
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्दै नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरिरहेको छ।
- बोर्डले काठमाडौं, पोखरा र चितवनका मुख्य पर्यटकीय स्थलबाट फेस्टिवल र गन्तव्य कभर गर्दै प्रत्यक्ष प्रसारण गरिरहेको छ।
- जेनजी आन्दोलनपछि पर्यटन बजारमा अन्यौल छ तर थप माहोल बिग्रिएन भने ठूलो असर नपर्ने व्यवसायीहरूले बताएका छन्।
१४ असोज, काठमाडौं । जेनजी आन्दोलनका दौरान सामाजिक सञ्जालमा राखिएका फोटो/भिडियोका कारण संसारभर नेपालको छवि ‘अशान्त’ मुलुकका रूपमा फैलियो । धेरै मुलुकले नेपालबारे ट्राभल एडभाइजरी जारी गरे ।
नेपालको सबैभन्दा मुख्य पर्यटकीय सिजनमा फैलिएको यो खबरले पर्यटन उद्योग एकाएक समस्यामा फस्यो । यसबाट उठ्न नेपाल पर्यटन बोर्डले सिर्जनात्मक कदम सुरु गरेको छ ।
नेपाल पर्यटन बोर्डका सहायक प्रवक्ता सुधन सुवेदीका अनुसार बोर्ड आफैंले ‘नेपाल सुरक्षित छ’ भन्दा नपत्याउन सक्ने अवस्था हुन्छ । तर, मूख्य पर्यटकीय गन्तव्यमा घुमफिर गरिरहेका पर्यटक स्वयंसँग कुराकानी गरी उनीहरूको अनुभव नै प्रत्यक्ष प्रसारण गरेर दिने सन्देश बढी प्रभावशाली देखिएको उनले बताए ।
‘हामीले पहिलो क्याम्पेनमा ८ गन्तव्यबाट प्रत्यक्ष प्रसरण गर्यौं,’ उनले भने, ‘त्यस दौरान पर्यटकसँग कुराकानी गरेर उनीहरूबाटै नेपालबारे अहिलेको अवस्था बयान गर्न लगायौं, यो सबैभन्दा प्रभावकारी हुने रहेछ ।’
दोस्रो चरणमा फेस्टिवल कभर गर्दै प्रत्यक्ष प्रसारण सुरु गरिएको उनले जानकारी दिए । बोर्डले सोमबार बसन्तपुरमा फूलपाती भित्राउने परम्पराको पूरै लाइभ गरेको थियो ।
मंगलबार बसन्तपुरमा नयाँ कुमारी भित्राइएको अवसरलाई बोर्डले आफ्नो लाइभ कभरेजमा समेटेको छ । अब म्ह: पूजा, भाइ टीकालगायत अवसरलाई समेत बोर्डले प्रत्यक्ष प्रसारणमा जोड्ने उनले जानकारी दिए ।
फेसबुक, यूट्युब र टिकटकबाट लाइभ
अहिले बोर्डका तीन सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक, यूट्युब र टिकटकबाट एक साथ लाइभ भइरहेको छ । फेसबुकमा हुने लाइभमा छिटो समयमा धेरै भ्यूज देखिए पनि दीर्घकालीन रूपमा लाइभ सुरक्षित रहँदैन । त्यसकारण युट्युब समेत लाइभ गरी भिडियो सुरक्षित गरिएको सुवेदी बताउँछन् ।
मूख्य पर्यटकीय स्थल कभरेज
बोर्डले यस पटक काठमाडौं भित्रका मूख्य पर्यटकीय सिजनबाट प्रत्यक्ष प्रसारण गरेको छ । बसन्तपुर, पाटन दरबार र भक्तपुर दरबार स्क्वायरबाट नेपाल सुरक्षित रहेको सन्देशसहित प्रत्यक्ष प्रसारण गरिएको थियो । यसबाहेक बौद्ध, स्वयम्भू र ठमेलबाट समेत बोर्डले यस्तो सन्देश प्रवाह गरिसकेको छ ।
उपत्यकाबाहेक पोखरा र चितवनबाट प्रत्यक्ष प्रसारण गरिएको छ । ‘डेस्टिनेशन र फेस्टिवल दुवै नेपाललाई चिनाउने मुख्य आधार हुन्,’ सुवेदीले भने, ‘सोही कारण यी क्षेत्र सुरक्षित छन् है भन्ने सन्देश दिन यसो गरिएको हो ।’
आन्दोलनपछि कस्तो छ पर्यटन बजार ?
व्यवसायीहरुका अनुसार जेनजी आन्दोलनपछि पर्यटकमा एक प्रकारको अन्यौल भने छ । बुकिङ क्यान्सिल भन्दा धेरै होल्डमा छन् । त्यसकारण थप माहोल नबिग्रने हो भने पर्यटन बजारमा ठूलो असर नपर्ने विश्लेषण गरिएको छ ।
तर, अन्तर्राष्ट्रिय चेन होटेलहरूमा गरिएको आक्रमण र आगजनीका कारण पर्यटन बजारमा त्रास भने यद्यपि रहेको देखिन्छ । होटल संघ नेपाल (हान)का अनुसार होटेल उद्योगमा मात्र २५ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको देखिएको छ । पर्यटनमा भौतिक भन्दा ठूलो असर मनोवैज्ञानिक पर्छ । सोही असर चिर्न बोर्डले प्रयास गरिरहेको सहायक प्रवक्ता सुवेदीको भनाइ छ ।
प्रतिक्रिया 4