
२३ चैत, काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४४ औं प्राज्ञ सभाले आर्थिक वर्ष २०७७-०७८ का लागि ४० करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
सरकारको ३९ करोड ८ लाख, वैदेशिक तथा अन्य सहयोगबाट २१ लाख ९५ हजार तथा आन्तरिक स्रोतबाट ७० लाख गरी कुल ३९ करोड ९९ लाख ९५ हजार रुपैयाँको प्रस्तावित कार्यक्रम र बजेटलाई प्राज्ञ सभाले स्वीकृति दिएको नास्टका उपलकुलपति सुनीलबाबु श्रेष्ठले बताए ।
उनले भने, ‘आर्थिक वर्ष २०७७-०७८ का लागि ४० करोडको बजेट स्वीकृत भएको छ। उक्त बजेटले सेन्टर अफ एक्सिलेन्स, प्रविधि परीक्षण एवं सर्टिफिकेसन केन्द्रको स्थापना, राष्ट्रिय विज्ञान, प्रविधि, नवप्रवर्तन ज्ञान केन्द्रको स्थापना गर्नुका साथै लोबुचेस्थित पिरामिड प्रयोगशालालाई अन्तर्राष्ट्रिय उच्च पर्वतीय अनुसन्धान केन्द्रमा रुपान्तरण गरी सञ्चालनमा ल्याउने योजना छ ।’
उनका अनुसार अब प्राज्ञ सभाले प्रतिष्ठानको प्रदेश तहमा विशिष्टतासहितको अनुसन्धान केन्द्र स्थापना एवं सञ्चालन नियमावली सम्बन्धी मस्यौदालाई २ महिनाभित्र परिमार्जन गरी ४५ औं प्राज्ञ सभामा पेश गर्ने निर्णय गरेको छ ।
प्राज्ञ सभाले विज्ञान प्रविधिका ११ भिन्न विधाका १७ व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। जस अनुसार डब्लूडब्लूएफलाई प्रकृति संरक्षण पुरस्कार, राष्ट्रिय आविष्कार केन्द्रलाई कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, वातावरण अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठलाई विज्ञान पुरस्कार, शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई प्रविधि पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
नास्टका प्रवक्ता सुरेश कुरमा ढुंगेलका अनुसार प्रकृति संरक्षण पुरस्कार र कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार २-२ लाख राशिको रहेको छ भने विज्ञान प्रविधि पुरस्कार दुईजनालाई १-१ लाख राशिको रहेको छ ।
यस्तै विज्ञान तथा प्रविधि युवा पुरस्कार पाँच जनालाई ७५-७५ हजार राशिको रहेको छ भने विज्ञान तथा प्रविधि महिला पुरस्कार ७५ हजार राशिको रहेको छ। यसैगरी प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार दुई जनतालाई ५०-५० हजार राशिको रहेको छ । यस्तै विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार एक जनालाई ५० हजार राशिको रहेको छ ।
यस्तै दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार दुईजनालाई २५-२५ हजार राशिको रहेको छ भने फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार ५० हजार राशिको रहेको छ । त्यसैगरी विज्ञान शिक्षक पुरस्कार ७५ हजार राशिको रहेको प्रवक्ता ढुंगेलले बताए । उनले भने, ‘यो वर्षको अन्तिम महिना भइसकेकाले पुरस्कृत हुने व्यक्ति र संस्थालाई नयाँ वर्षमा पुरस्कार प्रदान गर्नेछौ।’
क्र. सं. |
पुरस्कारको किसिम |
पुरस्कारका लागी छनौट हुनु भएका व्यक्ति वा संस्थाहरु |
१ |
प्रकृति संरक्षण पुरस्कार |
विश्व वन्यजन्तु कोष, नेपाल (WWF, Nepal), काठमाण्डौ |
२ |
कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार |
राष्ट्रिय आविष्कार केन्द्र, किर्तिपुर, काठमाण्डौ
|
३ |
विज्ञान पुरस्कार |
डा. उत्तम बाबु श्रेष्ठ, ग्लोबल इन्स्टच्युट फर इन्टरडिस्सीप्लीनरी स्टडिज, काठमाण्डौ |
४ |
प्रविधि पुरस्कार |
डा. शेर बहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाण्डौ |
५ |
विज्ञान तथा प्रविधि युवा पुरस्कार |
डा. भेषराज थापा, युनिभर्सल इञ्जिनियरिङ कलेज, ललितपुर |
६ |
विज्ञान तथा प्रविधि युवा पुरस्कार |
डा. सुनिता गौतम, शिखर बायोटेक प्रा.लि., ललितपुर |
७ |
विज्ञान तथा प्रविधि युवा पुरस्कार |
डा. आनन्द मिश्र, कृषि अनुसन्धान निर्देशनालय, प्रदेश नं. २ |
८ |
विज्ञान तथा प्रविधि युवा पुरस्कार |
डा. अनुपमा श्रेष्ठ, हिमालयन कलेज अफ एग्रीकल्चर साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट), काठमाण्डौ |
९ |
विज्ञान तथा प्रविधि युवा पुरस्कार |
डा. सागर रेग्मी, व्यबहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), त्रि.वि.वि. , किर्तिपुर, काठमाण्डौ |
१० |
विज्ञान तथा प्रविधि महिला पुरस्कार |
डा. रेशमा तुलाधर, सुक्ष्मजीव विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्रविद्यालय, किर्तिपुर, काठमाण्डौ |
११ |
प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार |
नेपाल विज्ञान शिक्षक समाज, काठमाण्डौ
|
१२ |
प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार |
सुश्री मनिषा द्वा, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नेपाल |
१३ |
विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार |
श्री गोविन्द प्रसाद पोखरेल, कान्तिपुर दैनिक, काठमाण्डौ |
१४ |
दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार |
सुश्री मिरा खड्का , काठमाण्डौ विश्वविद्यालय, धुलिखेल, काभ्रे |
१५ |
दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार |
श्री प्रदीप कुमार चौधरी, जैविक प्रविधि केन्द्रीय विभाग, त्रि.वि.वि., किर्तिपुर |
१६ |
फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार |
श्री दिपेश दुवे, कृषि तथा वन विश्वविद्यालय, चितवन |
१७ |
विज्ञान शिक्षक पुरस्कार |
श्री नातिकाजी महर्जन, श्री ज्ञानोदय माध्यमिक विद्यालय, बाफल, काठमाण्डौ |
प्राज्ञ सभामा नास्टका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमा नबसी फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गरेका थिए । उनले भने, ‘अहिलेसम्म हाम्रो गति उत्साहहीन, संकल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको छ । तर अब नयाँ शिराबाट विचार पर्याउनु पर्ने देखिन्छ ।’
करिब एक सय ११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत गृह बनाउने देश अहिले पछाडि परेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले वैज्ञानिकलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गरे।
यस्तै सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टका सह-कुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताए ।
प्रतिक्रिया 4