Comments Add Comment

साहित्यमा पनि केन्द्र नै हाबी छ : गणेश लाठ

२६ फागुन, वीरगञ्ज । गणेश लाठ, वीरगञ्जको मारवाडी घरानामा जन्मेर नेपाली साहित्य लेखनमा लागेका व्यक्ति हुन् । उनी पेशागत रुपमा व्यापारी हुन् । तीन दशकअघि कराँतेका राम्रा खेलाडी पनि थिए । लेखन उनको रुचिको विषय हो । समाजका विसंगतिलाई साहित्यमार्फत दर्शाउँछन् । छिटपुट कविता लेख्छन् । बेलाबेलामा आर्थिक मुद्दामा लेखहरु पनि लेख्छन् ।

आठ वर्षदेखि पुस्तक लेखनमा लागेका उनको पहिलो पुस्तक, ‘अनुराधा भवन’ उपन्यास हो । मारवाडी समुदायको अन्तरकथा त्यसमा छ । दोस्रो, व्यंग्यात्मक कथा संग्रह ‘छमियाँ’ हो । जसमा नौवटा रोचक व्यंग्यात्मक कथा छन् । तेस्रो ‘अघटित’ व्यंग्यात्मक उपन्यास हो ।

उनको चौथो ‘क्षमादान’ हो । यो काल्पनिक उपन्यास हो । पाठकको हातमा भर्खर पुगेको छ । जनकपुरको पृष्ठभूमिबाट शुरु भएको कथा काठमाडौंमा गएर टुंगिन्छ । फरक–फरक धार र पृष्ठभूमिमा चारवटा पुस्तक तयार पारेका लाठसँग अनलाइनखबरकर्मी सुरेश बिडारीले गरेको कुराकानी :

व्यापार व्यवसायको बीचमा पुस्तक लेखनका लागि कसरी समय छुट्याउनुहुन्छ ?

व्यवसाय दिनरात गर्ने कुरा होइन । समय व्यवस्थापनको कुरा हो । कतिपय मानिस समय व्यवस्थापनको मामलामा, समयको हिसाब गर्नमा कमजोर छन् । वा समयलाई वास्ता गरेका हुँदैनन् । घण्टौं टीभी, मोबाइल, फेसबुकलगायत सामाजिक सञ्जालमा अल्झिएका हुन्छन् । त्यत्तिकै चिया पसल, चौतारामा गफ गरेर बसिदिन्छन् । समय व्यवस्थापनमा ध्यान दिएका हुँदैनन् ।

समयलाई मिलाउन सकियो भने गुणस्तरीय जीवन बिताउन सकिन्छ । परिवार, व्यवसाय, समाजलाई मात्र होइन, आफ्नो प्यासनलाई सजिलै समय दिन सकिन्छ ।
पुस्तक लेख्ने सन्दर्भ जो छ, सबैतिर दिने समयलाई थोरै थोरै कटौती गर्ने हो भने पुगिहाल्छ । दिनको एक पाना मात्रै लेख्नुभयो भने एक वर्षमा ३ सय ६५ पेज लेख्न सकिन्छ । काँटछाँट गरेर २ सय, २ सय ५० पेजको पुस्तक तयार हुन्छ । दिनको दुई घण्टा मात्रै समय दियो भने एक वर्षमा किताब तयार हुने भयो, अर्को एक वर्षमा कन्टेन्ट एडिटिङ, प्रुफ रिडिङ भइहाल्छ । बढी समय लागेपनि दुई वर्षमा किताब पाठकको हातमा पुग्छ ।

लेख्नका लागि त अरू साहित्यकारका पुस्तक पनि पढ्नुपर्छ होला नि त ?

लेखनमा मात्रै हैन, राम्रो फुटबल प्लेयर बन्ने हो भने आफूभन्दा राम्रा प्लेयरबाट सिक्नैपर्छ । किताब पठनका सन्दर्भमा फरक फरक लेखक, धार र देशका साहित्यकारका पुस्तक पढ्नैपर्छ । कुन देशमा कस्तो ट्रेन्ड चलिरहेको छ, कस्ता धारका लेखकले कस्तोे ठाउँ पाइरहेका छन् । त्यो बेग्लै कुरा हो । तर म पुराना भारतीय लेखकको पुस्तक पढ्छु । जसमध्ये धेरै दिवंगत भइसकेका छन् ।

नेपाली लेखक विश्वेश्वरप्रसाद कोइराला, ध्रुवचन्द्र गौतम, धनुषचन्द्र गौतम, शारदा शर्मा, कुमार नगरकोटीलाई पढिरहेको हुन्छु । भारतीय लेखकमा फणीश्वरनाथ रेणु, आचार्य चतुरसेन, राही मासुम रजा, अमिताभ दासजस्ता लेखक छन् । हालसालै नाम कमाएका जापानी राइटर मोरा कामी छन् । अफगानी राइटर खालिद हुसैनका दुईवटा किताब खुब महसुर छन् । कुनै नयाँ पुस्तक बजारमा आयो भने लिएर पढ्छु । निलम निहारिकाको ‘योगमाया’ पढें, चन्द्र बाँनियाको मदन पुरस्कार विजेता पुस्तक ‘महारानी’ पढें । यसरी म समय मिलाएर पढिरहेको हुन्छु ।

कहाँ गएर हामीले ‘रिजर्भ’ हुनुपर्छ भने सबैको आफ्नो भाव हुन्छ, सबैको आफ्नो महत्वाकांक्षा हुन्छ, सबैले आफ्नो दर्शन राख्न खोज्छन् । अरुबाट सिक्ने हो एउटा तहसम्म, तर पुस्तक लेख्ने बेलामा आफ्नै मौलिकता हुनुपर्छ ।

सपनामा पनि त्यही त देखिन्छ, जुन कुरा तपाईंको मानसपटलमा एक–दुई दिन अघि दौडिरहेको हुन्छ । फिक्सन (काल्पनिक) भनेको पनि त्यस्तै हो । नन फिक्सनमा नाम सही हुन्छ, घटनालाई मसालेदार बनाइन्छ । फिक्सनमा नाम फरक हुन्छ, घटनाहरू सही हुन्छन् ।

मार्केटमा के डिमाण्ड छ, त्यो भन्दा पनि म के दिन खोजेको छु, त्यसमा ध्यान दिनुपर्छ । व्यापार गर्नलाई अरु काम छ । किताबलाई मैले व्यापार मानेको छैन । म जे दिन खोजिरहेको छु, त्यसैमा केन्द्रित छ ।

तपाईका चारवटा पुस्तकले के दिन खोजेको हो ?

अनुराधा भवन : वीरगञ्ज पृष्ठभूमिका व्यापारिक घराना परिवारको कथा छ । नेपाली साहित्यमा पहाडको पीडा, गाउँको दलित, गरिबको पीडा पाइन्छ । जहाँ पीडा छ त्यसका कथा लेखिन्छ । कतारमा गएका कामदारका बारेमा लेखिन्छ । राणाकालीन शोषणको समयका कथा आएका छन् ।

मैले हेरें, व्यापारी समुदायलाई हेरिदिने, उनीहरूको कथा लेखिदिने कोही छैन । व्यापारी समुदायमा पनि पीडा हुन्छ । त्यहाँ सबै सुखी हुँदैनन्, पारिवारिक पीडा हुन्छ । संघर्षका कुरा हुन्छन् । त्यहाँ पनि दुर्घटना भइरहेको हुन्छ । त्यो कुरालाई अध्यात्म र दर्शनसँग जोडेर लेख्दा राम्रो हुन्छ भन्ने लाग्यो । जीवन एक यात्रा हो, संघर्ष गरेपछि, सत्यको बाटोमा हिँडेपछि समय लाग्छ तर ठीक ठाउँमा पुगिन्छ । प्रतिष्ठा आर्जन गर्नलाई धैर्यता चाहिन्छ, बाटो बिराउन हुँदैन । त्यो सन्देश त्यसमा छ ।

छमिया : छमियामा अधिकांश तराई पृष्ठभूमिका कथा छ । राजनीतिक विसंगति, सामाजिक असमानता, अन्धविश्वास, विकासको नाममा देखिएको नौंटंकी । यावत कुरा कथामा समेटिएका छन् । सबै व्यंग्यात्मक छन् । हसाउने भरपुर प्रयास गरिएको छ । नगरपालिका, नगरपालिकाको अर्थ के हो भने नगर्ने पालिका, उपमहानगरपालिका भयो । महानगरपालिका भयो । महा नगर । झनै नगर्ने । शब्दले अर्को अर्थ दिएर व्यंग्यात्मक बनाउन खोजिएको छ । बाँदर, भैंसीको कथा त्यसमा छ ।

अघटित : अलि फरक धारको कृति हो । एकदम नौलो प्रस्तुति । कोरोना महामारीले खासै चर्चामा आउन पाएन । मलाई खुब विश्वास छ, यो किताब राम्रो पाठकको हातमा पुग्यो भने उचित मूल्यांकन हुनेछ । हुन त चितवन साहित्य परिषद (चिसाप) बाट पुरस्कृत भइसकेको छ ।

अघटित उपन्यास, मंगु र मल्ली, फोहोरमा मोहोर खोज्ने जोडीको जीवनीबाट शुरु हुन्छ । यसमा सुरिनाम बताभिया, नेपालभन्दा साह्रै सानो देश, भौगोलिक र क्षेत्रफलको हिसाबले नेपाल जस्तै । ३३ प्रतिशत यतैतिरका मानिसहरू, भारतीय मूलका हिन्दूहरू, नेपाली पनि धेरै छन् । कवाड संकलन गरेर बेच्नेको कथा छ, जो बागमतीको किनारमा झुत्रो घरमा बस्छन् ।

२० वर्षपछिको नेपाल कल्पना गरिएको छ । विकास खुब भएको छ, तर खासखास ठाउँमा मात्रै । बाँकी ठाउँमा धेरै बिग्रिएको छ । त्यसलाई देखाउन खोजिएको छ ।
क्षमादान : जनकपुर पृष्ठभूमिको कथा हो । एउटा यस्तो परिवार, भारतबाट सिरहा पस्यो, सिरहाबाट जनकपुर आयो । जनकपुरबाट काठमाडौं स¥यो । त्यो क्रममा धेरै गुमायो, धेरै पायो पनि ।

अर्को एउटा परिवारको कथा छ, राजनीतिक पृष्ठभूमिको । भूमिगत राजनीतिमा होमिएको, ज्यान जोगाउन छोरीलाई विदेश पठाउँछन् । पठनपाठन उतै हुन्छ । श्रीमती दोहोरो युद्धमा मारिन्छिन् । सिद्धान्तनिष्ठ व्यक्ति । छोरीलाई भित्रिन मन हुँदैन, बाउलाई छोरीलाई नेपाल ल्याउने मन हुन्छ । बाउछोरीको अन्तद्र्वन्द्व छ । प्रेम छ, धोका छ, मित्रहरूको मिलन छ । विछोड छ ।

पुस्तकमा काल्पनिक भनिन्छ तर समाजकै कुराहरू प्रतिविम्बित हुन्छन् । तपाईले अघटित पुस्तकमा उल्लेखित कालखण्ड, नाम, चरित्र, स्थान र घटना काल्पनिक हुन्, कुनैपनि जीवित अथवा मृत व्यक्ति, घटना वा स्थानसित सम्बन्ध छैन भनी उल्लेख गर्नुभएको छ । किन ?

उपन्यास, कथा, व्यंग्य जे नाम दिएपनि ९० प्रतिशत भएकै कुरा हुन्छन्, त्यसलाई रोचक बनाउन, तारतम्य मिलाउन केही कल्पना गरिन्छ । तर कल्पना आफैंमा केही हुँदैन, जबसम्म त्यो घटनासँग तपाईको मानसपटल जोडिएको हुँदैन ।

सपनामा पनि त्यही त देखिन्छ, जुन कुरा तपाईको मानसपटलमा एक दुई दिनअघि दौडिरहेको हुन्छ । फिक्सन (काल्पनिक) भनेको पनि त्यस्तै हो । फिक्सन र नन फिक्सनमा के फरक छ भने नन फिक्सनमा नाम सही हुन्छ, घटनालाई मसालेदार बनाइन्छ । फिक्सन ठीक उल्टो छ । नाम फरक हुन्छ, घटनाहरु सही हुन्छ । यद्यपि घटनाहरू एउटै मानिसको हुँदैन । अनेक मानिसको घटनालाई सूत्रबद्ध गरिन्छ । क्षमदानमा हरेक खालका मानिसले आफूलाई पाउन सक्छन् । किताबको सुन्दरता पनि त्यही हो ।

वीरगञ्जको साहित्यलाई कसरी हेर्नुभएको छ ?

वीरगञ्जले थुप्रै नाम चलेका साहित्यकार जन्माएको छ । तर पछिल्ला दिनमा वीरगञ्जमा खासै साहित्यिक गतिविधि हुँदैन । साहित्यिक माहोल नहुँदा प्रतिभाहरू ओझेलमा छन् । साहित्यमा लागेका मानिसलाई वीरगञ्जमा स्थान छैन । खासगरी वीरगञ्ज व्यापारिक शहर हो । व्यापार व्यवसाय गर्नेको इज्जत छ । तपाई गाडी चढ्नुस्, व्यापार गर्नुस्, बैंक व्यालेन्स राख्नुस्, तपाई प्रतिष्ठित बन्नुहुन्छ ।

कपडाको झोला बोकेर साहित्यकार छु भन्नुहुन्छ भने मानिसले ‘यो पागल भइसकेको छ’ भन्छन् । त्यसरी घर पनि त चल्दैन । दुईवटै बीचमा सन्तुलन मिलाउनु नै कला हो । वीरगञ्जमा त्यस्तै गर्नुपर्छ । व्यापार मात्रै गर्दा त मेसिन भइन्छ । साहित्य मात्रै हैन, खेलकुदमा पनि त्यस्तै छ । अतिरिक्त क्रियाकलाप नै कम हुने गरेको छ । आर्थिक गतिविधिबाहेक अन्य गतिविधि शून्य प्रायः छ ।

वीरगञ्जमा मात्रै हैन, धेरै शहरहरुमा यस्तो अवस्था छ । भारतको कानपुर उत्तरप्रदेशको सबैभन्दा धनाढ्य बस्ने शहर हो । यसलाई जीवन्त राख्न प्रत्येक व्यक्तिले थोरैथोरै भूमिका खेल्न सक्छ । धेरै समय बर्बाद गर्न पर्दैन । तर सकिन्छ ।

वीरगञ्जमा भोजपुरी प्रतिष्ठान गठन भएको छ । उमाशंकर द्विवेदी अध्यक्ष हुनुहुन्छ । महानगरपालिकाले जग्गा दिएको छ । भवन बन्दैछ । साहित्यले जग पाएको छ । पहिला नारायणी वांगमय थियो, वीरगञ्ज साहित्य परिषद् (विषाप ), गण्डकी प्रवाह थियो, हरायो । अहिले पनि प्रभात काव्य यात्रा नियमित छ । जुन पहिचान पाउनुपर्ने, चर्चा पाउनुपर्ने त्यो पाएको छैन ।

लक्ष्मी साहित्य समाज छ, आफ्नो हिसाबले चलिरहेको छ । मेरो चर्चा बाक्लो बाक्लो किताब निकालेर भयो । सानोतिनो कथा, लेख लेख्ने थुप्रै छन् । गोपाल अश्कको चर्चा हुँदैन, जबकी उनका २० भन्दा बढी किताब निस्किसकेका छन् । भोजपुरी, हिन्दी, अंग्रेजी अनुवाद साहित्यमा त्यतिकै लागिपरेका छन् । मुकुन्द आचार्य वीरगञ्जबाट काठमाडौं सरेर गए । उनको भोजपुरी साहित्यमा ठूलो योगदान छ ।

भोजपुरी साहित्यका भीष्म पितामह भनिने दीपनारायण मिश्र, धनुषचन्द्र गौतम मरेर गए । ध्रुवचन्द्र गौतम त लेख्दैछन् । विमल निभा, निर्मोही व्यास वीरगञ्ज पृष्ठभूमिकै हुन् । धमेन्द्र भट्टराई छन्, उमेरको हिसाबले पनि होला उनीहरुको चर्चा घटेको छ । उनीहरुले वीरगञ्जलाई उजागर गरेकै हुन् । गिरिश गिरीले ‘वीरगञ्ज’ किताब लेखेर राम्रै चर्चा बटुले । तर वीरगञ्जबासीले चिनेनौं, स्थान दिन सकेनौं ।

भाषा, कला साहित्यलाई हामीले नै महत्व दिन सकेनौं । मानिसमा ‘जज्बा’ छ । ऋतुराज, रितेश त्रिपाठी, अनिता साह, अजमत अली, डाक्टर विश्वम्भर शर्मा लागिरहेका छन् ।
एउटा कुरा के छ भने केन्द्रबाट हामी साहित्यमा पनि कहीं न कहीं डोमिनेटेड छौं । साहित्यमा राजधानी यत्ति हाबी छ कि, राजधानीमा गएर तपाईं एउटा सानो कविता सुनाइदिनुस्, देशभरि चर्चा हुन्छ । वीरगञ्जमा बसेर पूरा कथा सुनाउनुस् कतै चर्चा हुँदैन ।

अर्को कुरा, हामीले आफ्नो माग गराउन सकेका छैनौं । एउटा त हीन भावनाबाट ग्रसित छौं, आत्मविश्वासको कमी छ । केन्द्रमा बसेकाहरूलाई के लाग्छ भने हामी नै छौं, जे छौं । क्षेत्रीयहरू खासै केही छैनन् । त्यो मनोविज्ञान उनीहरू आफैंले हटाउँदैनन, हामीले नै हटाइदिनुपर्छ ।

अहिले त पहिला जस्तो पुस्तक ननिकालेसम्म साहित्यकारलाई नचिन्ने अवस्था छैन । प्रविधिले सहज बनाइसकेको छ । युग सुहाउँदो प्रविधिको उपयोगमा वीरगञ्जका लेखक–साहित्यकारहरू चुकेका हुन् कि ?

हरेक कुराको लागत हुन्छ, म अलि सम्पन्न छु, प्रकाशकले नसकेको ठाउँमा सहयोग गर्छु । सबैले सक्दैनन नि । कति जनाको त प्रकाशकसम्म पहुँच पनि छैन । बजारमा बेचेर दुई पैसा उठ्छ भन्ने लाग्यो भने पो प्रकाशकले पुस्तक छाप्ने हो । माया गरेर अनुदानको रूपमा कसरी छाप्छन् ? वर्षमा एक दुईवटा छाप्न सकिएला । वीरगञ्जमा त्यस्तो सेवा प्रवाह गर्नेहरूको खडेरी छ ।

युट्युबकै कुरा गर्ने हो भने भारततिर थुप्रै भेटिन्छन् । गुगलमा खोज्ने हो भने हजारौं भेटिन्छ । वीरगञ्जमा खोज्नुपर्छ । फेसबुक पेज बुष्ट गर्न पनि मान्छे खोज्न समय लाग्छ । क्रमशः यसमा युवा पुस्ताको टिम उदाउँदैछन् । राइटिङ मिडियाभन्दा, अडियो, भिडियो मिडियामा आउन थालेका छन् ।

हामीले त्यो मामिलामा त सोचेकै छैनौं । जुन किताब हार्डकपीमा हेर्नुहुन्छ, भारततिर त डिजिटल फम्र्याटमा आइसकेको छ । संसारभरि नै त्यस्तै छ । त्यो दुनियाँमा पुग्न समय लाग्छ । जुन देशमा छौं । त्यसको पनि सीमा छ । आफ्नो स्याटेलाइट छैन । मोबाइल चलाउँदा त ह्याङ हुन्छ । ल्यापटप चलाउँदा झनै समस्या छ । यस्ता कुराले पनि अन्य विकासजस्तै साहित्यमा पनि प्रभाव पार्छ ।

नेपालको साहित्य कुन स्थानमा देख्नुहुन्छ ?

केही लेखकका धेरै राम्रा पुस्तक छन् । विश्वस्तरमै नाम कमाउनुपर्ने खालका । हामीले नै प्रचार गर्न सकेनौं । विश्वेश्वरप्रसाद कोइरालाका सबै किताब विश्वस्तरका छन् । सामग्रीको ग्राभिटी (गुरुत्वाकर्षण) प्रेमचन्दको भन्दा कमजोर छैन । केही लेखकले समयको माग अनुसार ढाल्न खोजेका पनि छन् ।

तर नेपालको साहित्य दमदार छ । नेपाली साहित्यलाई अनुवादमार्फत निर्यात गर्न सक्छौं । व्यावसायिक हिसाबले जानुपर्छ । विदेशका प्रकाशकसँग सहकार्य, साझेदारी गर्नुपर्छ । त्यसका लागि पहुँच पुगेको छैन । माहोल बनाउन सकेका छैनौं । साहित्यिक महोत्सवले सहयोग गर्नसक्छ । हाम्रा प्रकाशकहरू विदेशतिर जाउन्, विदेशका प्रकाशकहरू नेपाल आउन् । र पो नेपाली साहित्यको विश्वव्यापीकरण हुन्छ ।

केन्द्रबाट हामी साहित्यमा पनि कहीं न कहीं डोमिनेटेड छौं । साहित्यमा राजधानी यत्ति हाबी छ कि, त्यहाँ गएर तपाई एउटा सानो कविता सुनाइदिनुस, देशभरि चर्चा हुन्छ । वीरगञ्जमा बसेर पूरा कथा सुनाइदिनुस कतै चर्चा हुँदैन ।

तसलिमा नसरिन, प्रेमचन्दको नेपाली भाषामा किताब पाइन्छ । तर विश्वेश्वरप्रसाद कोइरालाको हिन्दी अनुवाद भएको छैन । भारतमा सवा सय करोडको बजार छ । प्रयास गर्दा हुन्छ । नेपाली भाषा बाहिर आउनुपर्छ । पहिले नेपालीमा छापौं, विश्व बजारमा ठाउँ चाहिन्छ भने त्यहाँको भाषामा पुस्तक आउनुपर्छ ।

पठन संस्कृति घट्दै गएको छ भनिन्छ, तपाईलाई के लाग्छ ?

पढ्ने मानिस निःसन्देह नै घटेका छन् । हामी साहित्य सिर्जना गर्नेहरूले प्रविधिको सहयोग किन लिँदैनौं । पढ्ने रुचि कम हुने केही कारण होलान् । समय नहोला । अडियोमा साहित्यलाई लैजान सक्छौं ।

यट्युबमा आधा घण्टा, १५ मिनेट, १० मिनेटको सर्ट मुभी हेर्न सक्नुहुन्छ । त्यो साहित्य नै हो । त्यो बनाउनु अघि स्क्रिप्ट बनाएकै होला । त्यसपछि न सुटिङ हुन्छ । साहित्य पनि त्यही बाटोमा जानुको विकल्प छैन । मान्छेको ढोकामा साहित्य पुर्‍याउनुछ भने जमानाअनुसार हिँड्नैपर्छ ।

अन्त्यमा के भन्नु हुन्छ ?

दशैं, दीपावली, होलीको बेलामा कसैलाई गुलियो वा रक्सीको बट्टा गर्नुहुन्छ, नयाँ वर्ष, वैवाहिक वर्षगाँठ वा जन्मदिनको केही गिफ्ट गर्नुहुन्छ होला । त्यो परम्परा खराब भन्न खोजेको होइन । पुस्तक उपहार दिने बानी बसाल्नुस् । छोराछोरीलाई राम्रो पुस्तक उपहार दिने प्रयास गर्नुस् ।

एउटा आत्मकथा पढेको थिएँ, बाउले किताब उपहार दिने, छोरी अरु सामान माग्ने । बाउ छोरी दुवै जिद्दी । छोरीले हार खाएर किताब पढ्न शुरु गरिन् । पछि उनी चर्चित लेखिका बनिन् । समाजमा नयाँ संस्कार, राम्रो संस्कार दिन चाहन्छौं भने त्यो माध्यम किताब बन्न सक्छ । शुरुवात आफैंले गरौं । उपहारमा किताब दिने गरौं । सय जनालाई दिँदा दुई जनाले मात्रै भएपनि पढ्छन् नि ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment