Comments Add Comment

मेलम्चीको पानी : पुरानो वितरण प्रणालीले थेग्नै सकस

२३ चैत, काठमाडौं। शनिबार दिउँसोको दृश्य हो– त्यागलबाट ग्वार्कोतर्फ झर्ने सडकमा कोही सडकमै गलैंचा पखालिरहेका, कोही सडकमै राखेर कपडा धुन व्यस्त थिए। त्यसरी सडकमै लुगा–कपडा र गलैंचा धुने अवसर भने पाइप फुटेर सडकभरि बगिरहेको मेलम्चीको पानीले जुराइदिएको थियो ।

स्थानीय इन्द्रकुमार श्रेष्ठका अनुसार सडकबाट पानीको फोहोरा छुटेपछि त्यही मौकामा धेरैले भाँडाकुँडामा पानी भर्न पनि भ्याए । ‘खानेपानी कहिलेकाहीं मात्रै आउँथ्यो, अस्तिदेखि लगातार पानी छोडेछन्’ श्रेष्ठले भने, ‘कवाडी भइसकेको पाइपले कसरी मेलम्चीको पानी थेग्थ्यो !’

आइतबार बिहान रत्नपार्क छिर्ने गेट अगाडि सडकमै पानीका भुल्काहरू देखिए । सडकभरि पानी नै पानी थियो । वर्षामा जस्तै पानी उछिट्याउँदै सवारी साधन हुँइकिइरहेका थिए । मध्याह्नमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारी आएर पानी बन्द गरे । तर, आसपासमा जमेको पानीका कारण साँझसम्म सडक हिलै थियो ।

रत्नपार्ककै मोडमा पनि नालाको छेउबाट पाइप फुटेर पानी बगिरहेको छ । मूल झैं फुटेर निस्केको पानी नालै–नाला भएर ढलमा पुगेको छ ।

वीर अस्पतालअघिको चोकमा पनि गत साताबाट लगातार सडकमा पानी रसाइरहेको छ । खानेपानीको पाइप फुटेको हो कि ढलको समस्या हो भन्ने पत्ता लागेको छैन । निरन्तर पानी निस्किएका कारण त्यहाँनेरको सडक भत्किन शुरु गरिसकेको सडक विभागका अधिकारीहरू बताउँछन् ।

रत्नपार्ककै मोडमा पनि नालाको छेउबाट पाइप फुटेर पानी बगिरहेको छ । मूल झैं फुटेर निस्केको पानी नालै–नाला भएर ढलमा पुगेको छ । पानीको मात्रा थोरै भएकाले सडकसम्म पुग्न पाएको छैन ।

मेलम्चीको पानी आएपछि काठमाडौंका विभिन्न भागमा पाइप फुटेर चुहिंदा कति प्रतिशत पानी चुहावट भएको छ भन्ने यकिन तथ्यांक केयूकेएलसँग छैन। तर, पानी चुहिएका स्थानमा तत्काललाई स्थानीय भल्भ बन्द गरेर केयूकेएलले मर्मतको तयारी थालेको छ ।

जताततै समस्या
काठमाडौंमा गत चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण शुरु भयो । त्यसयता शहरका विभिन्न भागमा खानेपानीका पाइप फुट्ने÷चुहिने समस्या देखिएका छन्। केयूकेएलका अनुसार मुख्यगरी पुराना भित्री शहरहरूमा यस्तो समस्या बढी देखिएको छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार कतिपय क्षेत्रका ढल प्रणालीमा पनि समस्या देखिएको छ ।

‘त्रिपुरेश्वर, न्यूरोड, टेबहाल जस्ता भित्री शहरी क्षेत्रमा पाइपबाट पानी चुहिनेलगायतका समस्या धेरै देखिएको छ’ उनले भने, ‘फाट्टफुट्ट रूपमा अन्य शहरी क्षेत्रभित्र ढल र पाइपलाइनबाट पानी बाहिर निस्किएको छ ।’

लाजिम्पाट, बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर चोक, रत्नपार्कलगायत क्षेत्रका सडकमा पनि यस्तो समस्या बढी देखिएको छ।राईका अनुसार पहिल्यैदेखि ढलको समस्या भएका क्षेत्रका पाइपलाइनमा पनि समस्या देखिएको छ । ढलबाट निस्कने ग्याँसले खानेपानीको पाइपलाई कमजोर बनाएका कारण चुहावटको समस्या देखिने गरेको उनको भनाइ छ।

‘पानी वितरण गर्दा जहाँ–जहाँ समस्या देखिएको छ, त्यहाँ सम्बन्धित वितरण केन्द्रबाट र्‍यापिड रेस्पोन्स टिम खटाएर समाधान गरेका छौं । कतिपय ठाउँमा तुरुन्तै मर्मतको काम भएको छ, कति ठाउँमा मर्मत नभए पनि पानी बन्द गरेर लिकेज रोकिएको छ ।’- प्रकाशकुमार राई, प्रवक्ता, केयूकेएल

‘कतिपय क्षेत्रमा लामो समयदेखि पानी नआएकाले हाउस कनेक्सनमा समस्या देखिन्छ’ उनले भने, ‘अहिले त्यस्ता क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्दैछौं ।’मेलम्चीबाहेक अन्य विकासे निकायले पनि सडकमा विभिन्न काम गर्दा पाइपलाइन र ढल प्रणालीमा क्षति भएकाले ‘लिकेज’ को समस्या बढी देखिएको छ । अहिले केयूकेएलले अनामनगर क्षेत्रका ७२२ वटा धारामा बाहेक अन्य पुरानै प्रणालीबाट पानी छोडेको छ।

शुरुमा महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारबाट पानी वितरण थालेको केयूकेएलले पानीपोखेरी र बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी वितरण थालिसकेको छ । अब बाँसबारी हुँदै अन्य क्षेत्रबाट पनि पानी वितरण थाल्ने योजना छ ।अहिलेसम्म मेलम्चीको करिब दैनिक साढे ८ करोड र केयूकेएलको पुरानो स्रोतबाट प्राप्त करिब ६ देखि ७ करोड लिटर पानी वितरण भइरहेको छ । अब क्रमैसँग १५ दिनभित्र मेलम्चीबाट आउने दैनिक करिब १७ करोड लिटर पानी वितरण थालिसक्ने योजना केयूकेएलको छ ।

यो पनि पढ्नुहोस अहिलेको ढल प्रणालीले मेलम्चीको पानी थेग्‍न मुश्किल

‘पानी वितरण गर्दा जहाँ–जहाँ समस्या देखिएको छ, त्यहाँ सम्बन्धित वितरण केन्द्रबाट र्‍यापिड रेस्पोन्स टिम खटाएर समाधान गरेका छौं’ राई भन्छन्, ‘कतिपय ठाउँमा तुरुन्तै मर्मतको काम भएको छ, कति ठाउँमा मर्मत नभए पनि पानी बन्द गरेर लिकेज रोकिएको छ।’सडकमै समस्या देखिएको ठाउँमा केयूकेएलले सडक विभागको अनुमति लिएर मात्रै खन्न सक्छ । त्यसैले मर्मतको काम रातारात हुन नसक्ने केयूकेएलले जनाएको छ।

केयूकेएलका ढल व्यवस्थापन महाशाखा प्रमुख उज्ज्वल श्रेष्ठ साँघुरा प्रणाली रहेका र जोड्ती कमजोर भएका स्थानमा ढल फुट्ने समस्या देखिनु सामान्य भएको बताउँछन् । ‘१५ करोड लिटरसम्म पानी वितरण हुँदा विगतका वर्षायाममा पनि ढल प्रणालीले राम्रो काम गरेकै थियो’ उनले भने, ‘पुराना समस्या देखिरहने ठाउँमा समस्या आए पनि सामान्य नै मानेर समाधान गर्नुपर्छ ।’ उनले अहिलेसम्म चुनौती महसूस हुने गरी ढल प्रणालीमा समस्या नआएको बताए।

केयूकेएलले काठमाडौंमा बिछ्याइएको करिब एक हजार किलोमिटरको नयाँ वितरणलाइनमार्फत पानी वितरण गर्न अब क्रमैसँग परीक्षण गर्ने योजना बनाएको छ । तर, नयाँ वितरणलाइनमार्फत वितरण शुरु गरेपछि पनि ठाउँ–ठाउँमा लिकेजको समस्या देखिन सक्ने आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलकुमार श्रेष्ठ बताउँछन् ।

‘नयाँ पाइपलाइन परीक्षणको क्रममा विभिन्न ठाउँमा पानी चुहिन सक्छ’ उनले भने, ‘समस्या समाधान गर्दै एक वर्षसम्म लगाएर नयाँ लाइनबाट पानी वितरण गरिसक्छौं ।’

सडकको गुनासो
सडकमा जताततै पाइप फुटेर पानी निस्किएपछि सडक विभागले भने चिन्ता व्यक्त गरेको छ। विगतमा मेलम्चीको पाइपलाइन बिछ्याउँदा बिग्रिएको सडक बल्ल–तल्ल ठीक पारेको भन्दै विभागले फेरि पुरानै दिन आउने चिन्ता जताएको छ।

‘जताततै सकडबाट पानी निस्किंदा हामी चिन्तित छौं, तर यो समस्यालाई समाधान गर्न सकिन्छ’ सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली भन्छन्, ‘केयूकेएलले हामीसँग समन्वय गर्नुपर्छ।उहाँहरूसँग सडकको विज्ञता नभएको भए हामी सघाउन तयार छौं, तर सडक बिग्रिन दिनुभएन ।’


फोटो :  शंकर गिरी/सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment