Comments Add Comment

एकैदिन ८ जनाको मृत्यु, ५५९ संक्रमित थपिए

३० चैत, काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमबार विहान साढे दुई घण्टाको अन्तरमा तीन जना कोरोना संक्रमितको मृत्यु भयो ।

मृतकमध्ये बाणगंगा–३, कपिलवस्तुका ७९ वर्षीय पुरुष र मालारानी–५ अर्घाखाँचीका ७९ वर्षीया महिला कोरोना संक्रमण भएर तीनदिन अगाडि अस्पतालमा भर्ना भएका थिए । तिलोत्तमा–१, रुपन्देहीकी ७१ वर्षीया महिला भने २३ चैतमा अस्पताल भर्ना भएकी थिइन् । मृतक तीन जनामा एउटा समानता छ, ज्वरो, निमोनिया, दम र स्वास प्रश्वासको समस्या लिएर अस्पताल आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा मृत्यु भएर सोमबार रिपोर्ट भएका थप पाँच जना पनि जोड्दा मृतकको संख्यामा एकैदिन १३ थप भएको छ ।

सोमबार नयाँ संक्रमितको संख्या पनि ५०० नाघेको छ । मन्त्रालयका अनुसार ५१०५ नमुनाको पीसीआर टेष्ट गर्दा ४९६ जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट नेपाल प्रवेश गर्ने ८ नाकामा ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ । सबभन्दा धरै कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा ५४ जनाको एन्टिजेन टेष्टमा पोजेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकले पछिल्ला केही दिनमा संक्रमितको संख्या उकालो लागेको देखाएको छ । तर जनस्वास्थ्य विज्ञहरुले भने संक्रमण एक्कासी नबढेको बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोला भन्छन्, ‘हामी कहाँ संक्रमण पुरै नियन्त्रणमा आएकै थिएन । हामीले पुस, माघ, फागुनमा रोकथामका उपाय छाडिदियौं ।’

५ पुसमा संसद विघटन भएपछि पक्ष र विपक्षमा राजनीतिक दलहरुले सभा सम्मेलन गरे, हजारौं मानिसहरु जम्मा गरेर भाषण गरे । नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाडे । डा. बास्तोलाका अनुसार यसले हामीमाझ भएको संक्रमण सुस्त गतिमा फैलिएकै थियो । अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा पनि निगरानी नभएका कारण नयाँ भेरियन्टले पनि नेपालमा प्रवेश पायो ।

समुदायमा संक्रमण फैलिन थालेपछि संक्रमित र मृतकको संख्या बढ्न थालेको उनले बताए । कोभिड अस्पतालहरुमा केही पहिलेदेखि संक्रमित बढ्न थालेको भन्दै डा. बास्तोलाले भने, ‘अहिले मृत्यु भएका मानिसहरुलाई भर्खर संक्रमण भएको होइन, कम्तीमा पनि दुई साता वा सोभन्दा अगाडि नै संक्रमण भएको हुनुपर्छ ।’

संक्रमण भएको दुई साताभित्र लक्षण देखिने र गाह्रो भएपछि मात्र अस्पताल आउने गरेको उनले सुनाए । लक्षण देखिएका कतिपय मानिसले अझै पनि सामान्य रुघाखोकी होला, प्रदुषणका कारण होला भनेर पनि परीक्षण नगर्ने गरेको पाइएको छ ।

जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगर्ने हो भने संक्रमण अझ् बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन सिफारिस गरेको छ । तर न राजनीतिक दलहरुले सभा समारोह गर्न छाडेका छन्, न जनस्वास्थ्य मापदण्ड पालना प्रभावकारी रुपमा नै हुन सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment