Comments Add Comment

लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह

इष्ट इन्डिया कम्पनीका प्रतिनिधि फ्रान्सिस् बुचनन् हृयामिल्टनले लेखेको ‘एन एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ (सन् १८१९) पुस्तकमा पूर्वी नेपालको केही इतिहास पढ्न पाइन्छ । यस्तै, सर ब्रायन हड्सनका कृतिहरुबाट पनि १९औं शताब्दिताका नेपालमा भएका घट्नाक्रम हुन्छ ।

विदेशी लेखकहरुका यस्ता अन्य कृतिहरु पनि छन । तर, राज्यले शासन संचालन गर्दा जारी गरेका दस्तावेजमै केन्द्रित भएर लेखिएको सामग्री प्रकाशित भएको थिएन ।

हालसालै भगिराज इङ्नामले त्यो कमि पूरा गरिदिएका छन् । इङ्नामलिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (पुस २०७७)’ वि.सं. १७१९ देखि २०२० सम्म विशेषत लिम्बुवान क्षेत्रमा जारी भएका दस्तावेजहरुको संगालो हो ।

हुन त पृथ्वीनारायण शाहले १८३१ श्रावणमा जारी गरेको एक लालमोहर लिम्बुवानमा चर्चामै थियो । त्यो लालमोहरमा ‘लिम्बुहरुले खाइपाई आएको खाइनपाईन थामी दिदैं, खोसेमा हामीले मानी पुजी ल्याएको देवी देवताले हामीहरुलाई नास गरुन,’ लेखिएको छ । अहिलेसम्म यसको सक्कल पाइएको छैन । धेरै लिम्बूहरुसँग पाइने नक्कलमा स्रोत उल्लेख छैन (पृष्ठ २७६,२७७)

यो लालमोहर लिम्बुवानका श्रीशुनराई, श्रीकुमराई र श्रीजङ राईलाई उपलब्ध गराएको देखिन्छ । यो लालमोहर लिम्बुवानप्रति गोर्खा राज्यले अपनाउने मुख्य नीति थियो । गोर्खा राज्यले यसैका आधारमा अन्य दस्तावेज जारी गर्‍यो । लिम्बुवानमा वि.सं. १८३१ अघि सेन वंशको नाम मात्रको शासन सत्ता थियो ।

सेन वंशले पनि लिम्बु समुदायलाई संभवतः यस्तै सम्झौताद्वारा नै शासन गरेको थियो । तर, त्यो जानकारी अहिलेसम्म फेला परेको छैन । सेनहरुले लिम्बु समुदायलाई उल्लेख्य अधिकार दिएका कारण यस्तो अनुमान गर्न सकिन्छ । शाहहरुले पनि सेन वंशले जति नै अधिकार लिम्बुलाई दिएका हुन् ।

अर्थात्, पृथ्वीनारायण शाहले पनि लिम्बुवानमा लिम्बुको राजनीतिक, समाजिक, धार्मिक रीति-थितिअनुसार शासन चलाउन लालमोहर प्रदान गरेका थिए । तर, उनका सन्तानले ५० वर्ष नपुग्दै त्यो दस्तावेज फिर्ता गर्न अर्को लालमोहर जारी गरे ।

‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ मा सेन राजा, शाह राजा, राणा प्रधानमन्त्री तथा सरकारी कर्मचारीले शासन संचालन गर्न जारी गरेका ७८ लालमोहरसहित ३९५ वटा दस्तावेज समावेस छन् । दस्तावेजहरुको प्रकृतिअनुसार पुस्तक ३ भागमा विभाजित छ।

पहिलो भागमा राजाहरुबाट जारी सक्कल स्याहामोहर, लालमोहर र रुक्काहरु संलग्न छन् भने दोस्रो भागमा स्याहामोहर, लालमोहर र रुक्काहरुका नक्कल । अन्तिम भागमा राणा प्रधानमन्त्री र सरकारी अड्डाबाट जारी कास्यपत्र, अर्जीपत्र, सक्कल रसिद, आदेश तथा गौंडाका सैनिक भारदार र केन्द्रबीच आदान-प्रदान भएका चिठी-पत्र समावेस छन ।

नेपाल सरकारले २००८ सालबाट यस्ता दस्तावेज (ऐन, नियमावली) नेपाल राजपत्रमा प्रकाशन गर्न थालेको हो, जसलाई २०२३ माघ १७ गते भन्दा अघि नेपाल गजेट भनिन्थ्यो ।

स्याहामोहर/लालमोहर

हेमाङ्गराज अधिकारी र बद्री विशाल भट्टराईद्वारा सम्पादित ‘प्रयोगात्मक नेपाली शब्दकोश’ (२०७१) अनुसार आयव्यय सम्बन्धी विवरणलाई स्याहा वा स्याहास्रेस्ता भनिन्छ । मोहरले निसाना वा छाप भन्ने बुझाउँछ । स्याहा र मोहर दुई शव्दबाट स्याहामोहर बनेको हो ।

सेन राजा वा सेन मन्त्रीले आयव्यय सम्बन्धी जारी गरेको छाप सहितको दस्तावेजलाई स्याहामोहर भनिदो रहेछ । यस्ता कागजातको माथिल्लो भागमा कालो रंगको छाप हुन्छ । फारसी ‘सिहाय’बाट हिन्दी शब्द ‘स्याहा’ हो । हिन्दी भाषामा स्याहाको अर्थ कालो भन्ने हुन्छ ।

विजयपुरका राजा कामदत्त सेनले इवाहाङ थरका लिम्बुहरुलाई ‘राय’ पदवीसहित खान्कीवापत वि.सं. १८१४ मा दिएको स्याहामोहर पुस्तकमा समावेस छ । हालसम्म पाइएकोमध्ये कतै प्रकाशित नभएको सक्कल स्याहामोहर हो, यो । यसलाई देवान सीरीकंन्त रायेले रुजु गरेको देखिन्छ (पृष्ठ ४१)।

पुस्तकमा जग्गा दिएको स्याहामोहर, जागिर सम्बन्धी स्याहामोहर, सैनिक सहयोग, विजयपुर र पुणिर्या राज्यबीचको व्यापारिक सन्धि, विवाह मुद्दासहित जम्मा ११ वटा सेनकालीन दस्तावेज छन् । यीमध्ये लिम्बु शव्द उल्लेख भएको एउटा स्याहामोहर वि.सं. १८२४ मा जारी भएको रहेछ । ‘लिम्ब’ लेखिएको यो नै पहिलो गोर्खाली अभिलेख हो ।

पृथ्वीनारायण शाहको पालामा जारी कागजातको माथिल्लो भागमा कालोको साटो रातो रंगको छाप प्रयोग गरियो र त्यसलाई स्याहामोहरको सट्टा लालमोहर भन्न थालियो ।

पुस्तकमा १८३१ पछि रणबहादुर शाहका पाला (१८३५-५५) मा १० वटा लालमोहर जारी गरेको देखिन्छ । तीमध्ये वि.सं. १८४३ फाल्गुनमा ‘गोवध गरे मास्नु’ भन्ने एक लालमोहर जारी भएको रहेछ ।

उक्त लालमोहरमा चुगम राईलाई निजका बाबु-बाजेले सेनकालबाटै खाईपाई आएको रीतिथिति कायम गरी कर तिर्नु, गोवध गरे मास्नु भन्ने व्यवहोरा छ । मास्नु भनेको जातच्युत गर्नु भन्ने हो । यसले लिम्बु, राई, याक्खा समुदायले १८४३ सालसम्म गाईगोरु काटमार गरी खान्थे भन्ने बुझिन्छ ।

गीर्वाणयुद्ध विक्रम शाहको पाला -वि.सं. १८५५-१८७३) सम्म १७ वटा लालमोहर जारी भएको पाइएको छ । राजेन्द्र विक्रम शाह – १८७३-१९०४) ले लालमोहरसहित सय दस्तावेज जारी गरे । १८९४ मा मात्र उनले १५ वटा दस्तावेज जारी गरेको देखिन्छ ।

१८७८ मै जारी भएको एक लालमोहरमा ‘गाई-गोरु मुग्लान लगी बेचे दण्ड’ भन्ने लेखिएको छ । यसमा अधिकार हुनेले आफै दण्ड गर्नु र अधिकार नहुनेले अमालमा लगि दण्ड गराउनु भन्ने छ । यो लालमोहर जारी गरिनु भनेको त्यसबेला राज्य हिन्दु धर्ममा बढी केन्द्रित हुँदै गएको संकेत हो ।

१८७८ मा जारी लालमोहरमा ‘स्वरुप विष्ट र मेजर रामनाथ पाथ्याले वि.सं. १८७८ मा नापी गर्न जाँदा उपलब्ध गराएको लालमोहरबाहेक त्यसअघि जारी भएको सबै लालमोहर फिर्ता गर्नु अन्यथा सजायको भागीदार हुने’ व्यहोरा लेखिएको छ ।

यसले वि.सं. १८३१ को लालमोहर (सम्झौता) शाह राजाले फिर्ता लिएको देखाउँछ । लिम्बु, राई र याक्खाहरुले के कति लालमोहर बुझाए जानकारी भने कतै पाइन्न ।

लालमोहरका नक्कल उतारेर राखेको बढी भेटिनाले त्यसबेला निकै फिर्ता गरियो होला भन्ने अनुमान गर्न भने सकिन्छ । धेरैजसो सक्कल लालमोहर अहिलेसम्म अप्रकाशित छन ।

अन्य दस्तावेज

नेपालमा वि.सं. १९०३ देखि २००७ सम्म राणा शासन रहृयो । राणा शासकहरुले बढी मात्रामा रुक्का, कस्यरुक्का, इश्तिहार, प्रशस्तिसौं आदि आदेशका रुपमा पठाउँथे । ‘प्रयोगात्मक नेपाली शब्दकोश’ अनुसार ‘रक्का’ भनेको स्थिति वा व्यवस्था मिलाउन राजा वा राणा प्रधानमन्त्रीले दिने तोक, आदेश वा आज्ञापत्र, हुकुमी आदेश आदि हो ।

‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’को शब्दार्थमा भने ‘रुक्का भनेको राणा शासनभन्दा पहिले श्री ५ को शासन सुरु भएपछि श्री ३ को हुकुमको तोक लेखिएको सानो पत्र हो’ लेखिएको छ । पुस्तकका अनुसार, वि.सं. १८४१, १८८७, १८८९ (३ वटा), १९९२, १८९४ (२ वटा), १८९५, १८९६ (२ वटा), १८९७, १९०० (२ वटा), १९०५ र १९०६ मा रुक्का जारी भयो । इङ्नामले रुक्काको परिभाषामा भनेजस्तो समयावधि मिल्दैन ।

‘यो जोसँग सम्बन्धित छ’ भन्ने लिखत हिजोआज पनि प्रचलनमा छ । उहिले यसलाई कस्यपत्र वा कस्यरुक्का भनिन्थ्यो । अर्थात्, राजा वा राणाले सम्बन्धित व्यक्तिलाई दिएको आदेश, आज्ञापत्र कस्य रुक्का हो । राजा वा राणाले जारी गरेको पत्रको माथिल्लो भागमा रातो छाप लगाउने प्रचलन भएकाले कस्यरुक्का वा कस्यपत्रलाई लालमोहर पनि भनियो ।

लालमोहरको माथिल्लो हरफ वा वाक्यहरुमा राजा र भगवानको स्तुतीगान लेखिएको हुन्छ । वि.सं. १८९४ मा जारी एक दस्तावेज भने अपवादका रुपमा कस्यरुक्का शैलीमा लेखिएको छ । तैपनि, त्यसको विवरणमा ‘रुपैयाँ ८० ठेक वंदि लालमोहर गरि वक्स्यौं’ लेखिएको छ । यसबाट कुन लालमोहर हो र कुन रुक्का हो भन्ने परिभाषित गर्न दुविधा हुन्छ ।

नेपाली शव्दकोषअनुसार प्रशस्ति भनेको प्रशंसा, तारीफ, कुनै राजाको वंश, कीर्ति, प्रशंसा आदिको वर्णन भएको वाक्य हो । लालमोहरमा राजाको गुनगान गाईएकै हुन्छ, तर त्यो क्षणिक समय वा कम महत्वको हुन्छ । राज्यले जनतालाई जानकारी वा सुचित गराउने दस्तावेजलाई चाही इश्तिहार वा प्रशस्ति भनेर बुझिन्छ ।

प्रशस्तिलाई ‘प्रशस्तिसौं’ पनि लेखिएका छन् । पुस्तकमा उपलब्ध इश्तिहार, प्रशस्तिसौंले त्यसबेला राज्य र जनताबिच के कस्ता कुराकानी हुन्थ्यो भन्ने बुझिन्छ ।

इङ्नामले निकै मिहिनेत गरेर पाठकसामु ल्याएका दस्तावेजहरु लिम्बुवानको इतिहासमा रुची राख्नेहरुका लागि महत्वपूर्ण छ । यसअघि यस्तो पुस्तक प्रकाशन भएको थिएन । उनले पुस्तक लेख्नुको मुख्य उदेश्य ‘पाएसम्म सक्कल स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र, इस्तिहार र अन्य कागजात जस्तै ऐतिहासिक, पुरातात्विक दस्तावेज सङ्कलन गर्नु हो’ भनेका छन् । यसमा उनी सफल भएका छन् ।

पुस्तकमा सबै दस्तावेज प्राकृतिक स्वरुपमा छापिए पनि पढ्न सकिने अवस्थामा छैनन् । तिनलाई अर्को पानामा बुझ्ने गरी लेखिएको छ । त्यसमुनी सांरास पनि दिइएकोले जो कोहीले दस्ताजेज अथ्र्याउन सक्छ । यस्तो परिश्रमका निम्ति पनि लेखक साधुवादका पात्र बनेका छन् ।

कृति : लिम्बूवानको ऐतिहासिक दस्तवेज सङ्ग्रह: सम्वत १७१९-२०२० (सन् १६६२ – १९६३)

लेखक : भगिराज इङ्नाम

प्रकाशक : अतित इङ्नाम/शान्तकला मुदेनसङ् साँवा इङ्नाम

पृष्ठ : ९१६, मूल्य : रु. १८००, २५०० (हार्डकभर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment