
News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्गीत तथ्याङ्क र श्रोताको रुचि सम्बन्धी जानकारीको अभाव छ भने नेपाली र विश्वसङ्गीतको विविधता र प्रवृत्तिहरू चर्चा गरिन्छ।
- सर्जक दुर्गेश थापाको लोकप्रियता र शैलीको चर्चा गर्दै, उनका फ्यान र आलोचकबीच मतभिन्नता देखिन्छ।
- सङ्गीतले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणहरू र नेपालमा यसको व्यावसायिक प्रयोगको अवस्था उल्लेख गरिन्छ।
हरेक अङ्ग्रेजी वर्षको अन्त्यमा म्युजिक स्ट्रिमिङ प्लेटफर्महरूले वर्षभर सुनेका सामग्रीहरूको विभिन्न तथ्यांक उपलब्ध गराउने गर्छ । स्पोटीफाई र्याप्ड, एप्पल म्युजिक रिप्ले, युट्युब रिक्याप, माइ डिजर इयर आदि उदाहरण हुन् ।
संगीत पारखीका लागि त्यो समय विशेष हुन्छ । किनकि आफूले कति गीत सुनिएछ ? सबैभन्दा बढी कसलाई सुनिएछ ? कुन विधा बढी सुनिएछ ? जस्ता आफूसँग सम्बन्धित तथ्यांकहरू हेर्न सकिन्छ ।
त्यस्तो तथ्यांकलाई एक-अर्का प्रयोगकर्तामाँझ शेयर गर्न नेपाल नामक सबरेडिट कम्प्युनिटीले एउटा मेघाथ्रेट नै बनाउने गर्छ । जहाँ कमेन्ट गरिएका स्क्रिनसटहरूमा घण्टौं घण्टा संगीत सुनेको तथ्यांक देख्न पाइन्छ ।
तर ती मध्ये धेरैमा अङ्ग्रेजी गीतको बाहुल्यता देखिन्छ । इन्टरनेट र प्रविधिमा पहुँच, भाषा सिक्ने रुचि, गहिरो भावनात्मक अभिव्यक्ति, सांगितिक गुणस्तर आदि त्यसको कारण हुन सक्छन् ।
विश्वभर करिब आधा अर्बभन्दा बढी प्रयोगकर्ता रहेको रेडिटका ४० प्रतिशत प्रयोगकर्ता १८ देखि २९ वर्ष उमेर समूहका छन् । ठ्याक्कै तथ्यांक छैन । तर, नेपाली रेडिट प्रयोगकर्ताहरू पनि सोही उमेर बराबर भएको अनुमान गर्न सकिन्छ ।
सो उमेर समूहका नेपाली श्रोताहरूले कस्तो प्रकारको संगीत सुनिरहेका छन् भन्ने आधारका लागि मात्र रेडिट चर्चा गरिएको हो । जनसांख्यिकी रूपमा संगीत श्रोताको तथ्यांक नहुनु रेडिट चर्चा नतिजा हो ।
खैर, जेनजी पुस्ताले नेपालीबाहेक अन्य भाषी गीतहरू बढी सुनिरहेकामा कुनै दोधार हुनुपर्दैन ।
तर कुन-कुन देशका सुनिरहेका छन् ? कस्तो विधाको सुनिरहेका छन् ? कुन शैलीका सुनिरहेका छन् ? यिनको उत्तर तथ्यांक अभावमा नै अड्केको छ ।
यद्यपि उल्लेखनीय संख्यामा केपप श्रोताहरू नेपालमा रहेको पाइन्छ । सामाजिक सञ्जालमा सक्रिय फ्यान पेज, डान्स कभर भिडियो, फ्यान इभेन्टले सो कुराको पुष्टि गर्छ । त्यसका साथै बिटिएस, ब्ल्याकपिङ्क आदिका पोस्टर, टिसर्ट, प्रिन्ट आदि बजारमा सजिलै पाइनुले पनि केपपको नेपालमा लोकप्रियता झल्काउँछ । तर यसमा पनि तथ्यांक कमी नै छ ।
मूलत: केपपका फ्यानहरूसँग कुराकानी गर्दा मनमोहक संगीत, ऊर्जा भरिएको नृत्य, स्टाइलिस प्रस्तुति र भावनात्मक रूपमा मन छुने गीतहरूले आफूलाई मोहित बनाउने सुनाउँछन् ।
त्यससँगै सर्जकहरूको जीवनशैली, विचार, सामाजिक व्यक्तित्वलाई पनि उनीहरू कारण मान्छन् । यसभन्दा पनि उनीहरू आफूलाई हौसला दिने, कठिन समयबाट बाहिर निकाल्ने, आत्म खोज गर्न प्रेरित गर्ने भएकाले केपप सुन्ने गरेको बताउँछन् ।
अब एकै क्षण उनीहरूको कुरा छाडेर नेपाली संगीतको चर्चा गरौं ।
।
तर प्रधानमन्त्रीबाटै सार्वजनिक रूपमा थापालाई बधाई दिनु लोक रिज्याईँबाहेक केही नभएको धेरैको बुझाइ छ । कारण युट्युबमा नेपाली गीतले २२ करोड बढी भ्युज पाइसकेका छन् । थापाको आँकडा कुनै कीर्तिमानी होइन ।
कुरा सर्जक थापाको आयो । अब उनको गीतको शैली र श्रोताबारे कुरा गरौं ।
सञ्जाललाई विश्वास गर्दा उनी अहिले चल्तीमा छन् । नाम र दाम दुवै कमाइरहेका छन् । तर उनको ‘सिर्जना’ले क्षणिक मनोरञ्जनबाहेक के दिइरहेको छ त ? प्रश्न आउँछ । उनका फ्यानलाई सुरुमा सतर्क गराइहालुँ, युट्युबमा राखेपछि कन्टेन्ट सार्वजनिक हुन्छ ।
सार्वजनिक काम र व्यक्तिमाथि टिप्पणी गर्न पाइन्छ । यहाँ थापा अथवा उनको सिर्जना राम्रो/नराम्रो भन्ने चर्चा होइन । त्यसको प्रभाव के भन्ने मात्र हो । र सर्जक थापा उस्तै शैलीमा संगीत गर्नेहरूको प्रतिनिधि पात्र हुन् ।
000
थापाको गीतले आफूलाई मानसिक तनाव सिवाय केही नदिने काठमाडौं बौद्ध बस्ने विवेक विष्ट सुनाउँछन् । थापाको सांगितिक यात्राको प्रशंसा गर्ने तर सिर्जनाको कहिल्यै गर्न नसक्ने विष्ट बताउँछन् । ‘मैले उनलाई सामाजिक सञ्जालमार्फत नै चिनेको हो । पहिलो पटक सुन्दा नै ‘इम्प्रेसन’ ठिक भएन । अहिले मलाई कुनै ठिक लाग्दैन,’ उनी भन्छन्।
तर थापालाई मन पराउने जमात पनि उत्तिकै छ । जो कुनै सांगितिक कार्यक्रममा बेफिक्री नाच्ने, उफ्रिने गर्छन् । तीमध्येका कञ्चनपुरका हरि जोशी एक हुन् ।
सामान्य कुराकानीमा पनि थापाका गीतका लाइहरू सुनाइरहने उनी आफूलाई उनको डाइ-हार्ट फ्यान मान्छन् । कारण भने थापाको बोल्ड व्यक्तित्व भएको उनको भनाइ छ ।
थापाको गीतलाई लिएर भिन्न मत राख्ने उनीहरू प्रतिनिधि हुन् ।
तर यो मतभेदलाई संगीत क्षेत्रका व्यक्तिहरूले भने नराम्रो मान्दैनन् । एउटा सांगितिक हिस्साका रूपमा अर्थ्याउँछन् । जुन राम्रो भए आफैं समाजमा घुलिन हुने र नराम्रो भए स्वत: हराउने तर्क गर्छन् ।
श्रोतामा देखिएको यो विभाजनबारे गायक शिव परियार भन्छन्, ‘समय र मानिसको स्वभाव कहिले पनि एकनास हुँदैन । यसकारण हरेक पुस्ताको रुचि स्वाभाविक रूपमा फरक फरक हुन्छ । तर संगीतले तत्कालीन समयलाई प्रतिविम्बित गरिरहेको हुन्छ’
संगीत मानव जीवनको हरेक पक्ष (खुसी, दुःख, सामाजिक सेवा, राष्ट्रिय भावना, रमाइलो, खेलकुद) मा उपस्थित हुने उनको बुझाइ छ । ‘गाउँ गाउँबाट उठ’ वा ‘लुट्न सके लुट’ जस्ता गीतहरू तत्कालीन सामाजिक/राजनीतिक परिवेशका उपज हुन्’ परियार भन्छन् ।
उनको निष्कर्ष छ – जे चल्छ, त्यसले वर्तमान समाजकै प्रतिबिम्ब गरिरहेको हुन्छ । यसमा प्रमुख समस्या भनेको समाजको ‘दोहोरो मापदण्ड’ हो ।
‘मानिसहरूलाई कुनै गीत मन परेन वा खराब लाग्छ, तर उनीहरू त्यही गीत हेरिरहन्छन्, त्यसको भ्यूज बढाउँछन्’ परियार भन्छन्, ‘सो कुराले सर्जकहरूलाई उस्तै प्रकारको काम गर्न प्रोत्साहन मिल्छ ।’ तर, यदि कुनै चीज साँच्चिकै खराब छ भने समाजले त्यसलाई निरुत्साहित सक्नुपर्ने उनको तर्क छ ।
त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका विभागीय प्रमुख प्रा.डा. धुर्वेशचन्द्र रेग्मीको बुझाइमा यस्ता प्रवृत्ति पहिले देखि नै थिए । सञ्चार क्रान्ति र डिजिटलाइजेसनका कारणले पहिलेदेखि चलेको यो प्रवृत्तिले अहिले तीव्रता मात्रै पाएका रेग्मी बताउँछन् ।
‘समाजले सधैँ सरल र जटिल नभएका कुराहरू खोज्ने गर्छ’ रेग्मी भन्छन्, ‘तडकभडक भएका गीतहरू हलुका, भड्किलो र आँखालाई राम्रो देखिने हुन्छन् । त्यसले श्रोतालाई आकर्षित गरेको हुन सक्छ।’
संगीत सिर्जनामा सीमा सिर्जना गर्न नहुने धारणा रेग्मीको पनि छ ।
सबै किसिमका संगीतलाई समान प्रोत्साहन दिनुपर्ने कुरामा विश्वास राख्ने उनले त्यस्ता गीतहरू पछाडिका तर्क र प्रयोग गरिएका तत्वहरूको भने अध्ययन गरिनु पर्ने सुनाउँछन्।
000
सानो भए पनि नेपालमा सांगितिक विविधता छ । जुन संगीत सिर्जना गर्नेदेखि सुन्नेसम्म नै पाइन्छ । फेरि संगीत यस्तो स्वतन्त्र र नितान्त फरक विषय हो, जसले गर्दा कसैलाई पनि करले केही गराउन सकिँदैन ।
अहिले नेपाली साहित्य, संगीत, कला जस्ता सिर्जनशील क्षेत्र संक्रमणकालीन र तरल अवस्थामा रहेको गायक शिव परियार देख्छन् । जसको कुनै निश्चित आकार छैन ।
यस्तोमा युट्युब जस्ता प्लेटफर्ममा निःशुल्क अपलोड हुने सामग्रीहरूले समाजलाई भ्रमित बनाउने गर्छ । त्यसमाथि कला र मनोरञ्जन बीचमा अस्पष्टता छाएको उनको धारणा छ ।
‘भ्रमित समाजले के चीज कला हो र के मनोरञ्जन हो भनेर बुझेका छैनन्’ गायक परियार भन्छन्, ‘कलामा साधना र अभ्यास चाहिन्छ । तर मनोरञ्जनका लागि त्यस्तो कडा प्रशिक्षण आवश्यक पर्दैन ।’
कला भित्र मनोरञ्जन हुन सक्छ, तर मनोरञ्जनभित्र कला हुनैपर्छ भन्ने जरुरी नभएको उनी बताउँछन् । सामाजिक सञ्जालमा मनोरञ्जन दिने धेरै प्रयोगकर्ताका फ्यान फलोअर्स बढेको देख्दा उनीहरूलाई पनि कलाकार नै ठान्ने प्रवृत्ति बढेको छ उनको भनाइ छ ।
त्यसले मनोरञ्जनका सही सामग्रीहरू आउन दिइरहेको छैन, जसले गर्दा समाज ‘वैकल्पिक मनोरञ्जन’ तर्फ गइरहेको छ । तर वैकल्पिक सामग्रीहरू दीर्घकालीन नहुने उनको ठम्याइ छ ।
त्यसमा प्रा.डा. रेग्मीको पनि समान धारणा छ । श्रोताले जहिल्यै पनि आफूले चाहेको मात्र संगीत सुन्ने रेग्मी बताउँछन् । उनको बुझाइमा चाहे शास्त्रीय होस्, लोक होस् वा आधुनिक होस्, वा विदेशी नै किन नहोस्, कुनै गीत श्रोताले सरल, बुझ्न सजिलो र आफ्नो संस्कृतिसँग मेल खाने भएपछि मात्र सुन्न थाल्छ ।
तर कुनै श्रोताले निश्चित संगीत अथवा कलाकार सुन्न थालेपछि अरू सुन्न त्यति मन नपराउने प्रा.डा. रेग्मी सुनाउँछन् । उनका अनुसार श्रोताहरू प्रायः आफ्ना स्थापित प्राथमिकतामा अडिग रहन्छन् ।
जसले गर्दा उ अन्य संगीतको खोजी वा अन्वेषण गर्दैन । अनि त्यस अडानमा अन्धभक्त जस्तो बन्छ । सरल शब्दमा भन्दा आफ्नो निश्चित रुचि वा ढर्रामा लिप्त भएका श्रोताले नयाँ आवाज खोज्ने प्रयास गर्दैन । यसलाई उनी ‘कागले कान लग्यो भने कागको पछि दौडने’ मानसिकतासँग तुलना गर्छन् ।
यदि खोज्ने हो भने नेपालमा पनि प्रेरणा दिने, अप्ठ्यारो समयबाट बाहिर निस्कन सहयोग गर्ने खालका गीत/संगीत रहेको रेग्मी बताउँछन् । तर सर्जकहरूले त्यसमा पर्याप्त काम नगरेको कुरामा भने उनी सहमत छन् ।
000
संगीतले मानसिक स्वास्थ्यमा सुधार ल्याउने विषय वैज्ञानिक अनुसन्धानहरूबाट प्रमाणित भइसकेको छ । तनाव, चिन्ता, डिप्रेसनजस्ता मानसिक समस्याहरूको सामना गर्न संगीतले भावनात्मक राहत प्रदान गर्ने गर्छ ।
यस्तो काम व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको छ । जसलाई ‘म्युजिक थेरापी’ नामले चिनिने गरिन्छ । नेपालमा सोही प्रकारको सेवा दिँदै आएको एक संस्था हो, द म्युजिक थेरापी ट्रस्ट नेपाल ।
यसका म्युजिक थेरापिस्ट केदार गन्धारीका अनुसार नियमित रूपमा संगीत सुन्नाले मानसिक सन्तुलन कायम हुने, ध्यान केन्द्रित हुने र आत्मबल बढ्ने जस्ता फाइदा पुग्छ । जुन काम केपप संगीतले केही हदसम्म गरेका हुन सक्छन् ।
अर्कोतर्फ दुर्गेश थापा जस्ता कलाकारका गीतहरूले युवा पुस्तालाई उचाल्ने र मनोरञ्जन दिने काम गर्छन् । तर तिनको तागत मानिसहरूलाई तत्काल उफ्राउने र रगत तताउनेमा मात्र सीमित हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4