Comments Add Comment
पुस्तक समीक्षा :

‘उठ तिलोत्तमा’ मा संस्कृति र यौनका विविध परिभाषा

संस्कृतिका अध्येता तथा साहित्यकार शशि थापा पण्डितद्वारा लिखित कथासंग्रह ‘उठ तिलोत्तमा’ भर्खरै बजारमा आएको छ । यसमा १५ वटा कथा संग्रहित छन् । कथाकारले आफ्ना कथामा हिन्दू मिथक र संस्कृतिका विविध मूल्यमान्यताका आधारमा नयाँ अवधारणा पस्केकी छन् । कथाका पात्रहरू भने आधुनिक समाजभित्रबाटै छानिएका छन् ।

कथाहरू पढ्दा लाग्छ– यसरी पनि त कथाहरू लेख्न सकिंदोरहेछ । साँच्चि नै नेपाली साहित्यजगतमा लेखकीय नयाँ अवधारणा पस्कन सफल भएकी छन् भन्ने दाबी गर्न सकिन्छ ।

प्रत्येक कथा छुट्टाछुट्टै विषयवस्तुमा रहेर चित्रण गरिएका छन् । कथा पढिरहँदा हामीले नदेखेका ठाउँहरू दुरुस्तै अनुभूति गराउन सक्ने कथाकारको चित्रण कला गज्जबको लाग्छ । आज हामी पश्चिमाहरूलाई ज्ञान, समृद्धि र आधुनिकीकरणको भण्डार भन्छौं तर प्राचीन संस्कृति, मूल्यमान्यताभित्र कति धेरै आधुनिकपन रहेछ, नेपालका विविध संस्कृतिभित्र आज पश्चिमाले अपनाएको आधुनिक र उत्तर–आधुनिक कुराहरू हाम्रा विभिन्न जाति, जनजातिभित्र हजारौं वर्ष अघिदेखि नै संस्कृतिको नाममा प्रयोगमा आइरहेको कुरा यी कथा पढिरहँदा थाहा पाउन सकिन्छ ।

कथासंग्रहमा समेटिएका सबै कथाले समाजलाई कुनै न कुनै सन्देश दिइरहेको आभास हुन्छ । कथाकारले समाजमा रहेका यावत् नराम्रा र विकृत पक्षलाई पात्रमार्फत भन्न लगाएर लेखकीय चतुर्‍याइँ देखाएकी छिन् । मिथक, धर्म र संस्कृतिको आधारलाई उप्काएर उनले आफ्ना मान्यताहरूलाई दह्रो बनाएकी छिन् ।

नेपालका विविध संस्कृतिभित्र आज पश्चिमाले अपनाएको आधुनिक र उत्तर–आधुनिक कुराहरू हाम्रा विभिन्न जाति, जनजातिभित्र हजारौं वर्ष अघिदेखि नै संस्कृतिको नाममा प्रयोगमा आइरहेको कुरा यी कथा पढिरहँदा थाहा पाउन सकिन्छ ।

कथामा विविधता यस संग्रहको बलियो पक्ष हो । कथाहरू पढिरहँदा हाम्रा वैदिककाल, महाभारतकाल, रामायणकालदेखि बुद्धकालीन समाजका बारेमा बुझ्न त सजिलो पारिदिन्छ नै अझ त्यही समाजभित्रकै एक पात्र म पनि हुँ कि झैं आभास दिलाउन सक्नु कथाकारको सफलता हो भन्न सकिन्छ । कथाहरूमा विभिन्न जातजातिका संस्कृतिदेखि हिमाल, पहाड, तराई र उपत्यकाको समाज र सांस्कृतिक विविधता समेट्न सक्नु कथाकारको सबल पक्ष हो ।

संग्रहित कथाहरूमध्ये ‘लिमीको त्यो रात’मा हिमाली भेगको सजीव चित्रण छ । हिमाली भेग अझ भनौं तिब्बतसँग सिमाना जोडिएको नेपालका माथिल्लो भेगका जनजातिहरूले बाँच्नका लागि गर्नुपर्ने संघर्ष, छोरीलाई विवाह गर्नका लागि बाबुले केटो खोज्दा पाएको पीडा, जवानीमा विवाह गर्न नपाएर यौनको तिर्खाले छट्पटिंदाको युवतीको अवस्थाको सजीव चित्रण यस कथामा गरिएको छ । जुन कथा यहाँको जनजीवनसँग निकै नजिक छ । लिमीको त्यो रातमा पुरुष यौन मनोविज्ञानलाई सूक्ष्म र यथार्थपरक ढंगले पस्कन कथाकार सफल भएको मान्न सकिन्छ । कथामा प्रयोग भएको आञ्चलिक भाषाले पनि कथालाई रोमाञ्चक बनाएको छ ।

‘दस्तखत’ कथामा धनी घरबाट विवाहको लागि कुरा आएपछि ‘केटाको चरित्र कस्तो छ ?’ भनेर समेत नबुझी आँखा चिम्लेर छोरी विवाह गरिदिन लालायित हुने नेपाली आमाबाबुको दुरुस्त चित्रण गरिएको छ । यो कथामा भौतिकवादतर्फ ढल्किंदै गरेको समाजप्रति व्यङ्ग्य गरिएको पाइन्छ । तर आजको युगमा छोरीहरूले पहिलेजस्तो ‘भाग्य यस्तै रहेछ’ भनेर स्वीकार नगर्ने विद्रोह र थोरै यौनका कुराले कथालाई रोमाञ्चक बनाएको छ ।‘माटो पलायन’ तराईको परिवेश बोकेको कथा हो । जुन कथा खुला सीमाका कारण नेपालीले भोग्नु परेको दुःख, सीमा मिचिएको पीडाका साथै बृहत् नेपालको परिकल्पनामा टुंगिएको छ । सीमा मिचिंदा पनि मौन रहने सरकारको निरीहता कथामा प्रकट भएको छ ।

‘बूढी बेहुली’ कथाले नेपाली समाजमा हजारौं वर्ष पहिलेदेखि रहेको लगभग ‘लिभिङ टुगेदर’ प्रथाजस्तो विषयको उठान गरेको छ । यो प्रथामा आधुनिक लिभिङ टुगेदरभन्दा धेरै परिष्कृत र वैज्ञानिक पक्ष समेटिएको कुरा यस कथामार्फत बोलिएको छ ।

‘उठ तिलोत्तमा’ शीर्षक कथा नै हो । यो कथा मिथकीय र पौराणिक सन्दर्भहरूका आधारमा आधुनिक तिलोत्तमालाई खडा गरेर तयार पारिएको छ । कथाले महिलाको यौन स्वतन्त्रता, यौन अधिकार, यौनको आधारमा महिलाको पवित्रता र अपवित्रता माथिको बहस र मातृत्व अधिकारको कुरालाई नै मुख्य विषयवस्तु बनाइएको छ ।

‘मृत्यु–आभास’ कथा द्वन्द्वकालमा पुलिस, आर्मी र उनका परिवारले भोगेका भयानक भोगाइमा आधारित छ । त्यसबेला एउटा सुरक्षाकर्मीको मनोवैज्ञानिक त्रास र मनोदशालाई मिहिन रूपले चित्रण गर्ने शायद कथा अब्बल छ । भोग्नेहरूले यस कथाले कति न्याय गर्न सक्यो भन्ने अझ सपाट रूपमा भन्न सक्लान् ।

‘मुक्ति’ कथा काठमाडौं उपत्यकाका नेवार समुदायमा रहेको तन्त्रपरम्परा र यहाँको जनजीवनमा आधारित छ । कथामा शिव–पार्वतीको संवादको आधारमा रोमाञ्चक शैलीमा कथ्य बुनिएको छ । ‘पासो’ कथामा नारी विद्रोहका कुरा उठाएर चलिरहेको परम्परागत मान्यता माथि नै प्रहार गरिएको छ ।

सांस्कृतिक अध्ययनको सिलसिलामा कथाकारले आफू पुगेको स्थान र भेटेको समाजको भरपूर लेखकीय फाइदा उठाएकी छिन् भन्ने कुरा ‘जोगिराम भरुवा’ कथाबाट पनि थाहा पाउन सकिन्छ । यस कथामा थारू समुदायमा बुहारीको पुनर्विवाहका लागि स्वयं सासू–ससुराले दुलाहा खोजिदिने कुराको उद्घाटन गरिएको छ ।

कथाहरू स्वैरकल्पनाको आधारमा मात्र नभएर सम्बन्धित विषय, परिवेश र पात्रहरूको अध्ययन अनुसन्धान गरेर लेखिएका छन् । नेपाली संस्कृतिका विविध पाटालाई कथाका रूपमा उतार्नु कथाकारको मौलिक प्रयोग र प्रयास हो ।

‘आजको मुनामदन’ कथामा वैदेशिक रोजगारीमा गएका महिलाले भोग्नु परेको चरम यातनाका कुरा उठान गरिएको छ । ‘के आउला त्यो दिन’ कथामा नारीले पनि पुरुष जसरी नै स्वतन्त्रता भोग्न पाउँ भन्ने अपील छ । ‘प्रश्नको पहाड’ कथामा पुरुषको प्रेम र नारीप्रतिको उसले बनाएको यौनको दृष्टिकोणलाई उजागर गरिएको छ ।

पौराणिक प्रसंगदेखि मिथकलाई आधार बनाएर कथा लेखेकी कथाकार शशिले पछिल्लो कोरोना महामारीको अवस्थालाई पनि समेटेकी छिन् । ‘कोरोनाको रेमिट्यान्स’ कथामा गरीबी, वैदेशिक रोजगारी र त्यसले निम्त्याएको सामाजिक विचलनको अवस्थाबारे  बोलेकी छन् ।

कथाहरू स्वैरकल्पनाको आधारमा मात्र नभएर सम्बन्धित विषय, परिवेश र पात्रहरूको अध्ययन अनुसन्धान गरेर लेखिएका छन् । नेपाली संस्कृतिका विविध पाटालाई कथाका रूपमा उतार्नु कथाकारको मौलिक प्रयोग र प्रयास हो भन्न सकिन्छ ।‘आखिर ऊ पनि त मानिस’ कथामा अर्बपति र रछ्यानमा फ्याँकेको जुठो खाने मानिसबीचको खाडललाई खोतलेकी छिन् । कथा ‘म रोहिणी लेख्दैछु बुद्धको कथा’ मा बुद्ध कसरी बुद्ध बन्न विवश पारिए भन्ने कुरालाई प्रष्ट्याउन खोजिएको छ ।

मिथकको प्रयोग हरेक क्षेत्रमा हुँदै आएको छ । यस कथा कृतिमा पनि मिथकको प्रयोग कतिपय अवस्थामा भएकोे छ । कथाकार स्वयं पनि संस्कृति अध्येता हुन्, त्यसैले पनि कथाहरूमा त्यसको प्रभाव भेटिन्छ ।

कथाकारले यदि हामीले हाम्रो धर्म, संस्कृति र मूल्यमान्यतामा रहेर कुनै पनि काम गरेका छौं भने त्यहाँ कुनै कुरीति छैन भन्ने सन्देश पनि दिन खोजेको देखिन्छ । किताब पढिरहँदा आनन्दानुभूति हुन्छ । तर वैदिककाल, महाभारतकाल, रामायणकालदेखि बुद्धकालीन अध्ययन नभएका पाठकका लागि भने क्लिष्ट पनि लाग्न सक्ने सम्भावना छ ।

कथा संग्रहमा कतै कतै सर्वनाममा भने तल–माथि भएको पाइन्छ । यी साना त्रुटिहरूलाई ओझेलमा राखेर हेर्ने हो भने लेखकले कथाहरूलाई उत्कृष्ट बनाउन धेरै मिहिनेत गरेको देखिन्छ । कथा संग्रह यूरेका प्रकाशनले प्रकाशन गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment