Comments Add Comment

गीत ट्रेन्डिङमा नआउँदैमा हरायो भन्नु गलत होः दीपक लिम्बु

गायक दीपक लिम्बु नेपाली सांगीतिक क्षेत्रमा केही बर्ष अगाडिसम्म उचाइमा थिए । उनले स्वर दिएका चलचित्रका हुन् या आधुनिक गीत नै किन नहुन्, दर्शकको मनमा बस्थे । उनले गाएका सयौं गीतहरुले दर्शकको मन जितेका छन् । तर, आजको दिनमा दीपक लिम्बु सांगीतिक क्षेत्रबाट हराएको महशुश दर्शक तथा श्रोताले गर्न थालेका छन् । तर, गायक लिम्बु भने अहिलेको समयमा चर्चामा आउन गीत युटुबको ट्रेन्डिङमै आउनुपर्ने अवस्था सिर्जना भएको बताउँछन् । उनले आफू निरन्तर गीतसंगीत क्षेत्रमा रहेपनि कतिपयले हरायो भन्ने गरेको गुनासो गरे ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘अहिलेको समय यस्तो छ कि आफ्नो गीत ट्रेन्डिङमा आयो भने दर्शक तथा श्रोतालाई थाहा हुन्छ । अहिलेपनि मेरा गीतहरु सार्वजनिक भैरहेका छन् । तर, ती गीतहरु ट्रेन्डिङमा आएका छैनन् । त्यसैले दिपक लिम्बु हरायो भन्ने गरेको सुन्छु ।’

गीतले युट्युबमा पाएको भ्यूज र ट्रेन्डिङलाई मात्र सफलताको मानक मान्न नहुने दीपकको तर्क छ । आफूले युट्युब भ्यूज र ट्रेन्डिङलाई मात्र सफलता नमान्ने बताउँदै उनले गीतले युट्युबमा राम्रो भ्यूज पाउँदा र गीत युट्युब ट्रेन्डिङमा आउँदा खुशी भने लाग्ने बताए ।

उनले भने–‘म भ्यूज र ट्रेन्डिङलाई टार्गेट गरेर काम गर्दिनँ । गीतसंगीत मेरो कर्म हो । कर्म गरिरहन्छु । गीतले धेरै भ्यूज पायो वा गीत ट्रेन्डिङमा आयो भने खुशी हुन्छु । गीतले धेरै भ्यूज पाएन, ट्रेन्डिङमा परेन भने म दुःखी भने हुदिनँ ।’

उनले रमाईलोमा मात्र नभई थकाई लाग्दा सुन्ने खालका गीतहरु समेत सिर्जना गर्नुपर्ने तर ति गीतहरुले धेरै भ्यूज नपाउन पनि सक्ने बताए । कुनै पनि गीतले युट्युबमा राम्रो भ्यूज पाएर स्रोताले सम्झिरहने पनि बन्यो भने त्यो गीतलाई सफल भन्न मिल्ने उनको तर्क छ ।

दिपकले पछिल्लो समय केही चलचित्रका गीतहरु रेकर्ड गराएका छन् । आलोक श्रीसँगको सहकार्यमा ‘उपहार भाग ४’ सार्वजनिक गर्ने आफ्नो तयारी रहेको दिपक बताउँछन् ।

दिपक कुनै समय पाश्र्व गायनमा सर्वाधिक चलेका गायक हुन् । उनका ‘मेरो कल्पनामा आज एउटी परी’, ‘ढल्क्यो ढल्क्यो’, ‘नाइँ नभन्नू ल’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’ जस्ता गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment