Comments Add Comment

६ वर्षमा थपिए १०७ गैंडा, सबभन्दा धेरै चितवनमा

२८ चैत, चितवन । विश्वमै दुलर्भ मानिने एकसिङे गैंडा पछिल्लो ६ वर्षको अवधिमा नेपालमा १०७ ले बढेको पाइएको छ । चार राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रहरूमा १८ दिन लगाएर गरिएको गणनामा गैंडाको संख्या ७५२ पाइएको हो ।

१९५० को दशकमा नेपालमा ८०० गैंडा थिए । तर १९६० को दशकमा घटेर करीव एक सय हाराहारीमा आइपुगेको थियो । संरक्षणका लागि गरेको पहलसँग गैंडाको संख्या क्रमशः बढ्यो र २०१५ मा गरिएको गणनामा गैंडाको संख्या ६४५ पाइएको थियो ।

शनिबार सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित पत्रकार सम्मेलनमा वन तथा बातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले गैंडाको संख्या अझ बढेको जानकारी दिए ।

एक सिङ्गे गैंडाको संख्या सबभन्दा बढी चितवनमा ६९४ पुगेको छ । यसअघि ६०५ रहेको थियो । निकुञ्जका अनुसार सन् २०१५ को गणनायता १६१ वटा गैंडा मरिसकेका छन् ।

२०१५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैंडा थियो । अहिले बढेर ३८ पुगेको छ । यस्तै शुक्लाफाँटमा ८ बाट बढेर १८ पुगेको छ । सन् २०१५ मा पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैंडा रहेकोमा यसपटकको गणनामा पनि सोही संख्या रहेको पाइएको छ ।

निकुञ्जले बयश्क, अर्ध बयश्क र बच्चा गरि तीन भागमा बर्गिकरण गरेको तथ्यांक निकालेको छ । छुट्टएिको भालेको संख्या १४६ र पोथीको संख्या १९८ छ भने लिंग पहिचान नभएको संख्या ४०८ छ । बयश्क गैंडा ५२०, अर्ध वयश्क ९६ र बच्चा १३६ छन् ।

निकुञ्ज क्षेत्रमा ब्लक-ब्लक गरेर गणना गरिएको थियो । कुन ब्लकमा कति गैंडा छन् भन्ने तथ्यांक पनि सार्वजनिक गरिने बन्यजन्तु विभागका महानिर्देशक डा. दीपककुमार खरालले जानकारी दिए ।

उनकाअनुसार गैंडाको जन्म, मृत्यु र वसाइसराईको अवस्था हेरेर तथ्यांकको विष्लेषण गरिनेछ । गैंडा गणना कार्यलाई वैज्ञानिक एवम् व्यवस्थित बनाउन कुनै गैंडा नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ गैंडाको वासस्थान रहेको सबै स्थानमा ५० देखि एक सय मिटर दूरीमा जीपीएस, दुरविनसहित प्राविधिकहरु बसेर गैंडा स्वीप गर्दै गणना गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुञ्जमा गरिएको गणनामा ४३ वटा हात्तीसहित करिब २५० जनशक्ति परिचालन गरिएको थियो ।

गैंडा गणनाका क्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट हात्तीसार कर्मचारी पुलिसराम थारुको मृत्यु भएको थियो । हात्तीबाट लडेर ८ जना घाइते भएका छन् । नवलपरासी, अमलटारीको निकुञ्ज क्षेत्रमा धु्रबे हात्तीसँग भएको जम्काभेटमा गैंढा गणनामा प्रयोग भएको हात्ती डराएर भाग्दा लडेर ८ जना कर्मचारी घाइते भएका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक सहयोगमा भएको गैंडा गणनामा १ करोड ४० लाख खर्च भएको छ । यसअघिका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा मात्रै गरिने गणनाका लागि यो पटक सरकारले एक करोड १० लाख उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment