Comments Add Comment

कौसीमा बर्खाअघि नै तयार हुने तरकारी लगाउने सिजन सुरु

वैशाख सुरु भएकोसँगै कौसी खेती गर्नेहरूको लागि घरमै फलाउने विभिन्न जातका तरकारी लगाउने सिजन सुरु भएको छ। मनसुन सुरु हुन सामान्यतया डेढदेखि २ महिना बाँकी छ । कतिपय तरकारीको प्रकृति अनुसार मनसुन सुरु भएपछि तरकारी फस्टाउन नसक्ने भएकोले मनसुन सुरु हुनुभन्दा पहिले नै फलाउने तरकारीको समेत सिजन सुरु भएको कौसीखेतीका अभियान्ताहरू बताउँछन् । उनीहरूका अनुसार अहिले रोपेको तरकारीमध्ये केही असोज कात्तिकसम्म पनि फलिरहनेखालका हुन्छन् भने केही मनसुन अघिसम्मको लागि मात्रै फल दिने खालका हुन्छन् ।

कौसी खेती अभियानका अभियान्ता एवं अभियान एग्रोका सञ्चालक सुभाष पण्डित अबको एकदेखि डेढ महिनासम्म घरमा नै तरकारी उत्पादन गरेर खान सकिने बताउँछन् । केही तरकारीहरु बर्खा लागेपछि राम्रो उत्पादन नहुने भएकोले बर्खाअघि नै उत्पादन गरेर खान सकिने उनी बताउँछन् ।

पण्डितका अनुसार गोलभेँडा, साग, लसुन जस्ता तरकारीहरु रोप्ने सिजन सुरु भएको छ । चैत महिनामा बिउ रोपेर तयार पारेको बिरुवा अहिले सार्ने बेला भएको छ । अहिले सारेका यी तरकारीहरु जेठको सुरु वा मध्येसम्ममा तयार हुन्छन् । यसबाहेक पनि लौका, घिरौंला, करेला भेँडेखुर्सानी आदि वैशाखको पहिलो सातामा लगाउन सकिन्छ ।

अर्काेतर्फ एक सिजनको लागि मात्रै हो भने रायो चम्सुर जस्ता सागहरु पनि लगाउन सकिन्छ । यी सागहरु बर्खा सुरु भएपछि बढ्दैनन् । यद्यपि कौसीमै पनि टनेलको प्रयोग गरिएको छ भने चाहिँ बर्खा लागेपछि पनि यसलाई उत्पादन गर्न सकिने पण्डित बताउँछन् ।

उनका अनुसार घिरौंलाको बिरुवा अहिले सारियो भने जेठमा खान तयार हुन्छ । अहिले बल्ल बिउ रोप्ने हो भनेचाहिँ असारसम्म कुर्नुपर्छ । माघमा बीउ राखेर चैत वैशाखमा लगाएको खुर्सानी असारदेखि कात्तिक मङ्सिरसम्म फल्ने गर्छ ।

फागुन महिनाको अन्तिम वा चैतको पहिलो हप्तादेखि सहरी भेगमा घरको कौसीमै पनि अर्गानिक तरकारी लगाउने सिजन सुरु भएको हो । यो अहिलेसम्म चलिरहेको छ । बिहान बेलुकाको समयमा जाडो नसकिइसकेको फागुन चैतको मौसममा राखेको तरकारी तथा फलफूलको बिउ अहिले बिरुवा लगाउने अवस्थामा पुगेको छ । सिधै विरुवा किन्न चाहनेको लागि पनि बजारमा बिरूवा किन्न सक्ने सुविधा छ ।

कौसीखेती गर्ने क्रममा छतमा धेरै गह्रौं‌‌ वस्तु राख्न नचाहनेहरूलाई माटोको विकल्पमा कोकोटिक ९नरिवलको जटा०को प्रयोग पनि गर्न सकिन्छ । यो माटोको तुलनामा निकै हलुका हुने गर्छ । नरिवलको जटालाई कम्प्लेक्स गरेर एउटा इँटा जस्तो आकारको बनाइएको हुन्छ । तर यस्तोमा बेलाबेलामा कम्पोस्ट मल थपिराख्नुपर्छ । नियमित पानी माटोमा हुर्काउने बिरुवा होस् या कोकोटिकमा हुर्काउने होस् सबैमा उति नै मात्रामा राख्नुपर्छ ।

कौसीखेतीको लागि प्रयोग गरिने कोकोटिक
कोकोटिकमा तरकारी हुर्काउने हो भने त्यसको लागि एकभाग कोकोटिक राख्नुपर्छ र समय समयमा कम्पोस्ट थपिराख्नुपर्छ । बिरूवाअनुसार १५ देखि २० दिनसम्मा कम्पोस्ट थपिरहनुपर्छ । कोकोटिकमा फलाउने बिरूवाको जरा धेरैतिर फैलिएको हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment