Comments Add Comment
त्रासदी र रोगव्याधिको वर्षलाई बिदाइ :

नयाँ वर्षमा गरौं यी पाँच प्रतिबद्धता

चालु वर्ष सुखद् रहेन । खासगरी कोरोना महाव्याधिले मानव जातिलाई त्रस्त बनाइरह्यो । रोग–कष्ट,  औषधि–उपचार, मृत्युको कालो चक्रमा हामी फन्को लगाइरह्याैं। रोगको भयले हामीलाई मानसिक रुपमा नराम्ररी विथोलिरह्यो । सामाजिक जीवन अस्तव्यस्त बनाइदियो । कतिले रोजीरोटी गुमाए, कतिले आर्जन गुमाए, कतिले आफ्नै परिवार ।

यद्यपि त्यससँगै महाव्याधिको यो वर्षले हामीलाई केही अनमोल पाठ पनि सिकाएर गयो । स्वास्थ्य सचेतना र जागरुकता बढाइदियो । स्वास्थ्य क्षेत्रलाई गतिशील, चुस्त र रक्षात्मक बनाइदियो । प्राकृतिक खानपान र जीवनयापनका लागि प्रेरित गरिदियो । अर्को महत्वपूर्ण पक्ष, प्रकृतिसँग एकाकार भएर बाँच्नुपर्छ भन्ने बोध गराइदियो ।

कोरोनाको आतंक अझै सकिएको छैन । तर, जनजीविका सामान्य लयमा फर्किंदैछ । यससँगै नेपाली पात्रो फेरिंदैछ । घडीको काँटाले १२ बजेको संकेत गरेसँगै आज मंगलबारबाट चालु वर्षले बिदाइ लिंदैछ र नयाँ वर्षको पहिलो घाम उदाउँदैछ ।

पुरानो वर्षको पटाक्षेप र नयाँ वर्षको सुरुवातसँगै हामी नयाँ उत्साह, नयाँ उर्जा, नयाँ जोशका साथ नयाँ योजनाको खाका बनाउने गर्छौं । वितेका वर्षमा भएका गल्ती–कमजोरीको समीक्षा गर्दै आगामी वर्षलाई फलदायी बनाउने यत्न गर्छौं ।

साथसाथै केही त्यस्ता प्रतिबद्धता पनि गर्छौं, जसले आगामी दिनहरुलाई सही मेलोमा डोर्याउन संभव होस् । अतः यहाँ त्यस्ता केही प्रतिबद्धता उल्लेख गरिएको छ, जसलाई हामी अनुसरण गर्न सक्छौं ।

१. नितान्त आफ्नो खातिर हरेक दिन केही समय निकाल्नेछु, कम्तीमा आधा घण्टा वा एक घण्टा । सो समय काम, व्यापार, उद्यम, समाज, परिवार सबै भुलेर आफ्नै शरीरको भाषा सुन्नेछु । आफ्नै मनको कुरा सुन्नेछु । म को हुँ ? म के चाहन्छु ? मैले के गर्नुछ ? आफैंमाथि घोत्लिनेछु ।

२. आफ्नो समयमा आफूलाई मन लागेको कुरा गर्नेछु । नाच्ने, गाउने, पढ्ने, फिल्म हेर्ने । व्यायाम गर्नेछु, योग गर्नेछु, ध्यान गर्नेछु । आफ्नो शरीरलाई माया गर्नेछु ।

३. काम, व्यवसाय, उद्यम आफ्नो ठाउँमा छँदैछ । यसबाहेक मेरो सोख, रुचि वा रहरलाई पनि म महत्व दिनेछु । जीवन निर्वाहको लागि जे–जसो गरे पनि मेरो रुचि र सोखलाई म मर्न दिने छैन । जीवनलाई सधैं उत्साहित बनाइराख्नका लागि पनि मैले आफ्नो रुचि एवं सोखलाई पछ्याउनैपर्छ ।

४. शारीरिक स्वास्थ्यको ख्याल गर्नेछु, खानपानमा सतर्कता अपनाउनेछु, व्यक्तित्व विकासमा जोड दिनेछु, आफ्नो काममा रमाउनेछु ।

५. परिवार सुख नै सर्वोच्व सुख हो । म आफ्नो पारिवारिक जीवनबाट अलग हुनेछैन । आमाबुवा, भाइबहिनी, श्रीमान्-श्रीमती, छोराछोरी सबैसँग सुमधुर अनि रचनात्मक सम्बन्ध बनाइरहनेछु । काम–व्यवहारबाट फुर्सद निकालेर परिवारलाई समय दिनेछु । परिवारको संस्कारलाई भंग हुन दिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment