई प्रधानमन्त्रीले जेजे माग सम्बोधन गर्छु भनेका छन्, हामी पनि पूरा गर्छौं भन्नुस्’ भनेका थिए ।

पौडेल निकट एक नेता भन्छन्, ‘सभापति प्रधानमन्त्री बन्नु सभापतिका आकांक्षीहरुका लागि क्षति नै हो । तर तत्कालको क्षति व्यहोरेर पनि देउवालाई अगाडि बढाउन सबै तयार भएका छौं । किनकि ओली सरकार रहँदा अझ ठूलो क्षति हुन्छ ।’

कांग्रेस केन्द्रीय सदस्य जीवन परियार पनि सरकार अल्पमतमा परेपछि प्रमुख प्रतिपक्षीले अग्रसरता लिनुपर्ने बताउँछन् । ‘साबिकको नेकपा, एमाले र माओवादी अलग भएपछि यो सरकार अल्पमतमा परिसक्यो’ उनले भने, ‘दोस्रो ठूलो दल कांग्रेसले पहिलो दल एमालेबाहेक अरुलाई मिलाएर सरकार बनाउन नेतृत्व लिनुपर्छ र मुलुकलाई सरकारविहीन हुने अवस्थामा पुग्न दिनुहुँदैन ।’

कति सहज छ देउवा नेतृत्वको सरकार ?

पार्टीभित्र एकस्वर भए पनि कांग्रेस सभापति देउवा आफैंले चाहिं अझै सरकार गठनको अग्ररसता लिएका छैनन् । उनको तर्क छ, ‘परिपक्व अवस्था अझै बनिसकेको छैन ।’

प्रवक्ता विश्वप्रकाश शर्मा पनि त्यही भन्छन् । ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाएको छ, तर त्यसका लागि चाहिने वातावरण विकसित भइनसकेकाले धेरै अग्रसरता नलिएको हो’ उनले भने, ‘नेतृत्व लिनेतर्फ अलिकति रुचि नै नराखेको र उदासीनता देखाएको चाहिं होइन ।’ आफूहरु निरन्तर छलफलमा रहेका र उपयुक्त वातावरण बनेपछि सरकार गठनको नेतृत्व गर्ने उनले बताए ।

देउवा निकट नेताहरुको आशंका ३२ सांसद भएको जनता समाजवादी पार्टीतर्फ छ, जहाँ सरकारमा कसलाई समर्थन गर्ने भन्ने विवाद छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरु कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्छ भन्नेमा छन् । तर, महन्थ ठाकुर र राजेन्द्र महतो जसले मागमुद्दा सम्बोधन गर्छ, उसलाई समर्थन गर्ने भनेर तुलनात्मक रुपमा ओलीप्रति पनि नरम देखिएका छन् ।

ठाकुर प्रधानमन्त्री ओलीसँग निरन्तर सम्पर्कमा छन् । उनले पार्टीलाई समेत जानकारी नदिई प्रधानमन्त्रीको टोलीसँग वार्ता गर्न नेताहरु खटाएका थिए । यदि जसपा एकमतले कांग्रेस–माओवादीसँग गठबन्धन गर्ने निर्णयमा नपुगे सरकार गठनमा कुनै पनि बेला अप्ठ्यारो पर्नसक्ने देउवा निकट नेताहरुको दाबी छ ।

तर, कांग्रेस–माओवादीसँग गठबन्धन गर्नुपर्ने मत राख्ने जसपा नेताहरु भने कांग्रेस सभापति देउवाले सरकार गठनको अग्रसरता नलिंदा यो अवस्था आएको बताउँछन् । कांग्रेस सभापति देउवाले जसपाको संकेत कुर्ने र जसपा दोधारमै रहिरहने यो अवस्था कति दिन रहन्छ अनुमान गर्न कठिन भएको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment