
२२ चैत, काठमाडौं । अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यू-१६ तर्फको उपाधि जितेका छन् ।
मन्डिखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यू-१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २-१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३-६ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६-४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन् ।
अकिले आरभलाई पराजित गर्न ३ घण्टा समय खर्चिएका थिए । यस्तै गर्ल्स यू-१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २-० को सोझे जित निकालिन् । सर्भानीले दुवै सेट ७-५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन् । सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो ।
दुवै च्याम्पियनले जनही २० हजार रुपैयाँ हात पारे । आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा देशभरका कुल १०५ खेलाडीले सहभागिता जनाएका थिए । चैत १७ गतेबाट आयोजना भएको प्रतियोगितामा गर्ल्सतर्फ ४५ र ब्वाईजतर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया 4