६ चैत काठमाडौं । नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिताका लागि शुक्रबार भएको अक्सन (बोलकबोल) मा ८ खेलाडी सबैभन्दा बढी मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका छन् ।
आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का लागि भएको अक्सनमा ८ खेलाडीले सबैभन्दा बढी २ लाख रुपैयाँ पाउने गरी क्लबहरुमा अनुबन्ध भएका छन् ।
अखिल नेपाल फुटबल संघले उपलब्ध गराएको समूह एमा रहेका खेलाडीको आधार मूल्य १ लाख रहेकामा एक भन्दा बढी क्लबले अनुबन्ध गर्न चाहँदा उनीहरुको अधिकतम २ लाख रुपैयाँ पुगेको थियो । जस अनुसार गत वर्ष १३ औं सागमा राष्ट्रिय फुटबल टिमको कप्तानी गरेका सुजल श्रेष्ठ पोखरा थण्डर्समा अनुबन्ध भए । उनलाई थण्डर्सले चिट्ठामार्फत पाएको हो । पोखराले गोलकिपर दीप कार्कीलाई पनि २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
ललितपुर सिटी फुटबल क्लबले मिडफिल्डर एरिक विष्टलाई २ लाखमा अनुबन्ध गरेको छ । काठमाडौं रेजर्सले मिडफिल्डर तेज तामाङलाई, चितवनले गोलकिपर विशाल सुनार, डिफेण्डर विकास खवासलाई, विराटनगरले मिडफिल्डर सुनिल बललाई समान २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यस्तै धनगढी एफसीले दिनेश राजवंशीलाई २ लाखमा अनुबन्ध गरेको छ ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयाेजनामा हुने एनएसएलमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा ७ टिमले यसअघि नै मार्की प्लेयर अनुबन्ध गरिसकेका छन् । विराटनगर सिटीको मार्कीमा रन्जित धिमाल, काठमाडौं रेजर्समा विकेश कुथु, ललितपुर सिटी एफसीमा अन्जन विष्ट, एफसी चितवनमा भरत खवास, पोखरा थन्डर्समा नवयुग श्रेष्ठ, बुटवल लुम्बिनी एफसीमा विशाल श्रेष्ठ, धनगढी एफसीमा विशाल राई रहेका छन् ।
मार्की प्लेयरबाहेक समूह ए मा २८ खेलाडी रहेकामा अक्सनको पहिलो चरणमा १९ खेलाडी मात्र बिक्री भए । विराज महर्जन, रविशंकर पासवान, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, छिरिङ गुरुङ, हेमन्त थापा मगर, सुवास गुरुङ, दिलेन मोक्तान, अर्पण कार्कीलाई कुनै क्लबले लिएनन् ।
प्रतिक्रिया 4