Comments Add Comment

व्यंग्य-निबन्ध : बाङ्देलजी !

  ‘मलाई तपाईंलाई दिक्क लगाउने कुनै रहर हैन, तर नेपाल बस्ने देश चाहिं हैन देवव्रतजी !’

बाङ्देलजीको म्यासेज थियो यो ।

पृष्ठभूमिमा छोटकरीमा उहाँको बारेमा बताइदिउँ । मुलुकबाहिर कर्णालीतिर उहाँ र मसँगै हुर्कियौँ । सँगै पढ्यौं अनि सँगै यो मुलुक आयौं । सँगै संघर्ष गर्यौं, सँगै व्यवसाय सुरु गर्यौं र अन्ततः सँगै डुब्यौं, बर्बाद भयौं, सक्कियौं पनि । अनि उहाँ एक्लै विदेश जानुभयो । मैले एक्लै यता सानोतिनो जागिर खाएँ ।

‘सगरमाथामा भर्सेला परोस् !’

उहाँको अर्को म्यासेज थियो । लगत्तै अलि लामो मेसेज पनि ।

‘हामी भेडा थियौं, भेडा छौं, भेडै रहनेछौं । खासमा कोही लुटिन चाहन्छ भने लुट्ने नै हो, ठगिन चाहन्छ भने ठग्ने नै हो । रहरको बर्बादीमा वेदना होला, समवेदना हुँदैन । केपी ओली मान्छे हैन ऐना हो । यो समाजको ऐना, हाम्रो ऐना । आफ्नै अनुहारमा फोहोर छ त ऐना हेरेर के चित्त दुखाउनु ! नाङ्गो त हामी पनि छौं । अरु नाङ्गिएको देखेर के गुनासो गर्नु ? खासमा देशमा केही भएकै छैन । यो हाम्रै मुत गन्हाएको हो । राति ओछ्यानमा मुत्यौं, बिहान गन्हायो । अर्कोपालिदेखि कि मुतेर सुतौं होइन भने उठेर मात्र मुत्ने गरौं ।’

मैले अघिल्लो दिन पठाएको मेसेजको रिप्लाइ थियो यो ।

मलाई बैराग चढेको थियो । आक्रोश थियो, आवेग थियो, फ्रस्ट्रेसन थियो । कहिलेकाहीं सपेराले पनि दूधको व्यापार गर्छ । कालापानी मार्चमा जाने विद्यार्थीलाई ‘उरन्ठेउला ठिटा’ भन्ने मान्छे क्यासिनोमा बेलाबेला फुत्तफुत्त राष्ट्रवादको जोकर निकाल्छ र खाल जित्छ । त्यो जोकर फ्याँक्ने केटो केपी ओली हो । आजकाल ऊ तरुनो हुँदै गएको छ, जुँघा पनि काला भएका छन्, गाला स्याउजस्ता राता भएका छन् ।

०००

‘को केपी ओली ?’ अनु सोध्छे ।

‘भन्नेहरू त केपी ओली देशको प्रधानमन्त्री पनि हो भन्छन् ।’

‘कुन्नि होला ! मलाई थाहा छैन ।’ अनुको जवाफ छ ।

म केही बोल्दिनँ । केही नबोलेको देखेपछि ऊ आफैं ओठ च्यात्छे, ‘एकजना मान्छे रत्नपार्कका रुख–रुखमा चढेर मुकुन्दल्याण्ड बनाउँछु भन्थ्यो । केपी ओली त्यस्तै कोही मान्छे हो कि !’

म जवाफमा भन्छु, ‘हुनसक्छ । होला होला । पक्कै हो । त्यही हो ।’

बाङ्देलजीको कुरा ठीक हो यो बस्ने देशचाहिँ हैन । हामी रैती र यो देशको शासक उस्तै छौं । केमेस्ट्री मिलेको छ ।

राजनीति यति फोहोर हुन्छ भने फोहोर कस्तो हुन्छ ? पक्कै पनि योभन्दा सफा हुँदो हो । राजनीति यति बेइमान हुन्छ भने, बेइमानी कस्तो हुन्छ ? त्यो पनि योभन्दा राम्रै हुँदो हो ।

फेसबुक खोल्छु । फोहोर छ । डुङ्डुङ्ती गन्हाएका छन् मान्छेहरू । अब फेसबुकको छातीमा ‘फोहोर मलाई’ लेखेर टाँसिदिनुपर्छ । बेला भैसक्यो । कागजको टुक्रो च्यातेर लेख्छु, ‘फोहोर मलाई’ । अनि त्यो टुक्रो मोबाइलको निधारमा टाँसेर फेसबुक स्क्रोल गर्छु ।

प्रचण्डहरूले गरेको विरोध कार्यक्रममा सहभागी अधिकांश ओली समर्थनको प्रदर्शनीमा सहभागी छन् । राज्यले सामाजिक, आर्थिक, राजनीतिक संरचना नै यस्तो बनाएर बजार निर्माण गरेको छ । यो एकदमै कुरुप कुरा हो, अझै पनि यस्ता घरहरू छन् जहाँ हजार–पन्ध्र सय ठूलो कुरा हो र यो उनीहरुको नियति भने हैन । बनाइएको हो, कृत्रिम हो । हामी सोच्छौं, मजदुरहरूले इँट्टा, गिट्टी मात्र बोक्छन् । त्यसो हैन मजदुरहरुले ठेकेदारले जे बोकायो त्यही बोक्छन् ।

मजदुरहरूको कुनै झण्डा हुँदैन, उनीहरुसँग डोको हुन्छ, नाम्लो हुन्छ र एउटा स्यानो टाउको हुन्छ । यसबाहेक अरु केही हुन्छ भने एउटा पेट । भोको पेटले इमान देख्दैन, देश देख्दैन, समाज देख्दैन, संविधान देख्दैन, सही गलत छुट्याइराख्ने कष्ट पनि गर्दैन । यो देश होइन मजदुर उत्पादन गर्ने कारखाना हो । यो बुझ्ने फुर्सद कसलाई ? गाली छ ? हजार पन्ध्र सय ज्यालामा आन्दोलन गर्न आएका सोझा मान्छेहरुलाई चौतर्फी गाली छ ।

ठीक हो ती १ हजार ५० ज्यालामा आन्दोलनको कार्यक्रममा आइदिएकी आमालाई मज्जाले गाली गरौं । उनको सोझोपनामाथि अट्टहास हासौं । मोबाइल छ, भिडियो पनि खिच्छ, सामाजिक सञ्जालको पहुँचमा पनि छौं, भिडियो खिचौं अपलोड गरौं । हाँसौं ।

त्यस्तो बाध्यता, त्यस्तो समाज कसले बनायो ? आफ्नो आधुनिक रैतीपना, दासत्व र मण्डले प्रवृत्तिको समीक्षा नगरौं । गल्ती भो? अरुले गरेको होला ! आफूले गल्ती गर्ने त कुरै छैन । आफूले पनि काहीँ गल्ती गरिन्छ त ?

म बाङ्देलजीको म्यासेज स्क्रोल गर्दै जान्छु । कवितांश छ–

साम्राज्य आखिर साम्राज्य नै हुन्छ

चाहे त्यो रोमन साम्राज्य होस्,

ब्रिटिस साम्राज्य होस् या अत्याधुनिक अमेरिकी साम्राज्य

जसको एक मात्रै काम हुन्छ

कि पहाडहरूमा, पठारहरूमा,

नदी किनारमा

सागर तीरमा

मैदानमा

मानिसका हाडखोरहरू तितरवितर पार्नु !

तल लेखिएको छ– रमाशंकर यादव । योभन्दा माथि मेरो म्यासेज छ, यो कवितांश त्यसैको रिप्लाइ हो ।

‘उहिले उहिले बडामहाराज र मुमा बडामहारानीको फोटो मेरा किताबको फस्ट पेजमा राखिदिएजस्तो नागरिक एपमा खड्गप्रसाद ओलीको फोटो किन ? मैले उसको अनुहार किन हेर्दिन पर्ने? किताबको ज्ञानेन्द्र च्यातेर फाल्न सकिन्थ्यो, नागरिक एपको ज्ञानेन्द्र कसरी च्यातेर फाल्ने ?’

‘राज्य यस्तै हुन्छ देवव्रतजी, शासक यस्तै हुन्छ ।’

बाङ्देलजी कसरी यति शान्त हुन सक्नुभएको ? गलत कुराको खरो विरोधमा उत्रिने उहाँ पछिल्लो समय शान्त हुनुभएको थियो । मान्छेहरूलाई जोख्ने एउटै तराजु थियो उहाँसँग । उहाँ सबै मान्छेसँग दिक्क हुनुहुन्थ्यो । उहाँ मान्छे जाति नै घिनलाग्दो भएको बताउनुहुन्थ्यो ।’

म कुकुर किन भइँन ?

म बाँदर भइदिए हुन्थ्यो ।

म अरु नै केही भए हुन्थ्यो ।

बरु केही पनि नभइदिए हुन्थ्यो ।

मर्नुपर्छ देवजी । घर–परिवार घाँटीमा नअड्किदो हो त म पासो थाप्थेँ ।

उहाँका मेसेज यस्ता थिए । उहाँलाई बाँच्न पुगिसकेको थियो ।

‘माथि कान्लामा बसेर रोपारेले हिलो खेलेको हेर्ने हो । मुखियाजस्तो फिल ल्याउन सेतो लुगा लगाएर सुर्ती माड्दै बस्न पनि सकियो । आफैं हिलोमा खेल्न जाने हो भनेचाहिँ शरीर चिलाउँछ । डिलतिर बसेर हेर्दा देश रमाइलो छ । छैन त ?’

अनुलाई देश रमाइलो लागिरहेको छ । ऊ एउटा पत्रिकाको टुक्रो दिँदै भन्छे, ‘ल हेर्नुहोस् ।’

टुक्रोमा लेखिएको टुक्रो यस्तो छ–

‘तपाईंको छोराको मुद्दामाथि सर्वोच्च जाने भयो । के गर्ने?’

‘हैन,  अब माथि नपठाइदिनुहोस् ।’

‘त्यसो भए पाँच दिनुस् । तपाईंले जुटाउनुपर्यो ।’

‘पाँच होइन, तीन गरौंला ।’

‘तीन मात्रै ? बाँकी के खसी बोका ? यस्तो बार्गेनिङ गरेको जाती मान्दिनँ । भोलि बिहान पाँच लाख लिएर आउनुहोला ।’

ठीकै हो देश रमाइलो छ । गोकुल बास्कोटाको अनुहारजस्तो रमाइलो । म अनुतर्फ फर्किएर हेर्छुँ । ऊ मोबाइलबाट आँखा हटाएर मतर्फ फर्किन्छे । कति निर्दोष छ त्यो अनुहार । यसले मलाई बिर्सिदिए हुन्थ्यो । मन कुँडिएर आउँछ । म मोबाइलतर्फ आँखा कुदाउँछु ।

‘अपराधीलाई समात् भनेर आन्दोलन गर्नुपर्ने कस्तो देश हो यो ? पीडितलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्ने, अपराधलाई राजनीतिकरण गरेर फाइदा लिने नागरिक भएको देशमा योभन्दा कस्तो सरकारको अपेक्षा गर्नु ! केपी ओलीभन्दा राम्रो शासक पाउने हाम्रो हैसियत होइन।’ यो म्यासेजसँगै छन् केही अश्लील गाली । ती गाली यहाँ उल्लेख नगरौँ । बाङ्देलजी अलि पहिले चाहिँ शान्त हुनुहुन्थेन । उहाँलाई देशको अवस्था देखेर रिस उठ्थ्यो ।

‘हामी गर्व पनि के कस्ता पात कुरामा गरिरहन्छौं । ढुङ्गा माटो नभएको देश कुन छ ? पात पतिंगर कसको देशमा छैन ? देश नभएको को छ ? झण्डा, राष्ट्रिय गान, राष्ट्रिय चिन्ह नभएको देश कुन छ ? देश भनेको कागतमा बनेको नक्शा मात्रै हो ? देशबाट पाउनुपर्ने सुविधा पाइएको छ ? रोजगारी छ ? बोल्न पाइएको छ ? छैन भने यो देश हो कि परदेश ?’ उहाँ भन्नुहुन्थ्यो ।

खाडीमा बेल्चा चलाएर, पसिना बगाएर नेपाल महान् भनेर कसरी भन्न सकेको ? जहाँ सडकमा व्यापार गरेर बस्नेमाथि दमन हुन्छ, देश चलाइने बालुवाटार नै बेच्नेहरु देशको अख्तियारी लिएर बस्छन् त्यही देश महान् ? अजित मिजार, नवराज बिक, अङ्गिरा पासी, शम्भु सदा, विजय चमारहरूको हत्या हुँदा हामी निदाएर बस्छौं । कोरोना महामारीमा भोकभोकै सोलुदेखि कैलालीसम्मको बाटो नाप्ने मजदुरका खुट्टा देखेर हाम्रो हृदय पग्लिदैन । ७५ हजार दैनिक खर्चमा विद्यासुन्दर शाक्य सोल्टीमा आइसोलेशनमा बसिरहँदा आइसोलेसन नपाएर सडकमै सूर्यबहादुर तामाङहरुको मृत्यु हुन्छ, हाम्रो मानवीयता जाग्दैन । लकडाउनले रोजगारी गुमाएर खुलामञ्चका पेटीमा भोकभोकै सुत्न बाध्य श्रमिकहरुलाई राहत वितरण त परको कुरा उल्टो काठमाडौंको सौन्दर्य बिग्रिएको, काठमाडौं मागी खानेको सहर होइन भनेर लाठी चार्ज हुन्छ, हामी चेतनाशून्य भएर बसिदिन्छौं ।

रोजगारी दिन नसक्ने सरकार देश खोज्दै सिमामा आएका नागरिकलाई पशुलाई भन्दा नीच व्यवहार गर्छ हामी अयोध्यापुरीको रामभजन गाएर बस्छौं । केपी ओली एण्ड कम्पनी मधेसी मरेर केही हुँदैन, ती दुईचार कुहिएका आँपका डल्ला त हुन् भन्छ त्यतिबेला हाम्रो राष्ट्रवाद जाग्दैन । लाखौं अवैध रकम माग गरेर रामजी रामहरूलाई परीक्षा हलबाटै निकालिन्छ हामी आँखामा पट्टी बाँधेर बसिदिन्छौं । भ्रष्टाचारमा चुर्लुम्मै डुबेर सरकार देशलाई ‘यतिकरण’, ‘ओम्नीकरण’ गर्छ हामी ओठमा ताल्चा झुण्डाएर हिंड्छौं । जनस्वस्थ्यमाथि मजाक गरेर स्वास्थ्य सामाग्री खरिदमा अर्बौं भ्रष्टाचार गर्ने सरकारसँग हामीलाई रिस उठ्दैन । तर जब कोही राष्ट्रवादको जोकर फ्याकेर लिम्पियाधुरा हाम्रो हो भन्छ हाम्रो छाती गर्वले फुलिहाल्छ । सगरमाथा घुम्न गएको एउटा भारतीय ठिटो आनन्दित भएर सगरमाथाको नाम बदलौं भन्छ हाम्रो राष्ट्रियता दुखिहाल्छ ।

बाङ्देलजीको कुरा ठीक हो यो बस्ने देशचाहिँ हैन । हामी रैती र यो देशको शासक उस्तै छौं । केमेस्ट्री मिलेको छ ।

खासमा देश ठीकठाक चलिरहेकै छ ।

ओलीले भने, ‘अंग्रेजी सिकेर आउनुस् प्रधानमन्त्री तपाईंलाई पक्का ।’ बामदेव तीन महिनादेखि तीस दिनमा अंग्रेजी फररको किताब पढेर बसेका छन् । माधव नेपाल कन्फ्युज छन् । बादल… मलाई बादलको अनुहार सम्झिन मन लाग्दैन ।

‘मलाई तपाईंलाई दिक्क लगाउने कुनै रहर हैन, तर नेपाल बस्ने देश चाहिं हैन देवव्रतजी !’

म फेरि बाङ्देलजीको यही म्यासेजमा पुगेर रोकिन्छु । उहाँको प्रोफाइल खोल्छु ।

प्रोफाइल श्रद्धाञ्जलीले भरिएको छ । उहाँको त म शव पनि हेर्न पाउँदिनँ । उहाँ नेपाल फर्किने र मैले नेपाल छाड्ने समय उस्तैउस्तै परेको छ । उहाँले नै गरिदिनुभएको हो सबै प्रोसेस । म उहाँकै देशमा जाँदैछु, उहाँकै कम्पनीमा काम गर्न जाँदैछु । उहाँसँग भेट्ने कत्रो रहर थियो । म उड्ने तीन दिनअघि उहाँ जानुभयो । उहाँ रहनुभएन । अब उहाँको ठाउँ पनि खाली भयो । म उहाँकै कम्पनीमा काम गर्न जाँदैछु । म पनि उहाँकै ठाउँमा रहेर काम गर्छु होला । बाङ्देलजी त फर्किनुभयो । म फर्किन्छु कि नाइँ ? मलाई थाहा छैन । तर बाङ्देलजीसँगका योजना क्षणभंगुर भए । म त उहाँको शव पनि देख्न नपाउने भएँ ।

ट्याक्सी आइपुग्छ । अनु लगेज घिसार्दै ट्याक्सीसम्म छाड्न आउँछे । म उसको निधारमा विस्तारै चुमिदिन्छु र ट्याक्सीमा बस्छु । अनु उदास छे, हात हल्लाइरहेकी छ । म घुम्तीले नछेकुन्जेल हेरिरहन्छु उसलाई । ट्याक्सीवाला रेडियो खोल्छ ।

रेडियोमा गीत बजिरहेको छ- ‘परदेशी परदेशी जाना नहीँ मुझे छोडके…’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment