Comments Add Comment

विराट गोल्डकपको फाइनलमा एपीएफ र पञ्जाव भिड्ने

३ बैशाख, विराटनगर । छैटौं संस्करणको विराट विराट गोल्डकपको उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब भिड्ने भएका छन् । विराटनगरको सहीद रंगशालामा जारी रात्रिकालीन प्रतियोगिताको उपाधिका लाथि एपिएफ र पञ्जाब पुलिस भिड्न लागेका हुन् ।

गोल्डकप आयोजक समितिले शुक्रबार विराटनगरमा ‘प्री–म्याच कन्फरेन्स’ गर्दै फाइनल प्रतिस्पर्धा शनिबारसाँझ ६ बजेबाट सुरु हुने बताएको छ ।

एपीएफले उपाधि नजिक पुग्ने क्रममा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र घरेलु टिम विराटनगर महानगरपालिका-११ लाई हराएको थियो । पञ्जाव भने गोर्खा ब्वाइज रुपन्देही, मच्छिन्द्र क्लब काठमाडौं र आहा–रारा गोल्डकप विजेता संकटालाई हराएको थियो ।

एपीएफका कप्तान सुदीप शिख्राकारले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गर्ने बताए । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले अनुभवि खेलाडी टीममा रहेकाले उपाधि जित्ने बताए ।

पञ्‍जाबका प्रशिक्षक हरनेक सिंहले नेपालकै प्रतिष्ठित गोल्डकपको उपाधि उचाल्न आफ्नो टिम आतूर रहेको बताए । दुवै टिमले उपाधि रक्षा गर्ने बताइरहदा दुवै टीमका महत्वपूर्ण खेलाडी मैदान बाहिर रहनेछन् ।

एपीएफको फाइनल यात्राका लागि महत्वपूर्ण भूमिका खेलेका ‘लेफ्ट डिफेन्स’ मानबहादुर राना दोहोरो पहेलो कार्डका कारण पञ्जाबसँगको खेलमा मैदानमा देखिने छैनन् । उनको स्थानमा सन्तोष कटुवाल मैदान उत्रनेछन् ।

पञ्‍जाबका डिफेन्डर सर्वजीत सिंह र कप्तान जगदीप सिंह पनि मैदानमा देखिने छैनन् । गोली गाँठोमा लागेको चोटका कारण खेल्न नसक्दा सर्वजीत मैदान बाहिरै रहने छन् । सेमिफाइनल खेलमा रातो कार्ड पाएका जगदीप फाइलन खेल्ने छैनन् । पञ्जाव हरजिन्दर सिंहको कप्तानीमा मैदान उत्रिनेछ ।

आयोजक समितिका संयोजक मनोजविक्रम शाहका अनुसार विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ । उप-विजेताले सात लाख ५१ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापकसमेतलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment