Comments Add Comment

अस्तव्यस्त वीरगञ्ज नाका : हेल्थ डेस्क छ, जनशक्ति छैन 

३१ चैत, वीरगञ्ज । ‘उता त कोरोनाको हल्ला छैन । आरामले घर गएर फर्केको छु । यहाँ स्वास्थ्य परीक्षण गर्ने भनेर लाइनमा बसाइदिए,’ भारतीय नागरिक अनिल कुमारले भने ।

उनी भारतबाट काठमाडौं जान आएका हुन् । बाँसबारीमा बस, ट्रक बनाउने काम गर्छन् । होलीमा घर गएका उनी मंगलबार फर्किए ।

काठमाडौंकी ओसियाना महर्जन, कोलकातामा बसेका आमा–बुवालाई भेटेर मंगलबार फर्किएकी छन् । १० वर्षदेखि भारतीय आयल निगमका जागिरे भुवनबहादुर आले पश्चिम बंगालमा बस्छन् । बुवाको श्राद्धका लागि मंगलबार उनी घर आएका छन् ।

मंगल दास कोलकाताबाट काठमाडौं जान आएका हुन् । सानैमा काठमाडौं आएका उनी २० वर्षदेखि सुनचाँदीको काम गर्छन् । साढे २ महिना घर बसेर फर्किएका हुन् ।

मंगलबार बिहान वीरगञ्जको शंकराचार्य गेट नजिकैको ‘हेल्थ डेस्क’ मा मानिसहरुको खचाखच भीड थियो । विभिन्न कामको सिलसिलामा भारत पुगेर फर्केका नेपाली हुन् वा  भारतबाट नेपालमा कामका लागि छिरेका भारतीय । उनीहरुले लाइन बस्दा भौतिक दूरी पालना गरेका थिएनन् । उनीहरुलाई हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणका लागि रोकिएको थियो । चाडबाट सकिएपछि घर गएका भारतीय नागरिक काममा फर्किन थालेका छन् ।

कोलकाताबाट वीरगञ्ज हुँदै काठमाडौं जान लागेका शेख असलम (३४) अचानक लाइनबाट बाहिरिए । हेल्थ डेस्कका स्वास्थ्यकर्मीले रक्सौलबाट आएकालाई लाइन बस्न नपर्ने भनेका रहेछन् । धमाधम उनीहरु निस्किएपछि उनी पनि सँगै जान लागेका थिए ।

तर नाकामा उपस्थित पत्रकारले सोधेपछि उनी रोकिए । चार जनाको टोलीसहित कोलकाताको मेदनापुरबाट आएका उनी टायल्सको काम गर्न काठमाडौं जाँदै थिए । कोरोना महामारी चलेको छ, जाँच गराएर मात्रै जानुपर्छ भनेपछि फर्किए । लाइनबाट त्यसरी बाहिरिएका मानिसलाई रोक्ने व्यक्ति पनि नाकामा कोही थिएनन् ।

बरु विट्टु कुमार र उनका तीन भाइले नाकामा मास्क बेच्ने नयाँ काम थालेका छन् । विगतमा ठेलामा तरकारी बेच्ने उनी अचेल मास्क बेच्छन् । रक्सौल लगायत आसपासका भारतीय गाउँ तथा शहरबाट आएका मानिसहरु मास्क नलगाइ आउँछन् । शंकराचार्य गेटभन्दा दक्षिणतिर बिट्टु र उनको टिमसँग मास्क किनेर लगाउँदै वीरगञ्ज प्रवेश गर्छन् ।

रक्सौल नाकामा दिनहुँ हजारौं सर्वसाधारण ओहोरदोहोर गर्छन् । उनीहरु को–कुन ठाउँबाट आएका हुन् ? त्यसको कतै कुनै रेकर्ड हुँदैन । हेल्थ डेस्कमा दैनिक ३ सय देखि ३५० जनाको स्वास्थ्य परीक्षण हुने गरेको छ । रक्सौल–वीरगञ्ज गर्नेहरु प्राथमिकतामा पर्दैनन् । अटोमै पुगेर स्वास्थ्यकर्मीले सोधी खोजी गर्ने, आधार कार्ड हेर्ने, थर्मल गनले तापक्रम नाप्ने गर्दै आएका थिए । मंगलबार व्यवस्थित बनाउन भनी सर्वसाधारणलाई लाइन लगाइएकोमा झनै अस्तव्यस्त देखिएको थियो ।

‘बच्चाको आमा, वृद्धवृद्धाहरुलाई छुट्टै लाइन गराएर प्राथमिकतामा राखेर सोधपुछ गर्न सकिन्थ्यो । स्वाब संकलन र परीक्षण गर्ने व्यक्ति पनि एकै जना मात्रै रहेछन्,’ उनले भनिन् ‘आवश्यक काम हो गर्नुपर्छ, तर अलि व्यवस्थित गर्न सकिन्थ्यो । व्यवस्थित नहुँदा अनावश्यक झन्झट बेहोर्नुपर्‍यो ।’

गर्मी बढेसँगै वीरगञ्जमा बिहानैदेखि चर्को घाम लाग्ने गरेको छ । चर्को घाममा लाइन बस्नुपर्दा सर्वसाधारण हैरान थिए । त्यसमाथि वीरगञ्ज–रक्सौल नाका हुँदै भित्रिने गाडीले उडाउने धुलो । वृद्धवृद्धा, महिला र बालबालिका समेत चर्को घाममा लाईनमा बस्न बाध्य भेटिए । उनीहरु हैरान थिए । स्वाब दिन र दिइसकेपछि रिपोर्ट आउने समयसम्म मानिसलाई कुनुपर्ने हुन्छ । त्यसका लागि न बस्ने ठाउँ छ, न कुर्सी छ । वेटिङका लागि बनाइएको टेन्ट पर्याप्त छैन ।

उडिसामा अध्ययनरत सम्रिता राना (३०)ले एक घण्टा लाइन लागेपछि बल्ल स्वास्थ्यकर्मीसँग भेट्न पाइन् । कोरोना भ्याक्सिनको दुवै डोज लगाइसकेकी उनले कार्ड नल्याएका कारण एन्टिजेन परीक्षण गर्नुपर्‍यो । पहिले स्क्रिनिङका प्रश्न गरेर मात्रै परीक्षणको दायरामा ल्याउँदा उचित हुने उनी बताउँछिन् ।

‘बच्चाको आमा, वृद्धवृद्धाहरुलाई छुट्टै लाइन गराएर प्राथमिकतामा राखेर सोधपुछ गर्न सकिन्थ्यो । स्वाब संकलन र परीक्षण गर्ने व्यक्ति पनि एकै जना मात्रै रहेछन्,’ उनले भनिन् ‘आवश्यक काम हो गर्नुपर्छ, तर अलि व्यवस्थित गर्न सकिन्थ्यो । व्यवस्थित नहुँदा अनावश्यक झन्झट बेहोर्नुपर्‍यो ।’

देवघाट झारखण्डका मोहित कुमार फर्निचर मिस्त्री हुन् । उनी पहिलोपटक काम गर्नका लागि वीरगञ्ज आएका छन् । ‘झारखण्डमा कोरोनाको खासै समस्या छैन । महाराष्ट्रको मुम्बई, पूणे नासिकमा समस्या हो,’ उनले भने, ‘हामीलाई पनि भीडभाडयुक्त लाइनमा राखेर उल्टै जोखिममा पारेका छन् ।’

कोलकाताबाट काठमाडौं जान आएका इलेक्ट्रिक इन्जिनियर तपोस हवल्दारले पनि नाकालाई थप व्यवस्थित गर्न सुझाए । ‘धेरै समयदेखि कुर्नुपरेको छ, घाम छ, धुलो छ, वेटिङ गर्ने ठाउँ छैन । टाढा पुग्नुपर्ने छ,’ उनले भने, ‘यसलाई राम्रो व्यवस्थित गर्न सकिन्छ होला नि ।’

भारतको विभिन्न प्रान्तमा संक्रमण बढेको छ । त्यहाँबाट आउने नागरिकले संक्रमण बोकेर ल्याउने जोखिम छ । तर यता सीमा नाकामा पर्याप्त सावधानी अपनाइएको छैन । भारतबाट आउनेहरुबाट कोरोना भाइरसको नयाँ प्रकार भित्रिने सम्भावना बढी रहेको चिकित्सकहरु बताउँछन् । हेल्थ डेस्कमा थर्मल गनले तापक्रम मात्रै नाप्दै आएकोमा चैत २३ गतेदेखि शंकास्पदलाई एन्टिजेन परीक्षण गर्न थालिएको छ ।

हालसम्म ३ सय १० जनामा एन्टिजेन परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको छ ।

इनर्वा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पूर्णप्रसाद दाहालले भौतिक दूरी कायम गरेर बस्न आग्रह गर्दा अटेरी गरेको बताउँछन् । ‘कराउँदा कराउँदा हैरान हुन्छ, भनेको पटक्कै मान्दैनन् ।  टेम्पो र अटोले झनै तनाव दिएको छ । लौरो नै १० वटा भाँच्चिसकेको छ । पेलान मात्रै छ, आवश्यक जनशक्तिको बन्दोबस्तीका लागि आश्वासन मात्रै पाएका छौं,’ उनले भने ।

नाकामा १७ जनाको टोली छ । दुई ठाउँमा नियमित चेकजाँचका लागि ६ जना प्रहरी परिचालन गर्नुपर्छ । सिफ्टमा काम लगाउनुपर्ने हुँदा सबैलाई एकैपटक खटाउन सकिँदैन । व्यवस्थित गर भन्ने गरेको तर आवश्यक सहयोग माथिल्लो निकायबाट नभएको उनी बताउँछन् ।

हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सैनुल्लाह अन्सारी एकैपटक धेरै मानिस आउने हुँदा कम जनशक्तिले व्यवस्थापन गर्न गाह्रो भइरहेको बताउँछन् ।

‘एकैचोटि धेरै मानिसहरु आउँछन्, म अगाडि जान्छु, परीक्षण गराउँछु भन्छन् । तैपनि महिला र वृद्धालाई हेरेर छिटो परीक्षणको व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘हेल्थ डेस्कमा ल्याबको प्राविधिक एकजना मात्रै हुनुहुन्छ, त्यसैले पनि परीक्षण गर्न समय लाग्छ । मानिसहरु रिपोर्ट नै नआई भागिदिँदा पनि रहेछन् । जनशक्ति अभावले व्यवस्थित गर्न सकेका छैनौं ।’

स्वास्थ्यकर्मी, पारामेडिक्स गरेर ८/९ जना, सुरक्षाकर्मी पनि थप ३/४ जना हुँदा व्यवस्थित गर्न सकिने उनको भनाइ छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मंगलबार नाकाको स्थलगत निरीक्षण समेत गरेका छन् । नाकाको हेल्थ डेस्कलाई प्रभावकारी बनाउन काम भइरहेको उनको दाबी छ ।

‘अभिलेख व्यवस्थापन र चेकजाँचलाई अझै व्यवस्थित गर्न दुईवटा टेन्ट थप गरेका छौं । अब्जर्भेसन गर्दा जनशक्ति कम पाएँ, सुरक्षाकर्मीको संख्या बढाएका छौं, थप स्वास्थ्यकर्मीका लागि महानगरपालिकासँग समन्वय भइसकेको छ, पठाइदिन्छु भनेका छन्,’ उनले भने, ‘अब व्यवस्थित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment