Comments Add Comment

काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाइँदै

२० चैत, काठमाडौं । एक हप्तादेखि फोहोर फाल्ने ठाउँको विवादले नउठाइएको काठमाडौंको फोहोर शुक्रबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने क्षेत्रका आन्दोलनरत स्थानीय वासिन्दाको माग पूरा गर्ने र उनीहरुले फोहोर फाल्न दिने सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए  ।

सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् । शुक्रबार नै सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको श्रेष्ठले बताए ।

सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन-तीन करोड पाउने भएका छन् ।

प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको तलब खर्च व्यहोर्न काठमाडौं महानगरपालिकाले बजेट अनुदान दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्न संघ सरकारसँग अनुरोध गर्ने र सिसडोलकाे पाेस्ट क्लाेजर गर्नेबारे पनि सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment