Comments Add Comment

‘लघुवित्तको पुँजी ५ गुणासम्म बढाए पनि हाम्रो आपत्ति हुँदैन’

फाइल तस्वीर

२९ चैत, काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालले लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी विद्यमान व्यवस्था भन्दा ५ गुणा बढाए पनि आपत्ति नहुने बताएका छन् । लघुवित्तहरु आफैं सक्षम हुँदै गएको र अहिले तोकिएको पुँजी कम भएको भन्दै ५ गुणासम्म बढेपनि समस्या नपर्ने अध्यक्ष लम्सालले बताएका हुन् । तर यसका लागि केन्द्रीय बैंकले हकप्रद सेयर जारी गर्न भने खुला गर्नु पर्ने उनले बताए ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि १० करोड रुपैयाँ पुँजी तोकिदिएको छ । १० करोड पुँजी भएका लघुवित्तहरुले राष्ट्रिय स्तरमै कारोबार विस्तार गर्न पाउँछन् । पाँच वर्ष अघि राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास र ‘ग’ वर्गका विकास बैंकहरुको पुँजी चार गुणसम्मले वृद्धि गरेको थियो ।

राष्ट्र बैंकको पुँजी वृद्धि योजना अघि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका वाणिज्य बैंकहरुले ८ अर्ब पुर्‍याइसकेका छन् । तत्कालिन अवस्थामा पनि राष्ट्रिय स्तरको लघुवित्तहरुको पुँजी १० करोड रुपैयाँ नै थियो ।

लामो समयसम्म लघुवित्तको पुँजी वृद्धि नगरिएको भन्दै लघुवित्त क्षेत्रका सरोकारवालाहरुले नै पुँजी वृद्धिको मुद्दा उठाउन थालिसकेका छन् ।

पुँजी वृद्धिको बहस चलिरहेका बेला अध्यक्ष लम्सालले अहिले धेरै लघुवित्तहरुको चुक्ता पुँजी ४० करोड रुपैयाँ भन्दामाथि पुगिसकेको बताए । अब १० करोडबाट बढाएर ५० करोड तोकिए पनि धेरै लघुवित्तहरुले सहजै चुक्ता पुँजी पुर्‍याउन सक्ने उनको भनाइ छ ।

‘लघुवित्तहरु त्यति कमजोर पनि छैनन्, ५० करोड पनि पुँजी पुर्‍याउन सक्छन्’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘तर यसका लागि अहिले राष्ट्र बैंकले बन्द गरेको हकप्रद सेयर दिनसक्ने सुविधा भने खुला गरिदिनु पर्छ, निश्चित प्रतिशत तोकेदिएर भए पनि हकप्रद जारी गर्न सक्ने सुविधा दिनु पर्छ ।’

आधिकारिक रुपमा नै लघुवित्त बैंकर्स संघले राष्ट्र बैंकलाई पुँजी बढाए समस्या नहुने जानकारी गराएको समेत उनले बताए ।

लघुवित्तहरुको संख्या पनि घट्ने क्रममा रहेको भन्दै उनले अझै घट्ने बताए । संख्या घटेर संस्था बलियो हुने उनी बताउँछन् । करिब एक सय हाराहारीमा पुगेको लघुवित्त वित्तीय संस्थाहरुको संख्या चालु आर्थिक वर्षमा नै ६० हाराहारीमा झर्ने र आगामी आर्थिक वर्षमा अझै घट्ने अध्यक्ष लम्सालको अनुमान छ ।

नेपाल जस्तो मुलुकमा ३० वटा लघुवित्त संस्था भए पुग्ने उनी बताउँछन् । पुँजी बढाएर मर्जरमा लैजाने नीति लिए पनि बैंकका लागि राम्रो हुने उनी बताउँछन् ।

हकप्रदका विषयमा भने केन्द्रीय बैंक थोरै लचिलो हुनु पर्ने उनी बताउँछन् ।

‘मर्जरलाई पनि राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्छ, केही प्रतिशत भने हकप्रद दिन सकिने व्यवस्था पनि गर्नैंपर्छ,’ अध्यक्ष लम्साल भन्छन्, ‘यति भयो भने पुँजी बढाउन समस्या हुँदैन ।’ यस अघि हकप्रदबाट मात्रै पुँजी बढाइएको कारण समस्या देखिएको भन्दै उनले अब हकप्रद पनि खुला गर्ने र मर्जरलाई पनि प्रोत्सहन गर्ने नीति लिनु पर्ने उनको सुझाव छ ।

लघुवित्तहरुले लामो समयदेखि श्रोत अभावको समस्या झेल्दै आएका छन् । कोरोना पछि भने श्रोत अभावको समस्या खासै खेप्नु नपरेको समेत उनले बताए । बैंकहरुमा लगानी योग्य रकमको पर्याप्तताका कारण अहिले लगानी गर्न रकम अभावको सामना गर्नु नपरेको उनले जानकारी दिए ।

सस्तोमा पैसा लिएर सर्वसाधारण ग्राहकलाई महंगो ब्याजमा कर्जा लगानी गर्छन भन्ने आरोप पनि लघुवित्तहरुले झेल्दै आएका छन् । तर पछिल्लो समय ब्याजदरमा समस्या नरहेको समेत उनले बताए । श्रोत अभाव नरहेको र ब्याजदर पनि अहिले सस्तो रहेको उनले बताए ।

‘हामीले सस्तोमा पायौँ भने सस्तोमा दिन कुनै समस्या छैन, अहिले ब्याजदर सस्तै छ,’ उनले भने, ‘तर राष्ट्र बैंकले बेसरेट भन्दा तल दिन नपाउने भनेका कारण ५ देखि ८ प्रतिशतसम्म बेसरेट भएका वाणिज्य बैंकहरुले अलि बढी लिन्छन् कि भन्ने डर छ, यसले थोरै रेट बढेको छ ।’

यस अघि नै गइसकेको कर्जाको भने ब्याजदर पुरानै कायम रहेको उनले बताए । बेसरेट भन्दा तल ऋण दिन नपाउने व्यवस्था राष्ट्र बैंकले गर्न नहुने आफूहरुको माग रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment