Comments Add Comment

उपत्यका प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

फाइल तस्वीर

२३ चैत, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

आइतबार बसेको काठमाडौं जिल्ला कोभिड(१९ संकट व्‍यवस्थापन समितिको बैठक काठमाडौं प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।

‘काठमाडौं जिल्लाको हकमा खासगरी कोभिडको संक्रमणदर बढ्न नदिनको निम्ति हामीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेका छौं र हरेक नगरपालिकाले एन्टीजेन टेष्ट गर्ने, त्यसपछि नाकाका नगरपालिकाहरुले हेल्थ डेस्क स्थापना गर्ने, सम्पर्क व्यक्तिहरु पनि तोक्ने र संक्रमण भएको व्यक्तिहरुलाई पीसीआर टेष्ट गर्ने, कन्टयाक्ट ट्रेसिङ गर्ने भन्ने निर्णयहरु भएको छ’ उनले भने ।

यस्तै सबै नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टिन केन्द्रहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिकाभित्र कम्तीमा एक–एकवटा आइसोलेसन केन्द्र र क्वारेन्टिन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै विद्यालयहरुमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरुलाई मास्क लगाउने देखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालयमार्फत गर्ने निर्णय पनि भएको पराजुलीले बताए ।

‘हरेक विद्यालयमा पनि चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, शिक्षा कार्यालय मार्फत त्यहाँको विद्यार्थी शिक्षकहरुलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने, कक्षा कोठाहरु व्यवस्थित गर्ने, साबुन पानीको व्यवस्था गर्ने, सेनिटाइजरको प्रयोग गर्ने भन्ने कुराहरु पनि भएको छ । हरेक नगरपालिकाले एउटाएउटा आइसोलेसन केन्द्र र क्वारेन्टिनको व्यवस्था गर्ने र संक्रमित व्यक्तिहरुलाई तुरुन्त रिफर गर्ने भन्ने कुराहरु पनि भएको छ’ उनले भने ।

स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका सुरक्षा निकायले प्रचार प्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगर्ने गरेको पाइएमा दण्ड जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

कोभिड–१९ का संक्रमितहरुको केस इन्भेष्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था स्थानीय तहमार्फत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै सोमबारदेखि लागू हुनेगरी नेपाल प्रहरीले ठाउँठाउँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन आग्रह गर्ने र मास्क वितरण गर्ने, सार्वजनिक यातायातमा पनि अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment