Comments Add Comment

नेपाल एयरलाइन्सका चिनियाँ जहाज भाडामा नगए बिक्री गर्न बाटो खुला

१२ चैत, काठमाडौं । नेपाल एयरलाइन्ससँग रहेका ६ वटा चिनियाँ जहाज भाडामा नगए बिक्री गर्ने बाटो खुला भएको छ । अर्थ मन्त्रालयले चिनियाँ जहाजका लागि दुई विकल्पमा काम गर्न राय प्रदान गरेको छ । अर्थले सर्वप्रथम यी जहाज भाडामा लगाउन सुझाव दिएको छ । त्यसरी भाडामा लगाउँदा भाडामा नगएको अवस्थामा भने जहाज बिक्री गर्न सकिने राय अर्थ मन्त्रालयले दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अर्थले दुई विकल्पसहित स्पष्ट भनेको छ, भाडामा गएनन् भने बिक्री गर्न सकिन्छ ।’

यसअघि नेपाल एयरलाइन्सले गत साउन १६ बाट ६ वटै जहाज सञ्चालन नगर्ने निर्णय गरी आफ्नो विभागीय मन्त्रालय पर्यटनलाई पत्र लेखेको थियो । निगमले आफूले जहाज नचलाउने भन्दै व्यवस्थापन गर्न सरकारको जिम्मा लगाएको थियो । यी जहाजको स्वामित्व समेत नेपाल सरकारसँग नै रहेको छ । नेपाल वायुसेवा निगमले सञ्चालन तथा व्यवस्थापनबाट हात झिकेसँगै चिनियाँ जहाजको व्यवस्थापनमा के गर्ने भन्ने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयको राय मागेको थियो ।

त्यसबेला अर्थले विकल्पसमेत दिन आग्रह गर्दै पत्र फिर्ता गरेको थियो । त्यसपछि निगमले जहाज व्यवस्थापनका विकल्पसहित पुनः विभागीय मन्त्रालय हुँदै अर्थसँग राय मागेको थियो । चिनियाँ जहाज नचलाउने निगमको निर्णयमा पर्यटन मन्त्रालय भने यसअघि नै सहमत छ ।

नेपाल एयरलाइन्ससँग रहेका ६ वटा चिनियाँ जहाजमध्ये ५ वटा जहाज मात्र उडानयोग्य अवस्थामा छन् । दुई वटा एमए ६० र चार वटा वाई १२ ई जहाजमध्ये एउटा वाई १२ ई भने उड्न नसक्ने गरी ग्राउन्डेड भइसकेको छ । साना जहाज पहाडी र हिमाली दूर्गम भेगका जनतालाई सेवा दिने उद्देश्यले भित्र्याइएको थियो । तर सोही जहाजका कारण देशलाई झन्डै ८ अर्ब रुपैयाँ घाटा पुगिसकेपछि नेपाल एयरलाइन्सले यी जहाज नचलाउने निर्णय लिएको हो ।

साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरिसकेको छ । यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने र थप घाटा बेहोर्दा आत्मघाती निर्णय हुने निष्कर्ष निकाल्दै नेपाल एयरलाइन्स व्यवस्थापनले चिनियाँ जहाज विस्थापनको निर्णय लिएको हो ।

सुगममा ५६ सिट क्षमताका ‘एमए ६०’ र दूर्गममा १७ सिट क्षमताका ‘वाई१२ई’ उपयुक्त रहेको निष्कर्षसहित भित्र्यााइएका चिनियाँ जहाजलाई अब भने विस्थापन गर्ने बाटो खुलेको हो । यी जहाज चीनको एभिक इन्टरनेसनलले बनाएको हो । नेपाल सरकार र एभिक इन्टरनेसनलबीच २०६८ मंसिरमा जहाज खरिदसम्बन्धमा सम्झौता भएको थियो । यी जहाजमध्ये पहिलो जहाज ५६ सिट क्षमताको ‘एमए ६०’ १४ वैशाख २०७१ मा काठमाडौं अवतरण गरेको थियो ।

कुन जहाज कहिले आयो ?

जहाज कलसाइन प्राप्ति मिति
एमए६० अनुदान ९एन–एकेक्यू १४ वैशाख २०७१

 

वाई१२ई अनुदान

 

९एन–एकेएस

 

१८ कात्तिक २०७१

 

एमए६० ऋण

 

९एन–एकेआर

 

४ माघ २०७३

 

वाई१२ई ऋण

 

९एन–एकेटी

 

१९ माघ २०७३

 

वाई१२ई ऋण

 

९एन–एकेयू

 

१ फागुन २०७४

 

वाई१२ई ऋण

 

९एन–एकेभी

 

१ फागुन २०७४

 

नेपाल एयरलाइन्स सञ्चालक समितिले निम्न कारण देखाउँदै चिनियाँ जहाज नचलाउने निर्णय लिएको थियो ।

  • चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको तुलनामा ३५ प्रतिशत बढी रहेको ।
  • चिनियाँ जहाज चलाउने पाइलट नहुने हुनाले आफैंले उत्पादन गर्नु परेको, जुन एयर अन्तर्राष्ट्रिय उडानमा रहेको ए३२० जहाजका पाइलट उत्पादनभन्दा महंगो पर्ने ।
  • यी जहाजको स्पेयर्स पार्ट्ससमेत समान क्षमताका अन्य जहाजको तुलनामा ७५ प्रतिशत महंगो पर्ने ।
  • कतिपय अवस्थामा स्पेयर्स पाट्स अर्डर गरेको २ महिनासम्म पनि सामान नआएर जहाज ग्राउन्डेड भएको ।
  • दुवै मोडलका जहाजमा प्रशिक्षक पाइलटको अभाव रहेको, चिनियाँ जहाजमा प्रशिक्षक पाइलट उत्पादन गर्न सोही क्षमताका अन्य जहाजको तुलनामा ४ गुणा महंगो पर्ने ।
  • एमए ६० जहाजको सिमुलेटर तालीम खर्च अन्य जहाजको तुलनामा ७८ प्रतिशत महंगो र टाइप रेटिङ तालिम ३० प्रतिशत महंगो परेको ।
  • एमए६० को इन्धन खर्च सोही क्षमताको अन्य जहाजको तुलनामा दोब्बर र वाई१२ को इन्धन खर्च ५० प्रतिशतभन्दा बढी रहेको ।
  • तोकिएको रुटमा यी जहाज चलाउँदा २५ देखि ६७ प्रतिशतसम्म पेलोड प्रतिवन्ध पर्दा कुनै बेला तोकिएको क्षमताभन्दा निकै कम यात्रु मात्र बोकेर उडाउनु पर्ने बाध्यता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment