
२१ चैत, काठमाडौं । काठमाडौं तराई-मधेश द्रूतमार्ग सडक आयोजना निर्माणमा सेनाले दोस्रो चरणको काम शुरु गर्ने तयारी गरेको छ । सडकको फर्मेसन सकेर अधिकांश ठाउँमा कालाेपत्रे गर्न तयारी अवस्थामा पुर्याएपछि सेनाले दोस्रो चरणमा सुरुङ र पुल निर्माण कार्य शुरु गर्न लागेको हो ।
द्रुतमार्ग परियोजना कार्यान्वयन तथा अपरेशन प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडी भन्छन्, ‘अहिलेसम्मको काममा कुनै बाधा नभए जेठको अन्तिमबाट सुरुङमार्ग र पुल निर्माणको कार्य सुरु हुनेछ ।’
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार फास्टट्याकमा ६.४ किलोमिटर सुरुङमार्ग हुनेछ । ती मार्ग महादेवटार, धेद्रे र लेन डाँडामा रहनेछन् ।
तर, अहिले सुरुङ र पुलको दोस्रो प्याकेजको ठेक्का रद्द गर्न लेखा समितिले निर्देशन दिइसकेको अवस्थामा समयमै काम शुरु हुन्छ/हुँदैन भन्नेमा अन्यौलता छ । एक सैनिक अधिकृतले लेखा समितिको निर्देशनको विस्तृत विवरण आएपछि त्यसबारे निर्णय हुने बताए ।
द्रूतमार्गमा विशेष प्रकृतिका १६ र अन्य ७१ वटा गरी ८७ वटा पुल पनि निर्माण हुनेछन् । प्यासेन्जर अन्डर पास १२, ओभरपास एउटा, सवारी अन्डरपास ५ र ओभरपास ४ वटा पनि रहनेछन् ।
खोकनामा विवाद भएपछि निजगढबाट काम
दोस्रो चरणको कार्य सेनाले निजगढबाट थाल्ने जनाएको छ । ललितपुरको खोकनामा जग्गाको मुआब्जा विवाद नटुंगिएपछि सेनाले निजगढबाट सेनाले काम अघि बढाउन लागेको हो ।
अहिले पनि निजगढबाट काठमाडौंतर्फ २२ किलोमिटर क्षेत्रमा काम भइरहेको छ । पहिलो चरणमा सेनाले खोकना हुँदै निजगढसम्म ७२.५ किलोमिटर सडकमा पहाड कटिङ र फिलिङको काम सकेको छ । सेनाले वाल, बक्स कल्भर्ट, बेलिब्रिज लगायत पनि बनाएको छ ।
सेनाले २०८१ वैशाखभित्रै आयोजनाको काम सक्ने दाबी गरिररहेको छ । त्यसका लागि विभिन्न प्याकेज बनाएर एकैपटक ठाउँठाउँमा काम थाल्ने सेनाको तयारी छ । सबै प्याकेजलाई ३ देखि साढे ३ वर्षसम्म सक्ने गरी काम गर्ने सेनाको कार्ययोजना छ ।
यो सडक निर्माण सम्पन्न भएपछि १ घन्टामै निजगढबाट काठमाडौं आइपुगिनेछ । सरकारले सेनाको व्यवस्थापन निर्माण सम्पन्न गर्न २७ साउन २०७४ मा जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया 4