Comments Add Comment

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी क्लब विजयी

११ चैत, नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् ।

धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंकसहित स्टार सिटी कैलाली शीर्ष स्थानमा छ भने त्रिवेणी र धम्बोझीको समान ९ अंक पुगेको छ । गोलभिन्नताको आधारमा त्रिवेणी दोस्रो स्थानमा छ ।

जितपछि धम्बोझीका प्रशिक्षक रवीन्द्र श्रेष्ठले टोलीको च्याम्पियन बन्ने अंक गणितीय सम्भावना कायमै रहेको बताए । उनले भने,‘लिगको हरेक खेल महत्वपूर्ण हुन्छ । आज हामीलाई शीर्ष चारमा पर्नको लागि जित्न आवश्यक थियो । हरेक हिसाबले हामीलाई जित चाहिएको थियो । त्यो प्राप्त भयो । खुसी छौं ।’

धादिङका प्रशिक्षक र कप्तान भने पोस्ट म्याच कन्फ्रेन्समा उपस्थित भएननन ।

धम्बोझीको जितमा दुबै गोल निशान लिम्बुले दुबै गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ६१ औं मिनेटमा दोस्रो गोल गरे । धादिङको तर्फबाट विजय भुजेलले १६ औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच धम्बोझीका निशान लिम्बुले जिते । उनलाई खेलकुद पत्रकार मञ्च बाँकेका अध्यक्ष जयनारायण शाहले पुरस्कृत गरे ।

यसैगरी नेपालगञ्ज रंगशालामा भएको अर्को खेलमा त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई २–० ले हरायो ।

त्रिवेणीको जितमा लक्ष्मण रुचाल र बिमल रानाले गोल गरे । लक्ष्मणले ६१ औं मिनेटमा गोल गरेका थिए भने बिमलले ७८ औं मिनेटमा गोल गरे ।

खेलमा त्रिवेणीका लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए । उनलाई धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले पुरस्कृत गरे । जितसँगै त्रिवेणीले ४ खेल खेल्दै ३ खेलमा जित निकालेर ९ अंक जोडेको छ ।

शीर्ष स्थानको स्टार सिटी युवा क्लब कैलाली भन्दा त्रिवेणी १ अंकले मात्र पछि परेको छ । यसैगरी सैनिक फुटबल क्लबले ४ खेल खेल्दै १ जित र १ बराबरी गरेर ४ अंक जोडेको छ भने २ खेलमा हारको सामना गरेको छ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment