
१८ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । जनप्रतिनिधिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दा जनताले सुख पाउने उनको भनाइ थियो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग बुधबार भएको भेटमा उनले महानगरपालिकाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा चासो राखेका थिए । प्राचीन र ऐतिहासिक सहर तथा सम्पदा क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने र व्यवस्थित रुपले काम गर्न नगरपालिकामा कार्यरत निरीक्षकहरुलाई इन्जिनियरिङ तालिम दिनुपर्नेमा उनले जोड दिएका थिए । उनले पुरानो सीप तथा प्रविधिहरुलाई संरक्षण गर्नुपर्ने बताउँदै भाषा तथा साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताए ।
सो क्रममा नगरप्रमुख महर्जनले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशकै लागि उदाहरणीय कार्य गरिरहेको र ललितपुरले पनि सम्पदा बस्ती संरक्षण गर्ने हेतुले आवश्यक नीति–नियमहरु बनाउँदै अगाडि बढिरहेको बताए । सो भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको पनि उपस्थिति थियो ।
प्रतिक्रिया 4