+
+
Shares

एउटा नायक उज्यालोको स्वागतार्थ

अर्को कविता ‘पृथ्वीको संकल्प’ मा पनि सशक्त विद्रोह छ । जागरणको ददीप्यमान ज्योति बाल्नका निम्ति एउटै सपूतको विद्रोह काफी हुने कविको मत छ ।

राजकुमार बानियाँ राजकुमार बानियाँ
२०८२ असार २१ गते १०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैकुण्ठ धामको सौन्दर्यले कवि युवराज अधिकारीलाई प्रेरित गरेको छ।
  • उनले प्राकृतिक र जीवनबोधका विषयमा कविता लेखेका छन्।
  • संग्रहले नेपाली कविता परम्पराको निरन्तरता देखाउँछ।

वैकुण्ठ धाम कस्तो छ, आफू पुगेको छैन, स्वर्गको ढोका खोलेका कोही प्रियजन फर्केर आएको छैन । तर इलामको दिव्य सौन्दर्यपान गरिहेर्दा वैकुण्ठानुभूति वा स्वर्गानुभूति जस्तो केही पक्कै गराउँछ । त्यहाँका चिरजीवी झुल्के घाम, हरियो चियाबारी, बादलको लुकामारी, नदीहरूको नेरोघेरोको शानदार विम्ब मानसपटलमा सलबलाइरहन्छन् र फेरि पुग्ने उत्कण्ठा जगाइदिन्छन्।

नवीनतम कवितासंग्रह ‘युद्ध युद्ध नै हुन्छ’ का सर्जक युवराज अधिकारीलाई पनि पहाडकी महारानी इलामले नै कवि बनाएको रहेछ । उनका कवितामा रुमल्लिँदा करफोकका धुपीका गुच्छाहरू, आइतबारेका चियाका बुटाहरू, लकाली भाकाहरू अनि कञ्चनजंघा हिमालको सुमधुर सुसेलीसँग पुनः साक्षात्कार भयो । इलामबाहिरका मानिसको के कुरा, इलामकै आइतबारे जन्मभूमि भएका युवराज नै इलामका मनोरम छवि र छटासँग अघाएका रहेनछन् ।

हुनलाई युवराज अधिकारी पुरानै कवि एवं गीतकार हुन् । १५–१६ वर्षको स्कुले जीवनमै ‘मेरा चीत्कारहरू’ कवितासंग्रह (२०३५) र ‘देउरालीको फूल’ गीति एलबम प्रकाशित गरेका उनी ४७ वर्षको अन्तरालमा फेरि कवि परिचय नवीकरण गर्न आइपुगेका छन् । शिक्षा, पेसा, परिवार आदि सुसेधन्दाका कारण लामो समय काठमाडौं खाल्डोमा हराएका उनको इलामप्रतिको मुग्धोक्ति व्याख्यातीत छ । त्यसमा इलामे माटोको अनन्त सुवास मगमगाएको छ ।

युवराजले आम कविले जस्तै मनका सुकोमल भावना, कल्पना र अनुभूतिलाई कविताका रूपमा पोखेका छन् । यी कविताको सरलताभित्र गहनता छ र गहनताभित्र सरलता । उनीभित्रको कविहृदय सुललित भाषिक प्रवाहमार्फत पाठकको मन, मस्तिस्क र धुकधुकीलाई उद्वेलित गराउन सक्षम देखिएको छ । संग्रहका ३३ कवितामा प्राकृतिक सौन्दर्य, अतीतदंश, जीवनबोध, युगबोध, युवा पलायन, देशप्रेम, राष्ट्रियता अनि जीवन र जगत्‌को सुन्दर भावाभिव्यक्ति छन् ।

संग्रहको शीर्ष कविता ‘युद्ध युद्ध नै हुन्छ’ सर्सती हेर्दा युद्ध विभीषिकाको वर्णनजस्तो लाग्छ । तर यस कवितामा तरबार, बम र गोलाबारुदले लडिने युद्धभन्दा मन-मथिंगलको विद्रोह घातक हुने चुनौतीपूर्ण भाषाको प्रयोग छ । कविको विचारमा शासकवर्गले सर्वसाधारणका निरीह सपनाहरूलाई कुल्चेर अग्लो हुने कोसिस गरिरहे कुनै दिन रोदनहरूले समेत सिंहनाद गर्नेछन् र आँसुको ज्वालाले शासकवर्गको अज्ञानता र अत्याचारको भ्रामक महल चकनाचुर हुनेछन् । यहाँनेर विनाशकारी युद्धको दृष्टान्त दिँदै शोषण, दमन र उत्पीडनको अन्त्यका निम्ति जुट्न कविको खुला आह्वान छ ।

युद्धका अनेक अवतार हुन्छन् । त्यो भौतिक रूपमा हतियारले मात्र होइन, भावनात्मक र मानसिक रूपमा पनि लडिन्छ । त्यस्तो युद्ध वा विद्रोह झन् शक्तिशाली हुने कवि–मत छ । कविको हातमा बन्दुक छैन तर कलमको अदम्य शक्ति छ । उसले शब्दमार्फत नै भोक, रोग, शोकलगायत मानवजनित सारा युद्ध लड्छ र परास्त गर्न खोज्छ । उसको शब्द बन्दुक र बमभन्दा कम पड्किँदैनन् । यसमा कविको युद्धबोध गहन लाग्छ ।

कवि जहिले पनि जहाँ पनि शान्तिदूत हो । कविको अधिकतम खोज भनेकै शान्ति, सद्भाव, भातृत्व, न्याय, स्वतन्त्रता र मानवता हो । यी यावत् कुरा भन्न युवराजले चेतन-प्रवाह शैलीको प्रयोग गरेका छन् । उनले मनभरि दौडेका भावलहरहरूलाई बिना काँटछाँट कविताको रूप दिएका छन् । स्वप्न र दुस्वप्नमा अल्झिएर बसेको वर्तमानलाई काव्यिक चेतनाका साथ सम्बोधन गरेका छन् । यस्तो लाग्छ, एउटा कुशल कविले सामान्य विषयलाई पनि विशिष्ट बनाउने क्षमता राख्दछ ।

अर्को कविता ‘पृथ्वीको संकल्प’ मा पनि सशक्त विद्रोह छ । जागरणको ददीप्यमान ज्योति बाल्नका निम्ति एउटै सपूतको विद्रोह काफी हुने कविको मत छ । कवि भौतिकभन्दा पनि ज्यादा आत्मीक विद्रोहको पक्षमा छन् । कवि उद्घोष गर्छन्‌— एउटै आँधी काफी छ, एउटै हुरी काफी छ, पृथ्वीको एउटै संकल्प काफी छ । यहाँनेर प्राकृतिक विम्ब आँधी, हुरी र पृथ्वीको मानवीकरण गर्दै सत्ताको उन्मादविरुद्ध प्रतिरोध गर्न खोजिएको छ ।

आम नागरिकको दुःख, दर्द र पीडादायी चित्रण हेर्दा यी कविता निराशावादीजस्तो सुनिएलान् तर कविको स्वर मूलतः आशावादी नै छ । तसर्थ उनका कविता आशा र प्रतिरोध समानान्तर रेखामा छन् । कवि घात र प्रतिघातहरूलाई छलेर मुस्कुराइरहेको सुनाखरी देखेर कवि प्रेमको गीत गाउँछन् । ‘हो, ऊ आउनेछ’, ‘जिन्दावाद र मुर्दावादको सहरमा कोही आउनेछ’ को भावपुञ्ज मिल्दोजुल्दो छ । कवि युगकवि गोपालप्रसाद रिमालको अमर कविता ‘आमाको सपना’ मा जस्तै एउटा जिउँदो नायक, उज्यालो बिहानी वा परिवर्तनको स्वागतार्थ उभिएका छन् ।

हुन त युवराज अधिकारीको कविता नितान्त निजी र स्वकीय अनुभूति हो । तर यसमा कठिन समय र परिस्थितिसँग जुध्न विवश आम नागरिकको साझा अभिलाषा नै प्रतिविम्बित छ । अझ भन्ने हो भने भावना, अनुभूति र दार्शनिक गहिराइको विस्तृत शृंखलालाई समेटेको छ । देशको राजनीतिक र सामाजिक पतनका प्रसंगमा कवि आलोचक हुलियामा पनि देखिएका छन् । तर यिनले होहल्ला गर्दैनन् बरु टड्कारो सुनिन्छन् । उनका कवितामा अन्तर्निहित राष्ट्रियता, प्रेम, विद्रोह, करुणा र आशाको ‘इपिसेन्टर’ अन्ततः सार्वभौम मानवतावाद नै हो ।

यी कवि एकल विषयवस्तुमात्र फलाक्दैनन्, बहुमुखी विषय समात्छन् । ‘आमा’, ‘जन्मस्थान’, ‘मेरो प्रिय फुच्चे’ लगायत कविता कविभित्रको काव्यिक तरलता र उच्च संवेदनाको पराकाष्ठा हो । यी कवितामार्फत उसको थप व्यक्तिगत र अन्तरंग चिनारी पाठकसामु अझ छर्लंग भएर आउँछ । जीवनको अनिश्चितता देखेर कवि खेद मान्छन् । दिवंगत आमाप्रति श्रद्धाञ्जलिस्वरुप कविता लेखेका उनी अमुक पशुको मृत्युमा पनि बेस्सरी कहालिएका छन् । मातृभूमिप्रति कविको अगाध प्रेम, श्रद्धा र सम्मान छ । आमाहरूका त्याग, संघर्ष र महानताप्रति कवि नतमस्तक छन् ।

डुब्न लागेको सूर्यलाई देखेर
कैयन्‌ले ढोकाको गजबार लगाउँछन्‌
तर कैयन् आमाहरू
सन्ध्याको आरती गर्छन्‌
किनकि आमाहरूलाई थाहा छ,
भोलि फेरि सूर्य उदाउने छ ।

यस संग्रहका कविताले पाठकलाई बौद्धिकताको बोझ थोपर्नेभन्दा पनि बोलीचालीको भाषा पक्डन्छन् र भन्छन्‌– जिन्दगी यस्तै त हो कान्छा… । उनी जिन्दगीलाई अन्त्यहीन संघर्ष मान्छन् । अझ ‘तिमी तिमीजस्तै हुनू, म पनि आफूजस्तै हुन्छु’ भन्ने कवितापंक्तिमा गहिरो जीवनबोध छ । कवि उचाइ र धूलोको नाता खुट्याउँछन् । परदेशबाट बाकसमा आएका अनि घरदेशमा रोग र भोकसित हारेका मानिसप्रति कविको गहिरो सहानुभूति छ । उनी सगरमाथाभन्दा अग्लो को जन्मिएछ नेपालमा भनेर झटारो हान्छन् । अर्को शब्दमा भन्दा युवराज अधिकारीको काव्यदृष्टिमार्फत युगीन यथार्थसँग नै साक्षात्कार हुन्छ ।

कविता संग्रहमा तुलसी दिवस, दिनेश अधिकारी, विश्वविमोहन श्रेष्ठ, तुलसी भट्टराई, प्रकाश सायमि आदि कविहरूको प्रशस्ति समेटिएको छ । दिवसले लेखेका छन्, ‘यी कविता बोलेका मात्र छैनन्, प्रतिध्वनित भएका छन् । कवितामा भाव मात्र अवस्थित छैनन्, तिनीहरू ज्युँदा छन्, सास फेर्छन् र पाठकलाई सान्त्वना, प्रेरणा र आनन्द दिँदै भाषाको असीम शक्तिद्वारा अनुस्मारक प्रदान गर्छन् । यी कविताले काव्यिक मिठासद्वारा पाठकलाई लट्ठ बनाउने सामर्थ्य राखेका छन् ।’

‘युद्ध युद्ध नै हुन्छ’ कविले विभिन्न समयमा लेखेका कविताको संकलन भएकाले यसमा पूर्ववर्ती नेपाली कविता परम्पराको निरन्तरता छ । कतिपय कवितामा कविकै भाव र अर्थहरू दोहोरिन र सीमित हुन गएका छन् । साथै विम्ब मलिनताको दोष पनि नभएको होइन । कथ्यलाई सघन बनाउन प्रयोग हुने विम्ब सटीक र प्रभावी नभए पाठक वा श्रोताको मस्तिष्कमा अमिट छाप पार्न सकिंदैन । यो दोष यस संग्रहको मात्र नभएर अहिलेका कैयन् कवितामा विद्यमान छ । भाषामा अस्पष्टता, अनुभवको काँचोपन, कमजोर कल्पना र अत्यधिक विवरणले कविताको धरातल कमजोर बनाइदिन्छ ।

संग्रहमा सबै कविताको कदकाँठी एकै स्तरको छैन । कोही पनि कविले आफ्‌नै ‘क्लोन’ गरेर कविता लेख्दैन । यी कविता विभिन्न कालखण्डमा रचना भएकाले कोही सामान्य छन्, कोही विशिष्ट । कोही औसत छन्, कोही अब्बल । यिनमा कविमनको कोमलतम भाव सरल तर हृदयस्पर्शी छन् । उनी लामाभन्दा मुक्तक स्तरका छोटा कवितामा सफल लाग्छन् ।

स्थुल वा सूक्ष्म, एकदेशीय वा सार्वदेशीय, समकालीन वा सार्वकालिक कस्तो कविता लेख्ने, कवि स्वयंको छनोट हो । कटुता, फलाको र गर्जनसँग विशेष दूरी बनाएर कविले आफ्‌नो मनोद्वेगलाई कविताको सुकिला पंक्तिमा जोडेका छन् । नत्र ४७ वर्षपछि यी कविताको मिठास यथावत् रहन सक्दैनथ्यो, सप्रेम रसास्वादन गर्न सकिँदैनथ्यो । अब प्रश्न उठ्न सक्छ, नवीन चेतना, सौन्दर्य प्रवाह, कविताको मर्म आदि कविताको मानकमा यो संग्रह कहाँ पर्छ त ? निश्चिन्त भएर भन्न सकिन्छ— यसले सरदर नेपाली कविताकै सकल अनुहार देखाएको छ ।

लेखक
राजकुमार बानियाँ

बानियाँ लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?