Comments Add Comment

जितपछि नेदरल्याण्डसका कप्तानले भने : शतक हेर्न मज्जा आयो

५ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमै घरेलु टोली नेपालसंग ९ विकेटले पराजित भएपछि नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले नेपालले डच टोलीलाई क्रिकेटको पाठ पढाएको प्रतिक्रिया दिएका थिए ।

पहिलो पटक नेपालमा खेलेको डच टोलीले घरेलु मैदान र दर्शकको साथ पाएको नेपाली टोलीसँग खेल्दा सोचेअनुरुप प्रदर्शन गर्न सकेन । पहिलो पटक सिरिज खेलेका दुई खेलाडी कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गर्दै कीर्तिमानी साझेदारी गरेपछि नेपालको जित एकपक्षीय जस्तै रहेको थियो ।

त्यही खेलबाट सायद नेदरल्याण्ड्सले पाठ सिकेको हुनुपर्छ । भोलिपल्ट नेदरल्याण्ड्सले त्यही मैदानमा मलेसियालाई १५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पार्‍यो ।

ओपनर म्याक्स ओ’डोडले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै १९१ रन बनाएको थियो । जवाफमा विरनदिप सिंहले ८७ रन बनाएपनि मलेसियाले ८ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो ।

सिरिजमा पहिलो जित हात पारेपछि नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले खेल प्रतिस्पर्धात्मक भएको बताए । साथै उनले जितले राहत भएको समेत सुनाए । ‘कडा प्रतिस्पर्धा भयो टी-२० क्रिकेट नै यस्तै हो । राहत भएको छ’ उनले भने ।

सिलारले ओ’डोडले पछिल्लो वर्षहरुमा राम्रो प्रदर्शन गरेको भन्दै शतक हेर्न मज्जा लागेको बताए । ‘उनले ७० प्रतिशत रन बनाए । उनीले पछिल्लो ३ वर्ष राम्रो गरिरहेका छन् । उनले प्रहार गरेको रन हेर्न अम्याजिङ रह्यो’ सिलारले भने ।

यस्तै १३३ रन बनाउदै नेदरल्याण्ड्सका लागि टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका ओडोडले खुशी व्यक्त गरे । ‘डच टिमको लागि टी-२० शतक प्रहार गर्ने पहिलो खेलाडी बनेको छु । खुशी छ । आज पिच र आउटफिल्ड राम्रो थियो’ उनले भने ।

मलेसियाका कप्तान अहमज फैजले विरनदिपले राम्रो खेलेको तर फिनिस गर्न नसकेको बताए । ‘विरदिपले राम्रो प्रयास गरे तर हामीले फिनिस गर्न सकेनौँ’ उनले भने ।

फैजले नेदरल्याण्ड्सलाई अलि अगाडि रोक्न नसक्दा पनि घाटा लागेको बताए । ‘उनीहरुलाई अली अगाडि रोक्न पनि सकेनौँ । हामीले १९१ रन दियौँ । विरनदिपले राम्रो खेले तर फिनिस गर्न पाएनन् । उनले राम्रो ब्याटिङ गरे ।’

अब मलेसियाले सोमबार घरेलु टोली नेपालसंग खेल्दैछ । त्यसमा राम्रो खेल्ने उनले बताए । ‘आज राम्रो भयो तर हाम्रो दिन थिएन आशा छ भोलि हाम्रो दिन हुनेछ’ उनले भने ।
नेपाल र मलेसियाबीच खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment