+
+
Shares

रुपाका किसानलाई दैलोमै सहुलियत कर्जा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १२:३३

१३ चैत, पोखरा । रुपा गाउँपालिकामा ३ वर्षअघिसम्म करिब २० वटा कृषि तथा पशुपन्क्षी फार्म थिए । १५ वटा जति कृषक समूह थिए । अहिले रुपामा २५५ कृषि तथा पशुपन्क्षी फार्म दर्ता भएर उत्पादन र बजारीकरण गरिरहेका छन् । ७३ कृषक समूहले व्यावसायिक कृषि कर्म गरिरहेका छन् । २० वटा कृषि सहकारी सञ्चालनमा आइसकेका छन् ।

कृषि तथा पशुपन्क्षीमा जोडिने किसानको संख्यामा अहिले उल्लेख्य वृद्धिमात्रै भएका छन् । उत्पादकत्व बढाउन र बजारीकरणमा पालिकाले लगानी तथा प्रोत्साहन गरिरहेको छ ।

पालिकाले गएको वर्ष नै माटो परीक्षण गर्‍यो र कुन ठाउँमा के उब्जनी हुन्छ भन्ने पत्ता लगायो । माटोको गुण पत्ता लगाएर उत्पादनको पकेट क्षेत्र तय गर्‍यो । हावापानी र भूगोलअनुसार पशुपन्क्षी पालन गर्ने क्षेत्र पनि निर्धारण गरेपछि पालिकाले यो आर्थिक वर्षलाई कृषि वर्षको रुपमा मनाउने नीति अगाडि सार्‍यो ।

व्यवसायिक कृषि तथा पशु पालनका लागि पालिकाले तालिम तथा अनुदान दिने, औजार उपलब्ध गराउने, व्यापारीकरणका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्नेलगायत कार्यक्रम गरेर कृषिमा धेरै जनतालाई जोडेको रुपाले अब किसानलाई सहुलियतमा ऋण पनि उपलब्ध गराउने भएको छ ।

व्यवसायिक कृषि तथा पशु पालनका लागि किसानलाई ४.५ प्रतिशतमात्र सहुलियत व्याजमा ऋण उपलब्ध गराउन रुपा र गि्रन डेभलपमेन्ट बैंकबीच बिहीबार सम्झौता भएको हो । उत्पादन बढाउन किसानलाई महँगोमा ऋण लिनुपर्ने बाध्यता टरेको छ ।

पालिकाभित्र व्यवसायिकरुपमा अग्रसर हुन चाहाने महिला, युवा, अपांग, गरिब, दलित, आदिवासी जनजातीलाई लक्षित गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउन रुपाका प्रमुख प्रशासकीय अधिकृत सन्तोस ढुंगाना र बैंकमा कार्यकारी निर्देशक उमेशकुमार आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

किसानले बिना धितोसमेत ऋण पाउने छन् । गाउँपालिकाले त्यसका लागि ७० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेको छ । बैंकले त्यसको ३ गुणा बढी २ करोड १० लाख रुपैयाँ विनाधितो ऋण उपलब्ध गराउने गि्रन डेपलभमेन्ट बैंकमा कार्यकारी निर्देशक उमेशकुमारले जानकारी दिए ।

गि्रन डेभलपमेन्ट बैंकले पहिलो चरणमा ६ करोड रुपैयाँसम्म धितोसमेत गरी सहुलियत ऋण उपलब्ध गराउने र त्यो रकम बढीमा ९ करोड रुपैयाँसम्म पुग्ने उनले बताए । ‘सहुलियत कर्जा लिन महिलाले ५ र पुरुषले ६ प्रतिशतसम्म छुट पाउने छन्,’ उनले भने, ‘यसले ग्रामिण क्षेत्रमा किसानसम्म बैंकिङ पहुँच र व्यवसायिक कृषिलाई जोड दिने छ ।’

सक्नेले धितो राख्नेछन् भने धितो राख्न सम्भव नहुनेहरु पनि समूहमार्फत लाभान्वित हुने बैंकले जनाएको छ । नेपाल सरकारको कार्यक्रमअनुसार सहुलियत कर्जा कार्यक्रम अन्तर्गत देशभर १ खर्ब लगानी भइसकेको र त्यसमा पनि ७६ अर्ब कृषि तथा पशुपन्क्षीको क्षेत्रमा लगानी भएको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले यो वर्षलाई कृषि वर्षको रुपमा मनाउने घोषणा गर्दै डेढ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेकोमा यो वर्षमात्रै कृषि तथा दूधजन्य पदार्थमा आत्मनिर्भर हुने कार्यक्रममार्फत २० करोड रुपैयाँ भित्राइसकिएको बताए । ‘कृषि वर्षको रुपमा बनाउँदै अनुदान बढायौं । टनेल, औजारदेखि विभिन्न उपकरण किसानसम्म पुर्‍यायौं,’ अध्यक्ष ओझाले भने, ‘एक वडा एक नर्सरी कार्यक्रम चलिरहेको छ । अब व्यवसायिक कृषिमा लाग्न चाहने बिना धितो तथा धितोमासमेत सहुलियतमा कर्जा पाउने भएका छन् ।’

ऋण लिएर व्यवसाय गर्छुभन्दा पनि कागज लिएर बैंक दौडनु पर्ने, प्रक्रिया नै जटिल भएकाले किसानकै पहुँच नपुग्ने अवस्था अब रुपामा अन्त्य हुने ओझाको दाबी छ । ‘तपाईंहरुले उत्पादन गर्नुस्, हामी सहुलियत दिन्छौं । तपाईंले गरेको उत्पादन बजारसम्म पुर्‍याउने काम पनि हामी नै गर्छौं,’ ओझाले भने, ‘दूध उत्पादन बढाउनुस्, त्यसको ल्याब टेस्ट गरेर बजारसम्म पुर्‍याउने काम पनि पालिकाले नै गर्छ ।’

व्यवसायिक कृषि तथा पशु पालन गर्न चाहने किसानलाई पालिका र बैंकको समन्वयमा दैलोमै पुगेर कर्जा उपलब्ध गराइने अध्यक्ष ओझाको जोड थियो । गि्रन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले कृषि उत्पादन बढाउन किसानसँग जोडिएर पालिकाहरुको समन्वयमा बैंकले कृषि क्षेत्रमा लगानी गरिरहेको बताए ।

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले किसानलाई अनुदान पनि उपलब्ध गराइएको र सबै किसान त्यसबाट समेटिन पनि नसक्ने भएकाले अब सहुलियतमा ऋण उपलब्ध गराएर समेट्न लागिएको बताइन् ।

रुपा गाउँपालिकामा ३६ प्रतिशत जमिन कृषि खेतीका लागि योग्य छ । पालिकाले दूध, मासु तथा तरकारीमा आत्मनिर्भर बनाउने अभियान चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले बताए । रुपाका ७ वटा वडालाई पकेट क्षेत्र घोषणा गरी कोल्ड स्टोर्समार्फत बजारसम्म पुर्‍याउने काम पनि गरिरहेको उनको भनाइ छ ।

रुपा-७ का विश्वराज न्यौपानेको मुख्य आयको बाटो दूध बिक्री हो । न्यौपाने लगायतका किसानले इन्द्रेणी दुग्ध उत्पादक कृषक समूह नै बनाएर अहिले दैनिक २ सय लिटर दूध बिक्री गरिरहेका छन् । ‘ऋण लिएर भए पनि लगानी थपौं, व्यवसाय बढाऔं भन्ने थियो । तर, महँगो ब्याज र झन्भिmटिलो प्रक्रियाले सकिरहेका थिएनौं,’ उनले भने, ‘अब गाउँमै सहुलियत कर्जा पाउने भएपछि उत्साही छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?