Comments Add Comment
महामारीमा वैदेशिक रोजगार :

फर्जी म्यानपावरको बिगबिगी

धुम्बाराहीमा भेटिएको 'एक्टिभ इम्पोइ सर्भिस' र टोखाको 'गणापति ह्याप्पी लाइफ' नामको नक्कली म्यानपावर कम्पनीहरू

८ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पछिल्लो समय नक्कली संस्थाहरु बढी सक्रिय हुन थालेका छन् । नक्कली म्यानपावर कम्पनी खडा गर्दै युवालाई प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेको वैदेशिक रोजगार विभाग बताउँछ ।

महामारीपछि रोजगारविहीन भएका धेरै युवा विदेश जान चाहेपनि पर्याप्त माग नआएकाले अवसरको खोजीमा म्यानपावर कम्पनीमा भौतारिरहेको अवस्था छ । बेरोजगार युवाको यो बाध्यताको गलत फाइदा उठाउन नक्कली म्यानपावर कम्पनी खडा गर्दै ठग्ने गिरोहहरू बढेको विभागको अनुगमनबाट खुलेको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि नेउपाने ठग्नकै लागि कार्यालय नै खडा गरेर फर्जी कारोबार गरिरहेका ‘म्यानपावर कम्पनी’ अनुगमनका क्रममा भेटिन थालेको बताउँछन् ।

रिक्रुटमेन्ट एजेन्सीकै शैलीमा कार्यालय खडा गरेर बस्नेहरू थुप्रै भेटिन थालेकाले युवा सचेत हुनुपर्ने उनको भनाइ छ । व्यक्तिगत रुपमा एजेन्ट भएर काम गर्दा श्रमिकलाई विश्वासमा लिन गाह्रो हुने भएपछि यस्तो तरिका अपनाएको हुनसक्ने विभागको अनुमान छ ।

‘म्यानपावर कम्पनीसँग मिल्दोजुल्दो नाम राखेर ठगीधन्दा चलाउनेहरू धेरै देखिन थालेका छन्,’ प्रवक्ता नेउपाने भन्छन्, ‘यस्ता फर्जी कम्पनीको विश्वासमा युवा पर्दा ठगिने क्रम पनि अवश्य बढ्छ, त्यसैअनुसार विभागमा उजुरी पनि आइरहेका छन् ।’

विभागका अनुसार फर्जी कम्पनीहरूले एक–दुई जनालाई व्यक्तिगत तवरबाट भिसा दिलाएर विदेश पठाउने र तिनीहरूलाई देखाएर धेरै युवालाई प्रलोभनमा फसाउने गरेका छन् ।

चारजना भारतीय नागरिकले ‘नेपालीलाई क्यानडा पठाउने’ अवैध धन्दा चलाएका थिए । उनीहरुले ठगी धन्दा चलाउन अवैध कम्पनी खडा गरेको विभागको अनुसन्धानबाट प्रमाणित भयो । यो मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पुगेको छ ।

त्यसबाहेक विभिन्न म्यानपावर कम्पनीको एजेन्टका रुपमा काम गर्दै मोटो रकम असुलेर विदेश पठाउनेहरु पनि भेटिएका छन् । यस्ता फर्जी कम्पनीले धेरैजसो युवालाई युएईमा भिजिट भिसामा पठाउने काम गरिरहेको प्रवक्ता नेउपाने बताउँछन् । विभिन्न प्रलोभन देखाएर युवालाई भिजिट भिसामा पठाउने र त्यहाँ पुगेपछि भनेजस्तो काम, तलब र सुविधा नदिने गरेको पाइएको छ ।

त्यसबाहेक पैसा उठाएर भाग्ने प्रयोजनका लागि समेत कार्यालय खडा गर्नेहरू पनि भेटिन थालेका छन् । ‘काठमाडौंसहित जिल्ला–जिल्ला तहसम्म यस्तो विकृति देखिएको छ,’ नेउपानेले भने, ‘म्यानपावरको इजाजत पत्र समेत आफैंले तयार गरेर झुन्ड्याएर ठग्ने काम चलिरहेको भेट्यौं ।’

प्रशस्तै उदाहरण

काठमाडौंको धुम्बाराहीस्थित ‘एक्टिभ इम्प्लोइ सर्भिस’ त्यसको पछिल्लो उदाहरण हो । यो कम्पनीमा सँधै विदेश जाने युवाको ठूलो भिड लाग्थ्यो । उक्त कम्पनीसँग म्यानपावर सञ्चालनको अनुमति पत्र (लाइसेन्स) छैन भन्ने जानकारी भने कसैलाई थिएन ।

२०७७ चैत ४ गते वैदेशिक रोजगार विभागले छापा मारेपछि उक्त कम्पनीले चलाउँदै आएको धन्दाको पोल खुलेको प्रवक्ता नेउपाने बताउँछन् । कम्पनीको बोर्ड र कागजपत्र भएपनि जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाका रुपमा दर्ता भएको पाइएको छ ।

एक्टिभले ५ लाखसम्म पैसा उठाएको प्रमाण

कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत दर्ता नभएको कम्पनीमा पाँच लाखसम्म लिएर नक्कली सम्झौतापत्र बनाउँदै युवालाई विदेश पठाउने नाममा ठगी भइरहेको भेटिएको थियो । रोजगारीमा लगाउने भन्दै भिजिट भिसामा युएई, माल्टा र पोल्यान्ड पठाउने धन्दामा संलग्न यो कम्पनीले कति युवालाई ठग्यो भन्ने एकिन भएको छैन ।

विभागकाअनुसार अपारदर्शी ढंगले अवैध रुपमा चलिरहेको कम्पनीले महिनैपिच्छे कर्मचारी फेरि–फेरि ठगी गरिरहेको थियो । विभागले कम्पनीबाट युवाका पासपोर्ट, रकम उठाएको रसिदसहित विभिन्न फारम र कागजात बरामद गरेर अनुसन्धान गर्दैछ । यो कम्पनीका चार जना सञ्चालक भने फरार छन् ।

२०७७ फागुन १८ गते विभागको टोलीले चितवनको रत्ननगरस्थित ‘डायनामिक ग्लोबल रिसोर्स म्यानेजमेन्ट प्रालि’मा छापा मार्दा यस्तै रहस्य उद्घाटन भयो । वैदेशिक रोजगार विभागबाट जारी नै नभएको ‘१५६/०५६/७७’ नम्बरको नक्कली इजाजत पत्रसमेत आफैंले बनाएर कम्पनीले म्यानपावरकै रुपमा काम गरिरहेको थियो । २३ वर्षका फरमान हवारीले भिसासम्बन्धी काम गर्ने भन्दै नगरपालिकामा व्यवसाय दर्ता गरेको भेटियो ।

कम्पनीको नक्कली लाइसेन्स

कम्पनीको कार्यालयमा युरोपका विभिन्न देशमा पठाउने भन्दै पासपोर्ट लिँदै पैसा असुुली भइरहेको कागजातबाट खुलेको प्रवक्ता नेउपाने बताउँछन् । कार्यालयमा विभिन्न युवाको एसएलसीको कीर्ते प्रमाणपत्र, नक्कली प्रहरी रिपोर्टसमेत फेला पर्‍यो । विभिन्न देशको अप्रमाणित ‘डिमान्ड लेटर’, थुप्रै व्यक्तिको बायोडाटा र ६७ थान राहदानी पनि बरामद भयो ।

२०७७ माघ १९ गते टोखास्थित ‘ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालि’को पोल पनि त्यही शैलीमा खुल्यो ।

वैदेशिक रोजगार विभागले छापा मार्दा टोखाको ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिभित्र ‘ओम गणपति ह्याप्पी लाइफ’ पनि रहेको पत्ता लाग्यो । त्यहाँ भेटिएका चारजना भारतीय नागरिकले ‘नेपालीलाई क्यानडा पठाउने’ अवैध धन्दा चलाएका थिए । उनीहरुले ठगीधन्दा चलाउन अवैध कम्पनी खडा गरेको विभागको अनुसन्धानबाट प्रमाणित भएकाले मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पुगेको छ ।

क्यानडासहित विभिन्न अमेरिकी र युरोपेली देशमा पठाउने भन्दै भारतीय गिरोह संगठित रुपमै सक्रिय रहेको यो अपरेसनले पुष्टि गरेको थियो ।

गणपतिको रसिद

ओम गणपतिले शुरुमा ५ हजार भारु मात्र बैना गराएर विभिन्न कागजात आयो भन्दै थप प्रक्रियाका लागि क्रमैसँग प्रतिव्यक्ति ४ लाख रुपैयाँसम्म असुलेको कागजात विभागले फेला परेको थियो ।

सामाजिक सञ्जालमा आकर्षक विज्ञापन गरेर रकम असुलिरहेको पाइएको थियो । क्यानडा पुगिने प्रलोभनमा सजिलै नफस्ने श्रमिकहरुलाई भने ट्रिपल स्टार म्यानपावरले ‘कन्भिन्स’ गराउने गरेको थियो ।

२०७७ माघ १२ विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघिको म्यानपावर बजारस्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मार्दा पनि अवैध धन्दा नै फेला पर्‍यो । कन्सल्टेन्सीका रुपमा दर्ता भएको यो कम्पनीले कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको थियो ।

कतार प्रहरीका लागि अन्तर्वार्ता लिइएका २२ जनाको फारम बरामद भयो । अन्तर्वार्तामा पास भएकाहरुलाई लाखौं असुलेर भारतको बाटो हुँदै कतार पुर्‍याउने काम भइरहेको विभागको अनुसन्धानबाट खुलेको छ ।

‘शाखा खोल्ने अनुमति पाएका कम्पनीले शाखाभित्र पनि अन्य कम्पनीलाई टेबल बेच्ने गरेको पाइयो, त्यसरी बेचिने टेबलमा एजेन्टहरू आएर बस्छन्, उनीहरु ठग्नमै केन्द्रित हुन्छन् ।’

विभागका अनुसार अनुमति नै नलिएको कम्पनीले विदेशमा श्रमिक पठाउने गरी गतिविधि गरेकाले उक्त कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढेको छ ।

शाखाका नाममा पनि ठगी

अवैध रुपमा धन्दा चलाउनेमा अनुमति नलिएका म्यानपावर मात्रै छैनन् । विभागका प्रवक्ता टिकामणि नेउपानेका अनुसार शाखा खोल्ने अनुमति नलिएका म्यानपावर कम्पनीले एजेन्टहरूलाई जथाभावी शाखा खोल्न दिएर त्यस्तै ठगीलाई प्रोत्साहन गरेका छन् ।

कतिपय शाखा खोल्न अनुमति पाएका कम्पनीले शाखा खोल्ने अनुमति नपाएको कम्पनीलाई आफ्नो कार्यालयभित्रै बस्न दिएर पनि धन्दा चलाउने गरेको पाइएको उनले बताए ।

२०७७ माघ ३० गते वैदेशिक रोजगार विभागले इटहरीमा मेमोरियल ओभरसिज प्रालिको शाखा कार्यालय भेटाएको थियो । जबकी उक्त कम्पनीको नाममा शाखा कार्यालय खोल्न विभागबाट अनुमतिपत्र नै जारी भएको छैन । तर, इटहरीबाट उक्त कम्पनीले अवैध रुपमा पासपोर्ट संकलन गर्दै रकम असुल्ने गरेको भेटियो ।

एचआर इन्टर्नेशनल प्रालिले पनि त्यस्तै अवैध काम गरेको पाइयो । शाखा खोल्न अनुमति मागेर निवेदन दिएपछि कार्यालयमै खोलेर सेवा दिइएको पाइएपछि शाखा बन्द गराएर विभागको टोली काठमाडौं फर्कियो ।

विभागको टोली अनुगमनमा पुगेको पत्तो पाएपछि धेरै म्यानपावरका शाखाका रुपमा खोलिएका कार्यालय बन्द भएका थिए । अनुमति पाएका शाखा कार्यालयहरूले पनि अन्य म्यानपावर कम्पनीको पनि कारोबार गरेको पाइएको विभागले जनाएको छ ।

‘शाखा खोल्ने अनुमति पाएका कम्पनीले शाखाभित्र पनि अन्य कम्पनीलाई टेबल बेच्ने गरेको पाइयो, त्यसरी बेचिने टेबलमा एजेन्टहरू आएर बस्छन्, उनीहरु ठग्नमै केन्द्रित हुन्छन्,’ प्रवक्ताले नेउपानेले भने ।

यस्तो अवैध गतिविधिले श्रमिक ठगिने जोखिम झन्झन् बढ्दै गएको विभागको निष्कर्ष छ ।

तस्वीरः मनोज पराजुली 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment