Comments Add Comment

भिसा खुकुलो बनाएको प्रचारले पर्यटकलाई सास्ती मात्रै

फाइल तस्वीर

२० चैत, काठमाडौं । नेपाल आउन चाहेका विदेशी पर्यटकले नेपाल आउने भिसा प्रक्रिया थप जटिल भएको गुनासो गरेका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीका अनुसार दूतावास पुग्ने गरेका र विमानस्थलसम्मै आएका पर्यटकले अनअराइभल भिसा नपाएको भन्दै टेलिफोनबाट प्राप्त हुने गुनासो बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका निकायले केही दिनअघि ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७’ ले पर्यटक आगमन सहज भएको भन्दै व्यापक प्रचार गरेका थिए ।

यसैलाई आधार मानेर नेपाल आएका र आउन खोज्ने पर्यटकलाई भने अध्यागमन विभाग र विदेशस्थित कूटनीतिक नियोगले भने साविकको निर्णयमा कुनै परिवर्तन नभएको भन्दै फिर्ता गरिरहेका छन् । यसले नेपाल आउन उत्साहित पर्यटक निरास बन्नुका साथै सरकारका तीन वटा मन्त्रालय बीचमै चरम समन्वयको अभाव देखिएको पर्यटन बोर्डले जनाएको छ ।

‘गृह मन्त्रालयको अध्यागमन र परराष्ट्र मन्त्रालय मातहतका विदेशी कूटनीतिक नियोगले भिसा दिने प्रक्रिया सहज बनाउने निर्णय नै नभएको भन्दै पर्यटकलाई फर्काइरहेको गुनासो अत्यधिक आएको छ,’ सीईओ रेग्मीले भने ।

सहज होइन, सुरक्षित गर्न खोजिएको हो : अध्यागमन

संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको समयमा नेपालले निस्फ्रिक्री आवागमन खुला गर्नै नसक्ने अध्यागमन विभागका महानिर्देशक रामकुमार केसीले बताए । उनले ५ चैतमा मन्त्रिपरिषदबाट भएको भनिएको निर्णयले पर्यटक आगमनलाई अझ सुरक्षित बनाउन खोजिएको स्पष्ट पारे । तर, त्यो निर्णयपछि साविकभन्दा सहज रुपमा पर्यटक नेपाल आउन सक्ने वातावरण भने नबनेको उनले स्वीकार गरे ।

निर्णयबारे थप व्याख्या गर्दै उनले भने, ‘सुरुमा विदेशस्थित कुटनीतिक नियोगबाटै पर्यटकले भिसा लिनुपर्छ, त्यहाँ लिने वातावरण नभए अनअराइभल भिसा दिइने छ, तर यहाँ शर्त राखिएको छ ।’ उनले पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७ को भाग ‘ख’ को दफा ‘६’ राम्रोसँग पढ्न समेत आग्रह गरे ।

जसमा भनिएको छ, ‘अनअराइभल भिसा प्राप्त गर्न चाहने पर्यटकले दफा ७ मा उल्लेखित वायुसेवाको चेक इन काउन्टरमा प्रस्तुत गरेका कागजात आफूसँगै राखी विमानस्थल अध्यागमन विन्दुमा पेस गर्नुपर्छ ।’ दफा ७ अनुसार पर्यटकको साथमा बोडिङ हुनुभन्दा बढीमा ७२ घण्टा अगाडि दिएको स्वावको कोरोना पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको कागजात वा कोभिड-१९ विरुद्धको खोपको मात्र पुरा भएको कागजात हुनुपर्ने छ ।

नेपाल आउनका लागि प्राप्त गरेको भिसा वा नेपालको पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटन विभाग वा पर्यटन बोर्डको सिफारिसको कागजात साथमा हुनुपर्ने छ । नेपालमा होटेल बुकिङ गरेको वा बसोबास सुनिश्चित भएको प्रमाण समेत अनिवार्य साथमा हुनुपर्छ ।

आपतकालीन खोज, उद्धार, उपचारलगायत विषय समेटिएको नेपाल यात्रा अवधिभरको मान्य हुने यात्रा बीमा गरेको कागजात अनिवार्य हुनुपर्ने छ । महानिर्देशक केसीका अनुसार यो प्रावधान ५ चैतमा भएको भनिएको परिवर्तन अगाडिकै प्रावधान हो । यसमा कुनै परिवर्तन भएको छैन । पर्यटन मन्त्रालय, विभाग र पर्यटन बोर्डले अपरिपक्क तरिकाबाट गरेको प्रचारबाजीकै कारण अहिले पर्यटकले सास्ती भोग्नु परेको अध्यागमनका अधिकारीको भनाइ छ ।

महानिर्देशक केसी भन्छन्, ‘कि भिसा विदेशबाटै लिएर आउनु पर्‍यो, अध्यागमन विन्दुबाट लिने हो भने बोर्ड र विभागको सिफारिस अनिवार्य भनेको छ, यसमा के परिवर्तन भयो र ?’ अहिले नेपालमा भ्रमण वर्ष वा कोरोना फ्रि भनेर पर्यटक बोलाउनै पर्ने बाध्यता नभएको भन्दै सुरक्षित रुपमा पर्यटक आगमन सहज बनाउने काम अध्यागमनले गरिरहेकोे उनले बताए ।

क्वारेन्टिन अनिवार्य छ

सरकरको पछिल्लो निर्णयले नेपाल आउन अहिले पनि पर्यटकले साविकमा जस्तै कागजपत्र र प्रक्रिया पुरा गर्नुपर्छ । यो प्रक्रिया पुरा गरेको अवस्थामा ५ चैत भन्दा अगाडि पनि अध्यागमनले प्रवेश विन्दुमै भिसा दिने गरेको थियो । सोहीकारण पर्यटन मन्त्रालय र विभागले प्रचार गरेजस्तै आगमन सहज छैन ।

नेपाल आइसकेपछि आफ्नै खर्चमा पीसीआर परीक्षण गर्ने, नतिजा नआएसम्म आफ्नै खर्चमा होटेल क्वारेन्टिनमा बस्ने र पीसीआर नेगेटिभ आएमा मात्र घुमफिरमा जान सक्ने प्रावधान थप भएको छ ।

यसले निर्णयले जुनसुकै पर्यटक नेपाल आउँदा अहिले पनि उत्तिकै सास्ती भोग्नुपर्छ । यद्यपि पर्यटकले क्वारेन्टिन नै बस्नु नपर्ने, अनअराभइल भिसा सहज भएको भन्दै गरिएको प्रचारबाजीले स्वयम् पर्यटकमा अन्यौल थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment