+
+

‘बरु अर्को पार्टी खोले हुन्छ, समानान्तर गतिविधि गर्न पाइँदैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते २०:१४

१८ चैत, काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह गरे ।

‘नेकपा एमालेको नाममा कुनै पनि समानान्तर गतिविधि गर्न मिल्दैन । त्यो भनेको घोषित रुपमा पार्टीलाई विग्रहमा पुर्याउने, पार्टीलाई विखण्डित गर्ने, पार्टीलाई विभाजित गर्ने कुरा हो’ परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने ।

उनले अघि भने, ‘मलाई नेकपा एमाले मन पर्दैन भने अर्कै पार्टी खोल्छु, या देशमा विद्यमान कुनै पार्टीसंग जोडिन्छु भन्न पाइन्छ, नेपालको संविधानले हामीलाई त्यो छनोटको स्वतन्त्रता दिएको छ । विचारको छनोटको, समर्थनको छनोटको स्वतन्त्रता दिएको छ ।’

एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला उनले कारवाहीको चेतावनी दिएका हुन् ।

एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने गतिविधि गरे कारबाही हुने ज्ञवालीले चेतावनी दिए । ‘घर त्यहाँ हुन्छ जहाँ मन बस्छ भन्छ नि । मन बस्ने ठाउँमा नै संगठनको गतिविधि गर्ने हो’ ज्ञवाली भन्छन्, ‘एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने काम गर्न मिल्दैन । त्यो कारबाहीको विषय हो ।’

ज्ञवालीले अगाडि थपे, ‘तपाईं जुन ठाउँमा हुनुहुन्छ त्यसलाई बलियो बनाउनुस् । चित्त बुझ्दैन, अट्नै नसक्ने निश्कर्षमा पुगेको हो भने त्यसमा जबर्जस्ती गर्ने कुरा पनि केही छैन ।’

माधव नेपाल समूहलाई ज्ञवालीले प्रश्न गरे, ‘समानान्तर संगठन खोलेर पार्टीको एकतालाई कमजोर पारेर गन्तब्यमा पुग्न सकिन्छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?