Comments Add Comment

आईएमई टेनिस प्रतियोगिता : अकी जुवीन र सर्भानीलाई यू–१६ को उपाधि

२२ चैत, काठमाडौं । अकी जुवीन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यू–१६ तर्फको उपाधि जितेका छन् ।

मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यू–१६ ब्वाइज तर्फको फाइनल प्रतिस्पर्धामा अकीले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पारेका अकीले दोस्रो सेट ३–६ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा अकीले आरभलाई ६–४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन् । अकीले आरभलाई पराजित गर्न ३ घण्टा समय खर्चिएका थिए ।

यस्तै गर्ल्स यू–१६ तर्फकै प्रतिस्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझे जित निकालिन् । सर्भानीले दुवै सेट ७–५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन् । सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो ।

दुवै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ हात पारे । विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आईएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्वएआईजी राजेन्द्र सिंह भण्डारी, आईएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घलले लगायतले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा विभिन्न उमेर प्रतिस्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आईएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गरिन् । फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाइमा पनि सहयोग पुग्ने बताउँदै प्रतियोगितामा भाग लिने खेलाडीहरु सवै च्याम्पियन हुने बताए । पूर्वएआईजी भण्डारीले आईएमई जस्तो संस्थाले बालबालिकाहरूलाई टेनिस खेलमा अभ्यस्त बनाउन गर्दै आएको योगदानको प्रशंसा गरे ।

आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा देशै भरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए । गर्ल्सतर्फ ४५ र ब्वाइज तर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । आईएमई फाउन्डेसन आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment