Comments Add Comment

…यहींबाट शुरू भयो संसदीय सर्वोच्चता

संसद भनेको प्रजातान्त्रिक मुलुकमा जनताद्वारा निर्वाचित प्रतिनिधिको सर्वोच्च संस्था हो । आज विश्वका सबै प्रजातान्त्रिक मुलुकका संविधानमा संसदीय सर्वोच्चताको प्रावधान पाइन्छ ।

संसदमा जनताद्वारा चुनिएका व्यक्ति हुन्छन् र उनीहरूले नै जनताको चाहनाअनुसार राज्यको नीतिनिर्माण गर्छन् तर केही शताब्दीअघि भने यस्तो व्यवस्था थिएन ।

संसदीय सर्वोच्चताको व्यवस्था त सन् १६८८ मा बेलायतमा भएको क्रान्ति, जसलाई ‘गौरवमय क्रान्ति’ पनि भनिन्छ, त्यसपछिबाट विश्वभरि फैलिएको हो ।

सामान्यतः क्रान्ति शब्द सुन्ने बित्तिकै प्रायः हामी रगत बगेको, कैयौं शहीद बनेको भन्ने अर्थमा बुझ्छौं तर सन् १६८८ मा बेलायतमा भएको एउटा यस्तो क्रान्ति थियो जहाँ एक जना व्यक्तिले पनि ज्यान गुमाउनु परेन तर ठूलो परिवर्तन आएको थियो ।

त्यसैले यो क्रान्तिलाई सन् १६८९ मा जोन ह्याम्पडेनद्वारा गौरवमय क्रान्ति नामकरण गरियो । यसै क्रान्तिमार्फत बेलायती जनताले राजासँग भएको अधिकार खोसेर आफैंलाई अर्थात् संसदलाई सुम्पिएका थिए । तर उनीहरूले राजतन्त्र भने हटाएनन् ।

****

यसभन्दा अगाडि राजाले जनतामाथि अधिकार जमाउँथे, उनले जे बोल्यो त्यही कानून बन्थ्यो र जनताले त्यसलाई अक्षरशः पालना गर्नुपर्दथ्यो । जब राजाले मनलाग्दी कर बढाउन थाल्थे त्यतिबेला मानिसहरूले राजामाथि पनि अंकुश लगाउन आवश्यक ठान्दथे ।

क्रान्ति शब्द सुन्ने बित्तिकै प्रायः हामी रगत बगेको, कैयौं शहीद बनेको भन्ने अर्थमा बुझ्छौं तर सन् १६८८ मा बेलायतमा भएको एउटा यस्तो क्रान्ति थियो जहाँ एक जना व्यक्तिले पनि आफ्नो ज्यान गुमाउनु परेन तर ठूलो परिवर्तन आएको थियो ।

फलस्वरूप सन् १२१५ मा पहिलोपटक राजा र जनप्रतिनिधिहरूको सम्झौता ल्याइयो जसलाई ‘म्याग्नाकार्टा’ भनिन्छ । तत्कालीन बेलायती राजा जोनले हस्ताक्षर गरेको म्याग्नाकार्टाका अनुसार राजाले कर बढाउनुअघि सभासँग अनुमति लिनुपर्दथ्यो ।

सभामा चाहिं समाजका धनीमानी तथा जमीनदारहरू रहन्थे । त्यो सभामा गरीब व्यक्तिहरूको प्रतिनिधि नभए पनि राजामाथि अंकुश लगाउने राम्रो कदमको शुरुआत भने भएको थियो । त्यसपछि बेलायतमा सन् १२६५ मा पहिलोपटक संसदको स्थापना भयो । त्यसपछि शक्ति दुई केन्द्रमा विभाजित भयो– राजा र संसद । दुई शक्ति केन्द्रको स्थापनासँगै शक्ति संघर्षको शुरुआत पनि त्यहींबाट भयो ।

सन् १६०३ मा जेम्स स्टुअर्ट बेलायतको राजा बने र उनकै पालादेखि संसद र राजसंस्थाबीच भयानक शक्ति संघर्ष शुरू भयो । १६२५ मा राजा स्टुअर्टको निधनपछि उनका छोरा चाल्र्स प्रथमलाई राजा बनाइयो । चाल्र्स प्रथम निकै नै महत्त्वाकांक्षी राजा थिए । उनी राजाको दिव्य अधिकारमा विश्वास राख्दथे तर संसदले भने राजालाई त्यस्तो अधिकार दिएन ।

यसपछि बेलायतमा क्रिश्चियन धर्मका दुई हाँगा क्याथोलिक र प्रोटेस्टेन्टबीच पनि द्वन्द्व चर्किंदै गयो । बेलायतमा अधिकांश नागरिक प्रोटेस्टेन्ट थिए तर यूरोपका अधिकांश प्रभावशाली मुलुकहरू जस्तै फ्रान्स, इटली, जर्मनीमा भने क्याथोलिकहरूको बाहुल्य थियो ।

सन् १६२८ मा बेलायत–स्पेन युद्ध हुँदा राजा चार्ल्स प्रथमले संसदसँग सल्लाह नगरी कर बढाउने घोषणा गरे तर अनिकालका कारण जनता महँगो कर तिर्न सक्ने अवस्थामा थिएनन् । जब संसद र चाल्र्स प्रथमबीच द्वन्द्व बढ्दै थियो तब आयरल्याण्ड र स्कटल्यान्डमा क्याथोलिक र प्रोटेस्टेन्टबीच पनि द्वन्द्व चर्किंदै गयो । फलस्वरूप सन् १६३९ मा बेलायतमा गृहयुद्ध शुरू भयो । गृहयुद्धमा क्याभिलियर्स भनिने चाल्र्स प्रथमको सेना, संसदको सेना न्यू मोडेल आर्मीसँग पराजित भयो र उक्त पराजय पश्चात् सन् १६४९ मा चाल्र्स प्रथमको शिर काटिएको थियो ।

उक्त घटना पश्चात् न्यू मोडेल आर्मीका कमान्डर ओलिभर क्रम्बेलले सत्ता हत्याए र सन् १६५८ मा उनको निधन भयो । त्यसपछि सन् १६६० मा चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजा बनाइयो र बेलायतमा पुनः राजतन्त्र स्थापना भयो । १६८५ मा चाल्र्स द्वितीयको निधनपछि उनका भाइ जेम्स द्वितीयलाई राजा बनाइयो ।

प्रोटेस्टेन्टहरूको बाहुल्य रहेको बेलायतमा जेम्स द्वितीय क्याथोलिक राजा थिए तर उनको उत्तराधिकारी कोही नभएकाले र उनका दुवै छोरी म्यारी र एन् तथा उनीहरूका पति पनि प्रोटेस्टेन्ट भएकाले बेलायती जनताले जेम्स द्वितीयलाई राजाको रूपमा स्वीकार गरे तर जेम्स द्वितीयले भने सत्तामा आफ्नो पूर्ण अधिकार जमाउने कोशिश गरे । क्याथोलिजमलाई बेलायतको आधिकारिक धर्म बनाउने सम्मका माग राखे ।

बेलायतमा १६८८ मा ‘बिल अफ् राइट्स’ लागू भएसँगै सम्पूर्ण शक्ति संसदमा निहित भयो । राजालाई कुनै त्यस्तो विशेष अधिकार दिइएन र यहींबाट संसदीय सर्वोच्चताको शुरुआत भयो ।

बेलायतका जनताले उनको यो कुरा सहन सकेनन् । सन् १६८८ मा जेम्स द्वितीयकी दोस्री श्रीमती म्यारी बियट्रेक्सले एक छोरालाई जन्म दिइन् । छोराको जन्मपछि जेम्स द्वितीयले आफ्नो छोरा क्याथोलिक रहने घोषणा गरे । उत्तराधिकारी नभएकाले राजा क्याथोलिक नै भए पनि विद्रोह नगरेका बेलायती जनतालाई उनको उत्तराधिकारीको जन्मपछि भने अब बेलायतमा धेरै समय क्याथोलिकको शासन चल्ने भयो भन्ने कुराले त्रसित बनायो ।

त्यसपछि बेलायतको संसदले नेदरल्याण्ड्सका प्रोटेस्टेन्ट राजा विलियम अफ ओरेन्जलाई बेलायतमा आक्रमण गर्नका लागि आह्वान ग¥यो । विलियम अफ ओरेन्ज राजा जेम्स द्वितीयकी छोरी म्यारीका पति थिए । विलियम अफ ओरेन्जले बेलायतमा आक्रमण गर्ने कुरा थाहा पाउनेबित्तिकै सन् १६८८ मा बेलायतका राजा जेम्स द्वितीय भागेर फ्रान्स गए । त्यसपछि बेलायतमा विलियम अफ ओरेन्जको शासन शुरू भयो ।

विलियम अफ ओरेन्जलाई संसदले नाममात्रको राजा बन्नका लागि आग्रह गर्‍यो । संसदले महत्वपूर्ण अधिकारहरू (जसलाई ‘बिल अफ् राइट्स’ भनियो) आफूसँगै रहने सम्झौतामा हस्ताक्षर गर्न लगायो । विश्वमै पहिलोपटक राजाको विशेषाधिकार खोसेर संसदलाई प्रदान गरियो, जुन बेलायतको गौरवमय क्रान्तिपश्चात् सम्भव भयो ।

त्यतिबेला विलियम अफ ओरेन्जले हस्ताक्षर गरेको ‘बिल अफ् राइट्स’ भित्र आवधिक संसदको बैठक, स्वच्छ निर्वाचन, वाक्स्वतन्त्रता, प्रोटेस्टेन्ट राजा जस्ता कुरा उल्लेख गरिएको थियो ।

निचोडमा भन्नुपर्दा बेलायतमा १६८८ मा ‘बिल अफ् राइट्स’ लागू भएसँगै सम्पूर्ण शक्ति संसदमा निहित भयो । राजालाई कुनै त्यस्तो विशेष अधिकार दिइएन र यहींबाट संसदीय सर्वोच्चताको शुरुआत भयो । बेलायतको गौरवमय क्रान्ति नै विश्वभरिका मुलुकमा प्रजातन्त्र स्थापना र संसदीय सर्वोच्चताको कारण बन्न पुग्यो ।

अहिले संसदीय प्रजातान्त्रिक व्यवस्था भएका सबै मुलुकका संविधानमा जनतालाई ‘बिल अफ् राइट्स’को सुनिश्चितता गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment